आत्मविकासमा गुरु भूमिका
सब धरती कागज करूँ, लेखन बन राय
सात समुद्र कि मसी करूँ, गुरु गुण लिखा ना जाय !
–सन्त कविर
गुरु अर्थात् अन्धकाररूपी अज्ञानताबाट प्रकाश स्वरूप दिव्यतामा मार्गनिर्देशन गर्ने उच्च चेतनामा स्थापित व्यक्तित्व। शिक्षक सबै बन्न सक्छन् तर गुरु चाहेर बन्न सकिन्न। साधनबाट निखारिएर आफ्नो अनुभूतिमा उत्रेको गुणवत्ता गुरुको पहिचान हो। गुरुले सामान्य जीवनलाई रूपान्तरण गरेर आहा ! जीवनमा बाँच्न प्रेरित गर्छन्। त्यसैले त सारा धरती नै कागज अनि सात समुद्रलाई मसीका रूपमा प्रयोग गरे पनि गुरुको वर्णन गर्न असमर्थ बनिन्छ।
भ्रमबाट मुक्त गराउने गुरु
वास्तवमा हामी यो संसारमा एउटा भ्रम बोकेर बाँचिरहेका हुन्छौं। त्यो भ्रम हो– बाहिरी ज्ञान, डिग्री, सम्मान र सफलता। यी सबै प्राप्त गरे पनि मानिसका अनुहारमा प्रसन्नता भने भेटिँदैन। कारण हो– योभन्दा पर पनि केही पाउने चाहना हुन्छ। त्यो चाहना हो– भित्रको आनन्द र शान्ति। भित्री ज्ञान अनि जो अस्थिर नभई शान्त, स्निग्ध र अमृतरससरह जीवनलाई एउटा मधुरतामा लैजाओस्। जसरी दिनभर घरबाहिर काम गरेपछि साँझ आफ्नो घर फर्केर वि श्राम लिन र आनन्दको क्षण बिताउने इच्छा हुन्छ, त्यसैगरी जीवनभर बाहिर संघर्ष गर्ने व्यक्तिले जीवनको उत्तराद्र्घमा सांसारिक सफलता मात्रै होइन, भित्रको चैन खोजेको पाइन्छ। त्यो भित्री सम्पदा र बाहिरको सफलतालाई भ्रममा नलिने कला सद्गुरुले मात्र दिन सक्छन्। किनकि उनीहरू यसमा अनुभूत भइसकेका हुन्छन्।
गुरु नानक गुरु महिमा गाउँदै भन्नुहुन्छ– दुनियाँमा कोही पनि व्यक्ति भ्रममा रहनु हँुदैन तर विनागुरु कोही पनि भ्रमबाट मुक्त हुन सक्दैन। ओशो यस भ्रमलाई चिर्न जोर बा दी बुद्धको कला बताउनुहुन्छ। बाहिर सफल र भित्र तनावमुक्त जीवन जिउने कला अपनाएर आफ्नो सफलता, भोगको आनन्द र भित्रको बुद्ध चेतनाको अनुभूति लिन सुझाउनुहुन्छ। ओशो सिद्धार्थ यसलाई आत्मविकासको संज्ञा दिनुहुन्छ। सांसारिक विकासको भ्रममा मात्र नपरी आन्तरिक विकासको अनुभूति गर्ने गुणवत्ता मानिसमा भएकाले बाहिर र भित्र दुवै तहबाट शान्ति र सफलताको जीवन बाँच्ने सूत्रहरू बताउनुहुन्छ। बाहिरी देखावटी खुसीको भ्रममा मात्र नरही परम खुसी प्राप्त गर्ने कला बताउनुहुन्छ।
गुरु–शिष्यको भावनात्मक सम्बन्ध
मानव सभ्यताको कुन समयदेखि मानव विकासका लागि गुरु वा गुरुकुलको भूमिका अर्थात् शिक्षक र विद्यार्थीको अवधारणा सुरु भयो त्यो भन्न कठिन छ तर यसमा शंका छैन कि मानव विकासमा गुरुकुल र गुरुको भूमिका महत्वपूर्ण छ। त्यसैले यसको परिकल्पना भयो। मानवको शिशु अवस्थादेखि लिएर वृद्घवस्थासम्म पनि वस्तुगत ज्ञान एवं विषयगत ज्ञानका लागि पलपलमा गुरुको आवश्यकता रहन्छ। कखराका वर्णमालाबाट सुरु हुने हाम्रो शिक्षा भूगोल, इतिहास, गणित, समाजशास्त्र जुनसुकै विषयको ज्ञान गुरु अर्थात् शिक्षकबाट प्राप्त हुन्छ। उच्च तहको अध्ययनसम्म पनि शिक्षकको महत्वपूर्ण भूमिका रहने गर्छ।
