फेवाताल पुरिने क्रम तीव्र : ८ वर्षअघि ताल अहिले धान खेत (तस्बिर)

फेवाताल पुरिने क्रम तीव्र : ८ वर्षअघि ताल अहिले धान खेत (तस्बिर)

पोखराः पोखराको प्रमुख आकर्षण रहेको फेवाताल तीव्र गतिमा पुरिंदै गएको छ। ८ वर्षअघि ताल रहेको करिव २ सय रोपनी क्षेत्रफल अहिले धान खेतमा परिणत भएको छ। लकडाउनको समयमा ताल पुरिएर बनेको जमिनमा स्थानीयले धान रोपेका हुन्। 

रामसार क्षेत्रमा सुचिकृत पोखराको फेवाताल प्राकृतिक र मानवीय व्यवहारका कारण साँगुरिंदै गएको छ। वर्षा याममा ठुलो परिमाणमा गेग्रयान, कमेरो र माटो थ्रुप्रिंदै जाँदा ताल संकटमा पर्दै गएको हो। जलाधार क्षेत्रमा जाने पहिरो खहरे खोला हुँदै तालको मुख्य स्रोत हर्पन खोलामा मिसिएर तालमा थ्रुप्रिन्छ। तालको गहिराइ पनि तीव्र रुपमा कम हुँदै गएको छ। 

ताल पुरिएर बनेको जमिनको माटो झिकेर ताललाई पुर्न पहिलेकै अवस्थामा पुर्‍याउने प्रक्रियामै रहेको अवस्थामा धान रोप्नु मुर्खता भएको पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीले बताए। गत वैशाखमा महानगरपालिकाले तााल पुरिएर बनेको जमिनको माटो झिक्न एक निजी कम्पनीलाई जिम्मा दिए पनि माटो झिक्दा झिक्दै रोकिएको थियो। 

फेवातालको मुहानबाट तालमा प्रत्येक वर्ष एक लाख ४२ हजार मेट्रिक टन गेग्रयान थुप्रिंदै आएको विभिन्न अध्ययनले देखाएको छ। समय श्रृखला विश्लेषणबाट यो अवस्था देखिएको हो। नापी विभागको अभिलेख अनुसार सन् १९५७ को नापी अनुसार लगभग २२ हजार रोपनीमा फैलिएको फेवाताल सन् दुई हजारसम्म आइपुग्दा अध्ययनमा तालको क्षेत्रफल घटेर ९ हजार ९ सय ५५ रोपानीमा सिमीत रहेको तथ्याङ्क छ। 

पछिल्लो समयमा गण्डकी प्रदेश सरकार र पोखरा महानगरपालिकाले फेवा ताल पुरिने क्रम रोक्न तालको पानीको स्रोत रहेका खोला, खहरे खोलाहरुमा सिल्टेसन पोखरी निर्माण काम गरेको छ। पोखरा महानगरपालिकाले गण्डकी प्रदेश सरकारसँगको समन्वयमा २८ करोड १६ लाखको लागतमा पाँच वटा सिल्टेसन पोखरी निर्माण कार्य भएको हो। पछिल्लो समयमा ताल संरक्षणमा प्रदेश सरकार र महानगरपालिकाले केही प्रयास गरे पनि अतिक्रमणमा परेको जमिन संरक्षणमा भने अझै काम हुन सकेको छैन। फेवातालको सिमाङ्कनसमेत अहिलेसम्म हुन सकेको छैन। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.