काठमाडौंका लागि सुरुङमा पठाइयो मेलम्चीको पानी
मेलम्ची (सिन्धुपाल्चोक) : मुहानमा अस्थायी बाँध निर्माण गरी सुरुङको काम सम्पन्न गरेपछि मेलम्ची खानेपानी आयोजनाको मुहानबाट औपचारिक रुपमा पानी पठाउन थालिएको छ ।
आइतबार बिहान करिब १० बजे आयोजनाको मुहान अम्बाथानको अस्थायी बाँधबाट सुरुङमा पानी पठाइएको हो । खानेपानी मन्त्री बिना मगर आउने गरी तय गरिएको कार्यक्रममा उनी नआएपछि सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले बाँधमा रहेको सुरुङको गेट खोली पानी सुरुङतर्फ पठाएका थिए ।
मन्त्री आउने सम्भावना नभएपछि आफूलाई बोलाएर पानी सुरुङमा पठाउने काम गरिएको प्रजिअ ढकालले जानकारी दिए । राजधानीमा पत्रकार सम्मेलन गरी पानी पठाइएको विवरण सार्वजनिक गर्ने भन्दै आयोजनाको मुहानस्थलमा गोप्य रुपमा औपचारिक कार्यत्रक्रम आयोजना गरिएको थियो ।
आयोजना स्रोतलाई उधृत गर्दै प्रजिअ ढकालले जानकारी दिए अनुसार सुरुङको प्रत्येक अडिटमा भएको गेटमा परीक्षण गर्दै पानी सुन्दरीजल पुर्याइने छ ।
ढकालका अनुसार अम्बाथान, ग्याल्थुम, सिन्धु अडिटमा परीक्षण हुँदै पानी सुन्दरीजल पुर्याउन करिब १५ दिन लाग्नेछ । एक पटक पानी सुन्दरीजल पुगेपछि पुन: सुरुङमा पानी बन्द गरेर परीक्षण गरेपछि मात्र नियमित रुपमा पानी सुन्दरीजल पुर्याएर राजधानीमा वितरण सम्भव हुने आयोजना स्रोतलाई उधृत गर्दै प्रजिअ ढकालले जानकारी दिए ।
करिब दुई दशकअघि सुरु भएको आयोजनाको पटक पटक म्याद सार्दै अस्थायी बाँध बनाएर पानी सुन्दरीजल पुर्याउन लागिएको छ ।
आयोजनाको काम सन २०१३ सेप्टेम्बरमा सक्ने गरी २००९ सेप्टेम्बरमा सुरुङ निर्माणको जिम्मा चिनिया कम्पनीलाई दिइएको थियो । उक्त कम्पनीले ठेक्का तोडेपछि इटालियन कम्पनीले पाएको ठेक्का पनि अन्तिम समयमा आएर तोडेपछि पुनः ठेक्का गरी आयोजना सम्पन्न गर्ने लक्ष्य लिइएको सात वर्षपछि मेलम्चीको पानी काठमाडौ पुग्न लागेको छ ।
अम्बाथानबाट २६ किलोमिटर सुरुङ निर्माण गरी पहिलो चरणमा दैनिक १७ करोड लिटर मेलम्चीको पानी सुन्दरीजल पुर्याउन लागिएको छ । पहिलो चरणको आयोजना सम्पन्न भएपछि याङ्ग्री र लार्केबाट समेत दैनिक १७÷१७ करोड लिटर पानी थप गर्ने आयोजनाको लक्ष्य छ।