गुरु र शिक्षकको फरक बुझेपछि मानव सभ्यतामा शिक्षक–विद्यार्थी या गुरु र शिष्यको महत्वपूर्ण सम्बन्ध बन्दै आएको तथ्य स्विकार्न सकिन्छ। ९९ प्रतिशत मानिसलाई जीवन र संसारको सिकाइमा शिक्षकको आवश्यकता रहन्छ र रह्यो। आत्मज्ञानका लागि गुरुको आवश्यकता रह्यो त्यसैको परिणाम हो– विश्वभरमा शिक्षाको भौतिक प्रगति हुँदै जाँदा अध्यात्म ज्ञानको चाख पनि बढ्दै गएको छ। शिक्षक–विद्यार्थी पहिलो स्तरको सम्बन्ध हुन आउँछ।
समय र परिस्थितिले जस्तो मार्ग लिए पनि आत्मविकासको माध्यमबाट जीवनलाई सत्मार्गमा प्रेरित गर्ने भौतिक शिक्षा र आध्यात्मिक शिक्षाका लागि गुरुको सही मार्गनिर्देशन जरुरी हुने रहेछ।
गुरु नै एउटा त्यस्तो व्यक्ति हो, जसले अज्ञानताबाट ज्ञान अर्थात् जानकारीतिर लग्न महत्वपूर्ण भूमिका निर्वाह गर्छ। आध्यात्मिक परिभाषा हेर्ने हो भने त गुरु शब्द अझै अपूर्ण हुन्छ। अध्यात्ममा गुरु अर्थात् गु– गुण, रू– रूप, ‘अन्धकारबाट उज्यालोतर्फ मार्गदर्शन गर्ने व्यक्तित्व’ भनेर व्याख्या गरिएको छ, जसको अर्थ गहन छ। गुरु शब्दले नै मानव विकासमा गुरुको आवश्यकता र महत्वलाई भावनात्मक र मनोवैज्ञानिक अर्थबाट धेरै नजिकको सम्बन्ध प्रस्तुत गर्छ।
सम्यक मार्ग देखाउने गुरु
पछिल्लो समय मैले नै भनेको सही, मेरै मार्ग ठीक भन्ने गुरु परम्परा र सम्प्रदाय थुप्रै देख्न पाइन्छ। त्यसैले सम्यकताको मार्गप्रशस्त गर्ने भगवान् बुद्धजस्तो गुरु वाणीलाई आत्मसात गर्न सकियो भने जीवनमा धेरै सिकाइ र प्रेरणा मिल्छ। भगवान् बुद्धले गुरुको स्थानमा बसेर व्यक्त गर्नुभएको छ– गुरु त्यो हो, जसले तिम्रो अन्धकार र असत्य मार्गको बोध गराई सत्मार्गमा लैजाने काम गर्छ। सत्मार्गमा जाने सम्यक बाटो भेट्यौं भने तिमी आफैं आफ्नो गुरु बन्न सक्छौ। तिम्रो भित्रको बुद्घ प्रवृत्ति थाहा पाउन सक्यौ भने तिमी आफैं गुरु हौ। सत्य तिम्रो नितान्त निजी स्वभाव हो, तिम्रो असली गुण हो। गुरुले दीक्षा दिएर तिमीलाई सत्मार्ग देखाउने मात्र हो। त्यो मार्गमा हिँड्ने जिम्मेवारी तिम्रो हो। म सही या गलत बाटोमा छु भन्ने थाहा नपाएका व्यक्तिलाई सत्य, अहिंसा र करुणाको मार्गमा डो¥याउने काम मेरो हो।
बुद्ध आफूलाई गुरुभन्दा पनि मैत्रैय ‘मित्र’ भन्न रुचाउनुहुन्थ्यो। गुरुसँग शरणको कुरा आउँछ। मित्र कल्याण मित्र हुन्छ र मित्रसँगको सम्बन्ध समानताको सम्बन्ध हुन्छ। यसबाट प्राप्त हुने ज्ञान र सत्संगविना सर्तको, विनातहको र प्रेमपूर्ण हुन्छ भनेर व्याख्या गर्नुभएको छ बुद्धले।
पोथी पढीपढी जग मुआ पण्डित भया ना कोय
ढाई आखर प्रेमका पढे सो प.िडत होय !
