बैतडीमा बाढीले १२ कल्भर्ट बगायो, १५ घर पहिरोको उच्च जोखिममा
बैतडी : वर्षा सुरु भएसँगै बैतडीका विभिन्न स्थानमा बाढी पहिरोले समस्या निम्त्याएको छ । जिल्लाको डिलाशैनी गाउँपालिका १ का विभिन्न स्थानमा गण्न्नी गाड खोलाले १२ कल्भर्ट बगाएको गाउँपालिकाका विपद् व्यवस्थापन सम्पर्क व्यक्ति पुरुषोत्तम नाथ योगीले बताए ।
शनिबार राती र शुक्रबार राती भएको वर्षाले खोलामा आएको बाढीले क्षति पुर्याएको उनले बताए । उनले खोलामा आएको बाढीले गाउँमा जाने कल्भर्ट बगाएको जानकारी दिए। वडा नं १ को बडम, सेल्तडा, रामला, डुडेपानी लगायतका क्षेत्रमा पहिरो समेत गएको विपद् व्यवस्थापन सम्पर्क व्यक्ति योगीले बताए । उनका अनुसार वडा नं १ मा साना साना पहिरो खसेका छन् ।पहिरोका कारण १५ घर उच्च जोखिममा परेका छन्।
पहिरोले गाउँमा खानेपानी धारा बगाएको छ भने बस्ती पनि जोखिममा परेका स्थानीय मानसिंह रानाले बताए ।बाढीले खोलाले किनारका खेतीहरु बगाएको उनले बताए। वडा नं १ मा मात्रै ५० लाख बढीको क्षति भएको डिलाशैनी गाउँपालिकाले जनाएको छ । अहिले पनि क्षतिको विवरण संकलन गर्ने कार्य भइरहेको गाउँपालिकाका विपद् व्यवस्थापन सम्पर्क व्यक्ति योगीले बताए ।