सन्त कविरको दोहाले इशारा गर्छ कि समाजमा पण्डित्याईं गर्ने र अतिवादको सिद्धान्तमा डो¥याउने गुरुहरूसँग सचेत भएर प्रेमपूर्ण मध्यमार्गबाट यात्रा गर्न सिकाउने गुरुको पहिचान गर। आज समाजमा थोरै प्रवचन दिन जान्ने व्यक्तिहरू आफैंलाई गुरु घोषित गर्न पटक्कै अप्ठेरो मान्दैनन्। यसले गर्दा गुरु कस्तो हुनुपर्छ र सद्गुरुले कसरी मार्गप्रशस्त गर्छन्, त्यो जान्न सचेत गराउँछ।
नैतिक ज्ञानका लागि गुरु
गुरुविन ज्ञान ना उपजे, गुरुविन मिले ना मोक्ष,
गुरुविन लाखे ना सत्य को, गुरुविन मिटे ना दोष !
सन्त कविरकै दोहा सापट लिएर भन्नुपर्दा ज्ञान पनि दिँदै, दोष मेटाउँदै, सत्यको मार्ग देखाउँदै, मोक्षसम्म पु¥याउने गुणवत्ता र ऊर्जा गुरुमा मात्र हुन्छ। तर यो मार्गमा हिँड्न गुरुकहाँ खाली भएर, बच्चाजस्तो अबोध, प्रेमपूर्ण भएर मात्र प्रस्तुत हुन सक्नुपर्छ। बाहिरी ज्ञान र प्रयोगले भरिएको पात्र लिएर कोही गुरुकहाँ जान्छ भने उसले केही प्राप्त गर्न सक्दैन किनकि पात्र पहिल्यै भरिएको छ। अब गुरुको नैतिक ज्ञानले उसलाई छुनेवाला छैन। बुद्ध, कृष्ण, श्रीराम, ओशो, खप्तडबाबा, नानक, मोहम्मद, रामकृष्ण परमहंसजस्ता कैयन् सन्त पुरुषका उदाहरण हेरौं, उनीहरूका जीवनी पढौं र मनन गरौं नैतिकता कसरी उजागर हुन्थ्यो उनीहरूका जीवनमा, व्यवहारमा, वाणीमा अनि सन्देशमा। बोधगम्य, सहजता, सरलता, बहुजन सुखाय, बहुजन हितायको मर्म र त्यसअनुसारका कर्म अनि जीवनशैली आजका शिक्षकले आफ्ना विद्यार्थीलाई दिन सके जीवनमा कति रूपान्तरण आउने थियो होला ?
हाम्रा सन्तहरूको मत र मार्गदर्शनको मात्र अनुशरण गर्न सके पनि हामी असली गुरु र शिक्षक भएर हाम्रा कलिला बालबालिकाको भविष्यलाई सही मार्गमा लग्न सक्छौं। किताबी ज्ञानले मात्र आँखा खुल्दैन। त्यसैले पाठ्यक्रममा मात्र आधारित नभई नैतिक शिक्षाका कुरा, मनोवैज्ञानिक, आध्यात्मिक गुरुहरूका मार्गदर्शनजस्ता रोचक विषय प्रस्तुत गरी फरक ढंगले केटाकेटीका मन जित्नु शिक्षा क्षेत्रमा पनि आजको आवश्यकता हो। जति सिक्छन् साना नानीले त्यो सकारात्मक कुरा मात्र सिकून्, प्रसन्न भएर सिकून् अनि उनीहरूमा छिपेको खुबी आफैं प्रस्तुत गर्न नडराऊन्। त्यो हो– आजको शिक्षा। कोरोना कहरको प्रभावमा, परीक्षामा सामेल गराउन नसक्ने अवस्थामा सबैलाई बोध भएको विषय हो– शिक्षा व्यावहारिक र नैतिकतामा आधारित हुनुपर्छ। समय र परिस्थितिले जस्तो मार्ग लिए पनि आत्मविकासको माध्यमबाट जीवनलाई सत्मार्गमा प्रेरित गर्ने भौतिक शिक्षा र आध्यात्मिक शिक्षाका लागि गुरुको सही मार्गनिर्देशन जरुरी हुने रहेछ।