कोरोना हटस्पोटका स्वास्थ्यकर्मी आन्दोलित, स्वास्थ्य संस्था ठप्प
बर्दिबास : महोत्तरीको सम्सी कोरोना भाइरसको हटस्पोटको सूचीमा छ। सम्सीमा २ सय ७३ जना कोरोना भाइरसबाट संक्रमित भएका छन्। सम्सी गाउँका सरकारी स्वास्थ्य संस्था भने ८ दिनदेखि बन्द छ। स्वास्थ्यकर्मी आन्दोलित हुँदा क्वारेन्टाइन मात्रै होइन, प्रसुती सेवा पनि ठप्प छ।
कोरोना भाइरससँग भइरहेको लडाइँमा स्वास्थ्यमकर्मी अग्रपंक्तिमा छन्। जोखिम भत्ता नपाएपछि स्वास्थ्यकर्मी सबै सेवा ठप्पा परेर आन्दोलित छन्। उनीहरुले स्वास्थ्य चौकी, प्राथमिक स्वास्थ्य केन्द्र मात्र बन्द गरेका छैनन्, सम्सी गाउँपालिकको कार्यालयमा पाँच दिनदेखि तालाबन्दी गरेर गाउँको सिंहदरबारबाट हुने सबै काम बन्द गराएका छन्।
कोरोना भाइरसमा काम गरेको जोखिम भत्ता, नियमित खोप कार्यक्रमको भत्ता, राष्ट्रिय भिटामिन ‘ए’क्याप्सुल खुवाएको स्वंयसेवीकाको भत्ता, सुत्केरी गराएको भत्ता लगायत सेवा संचालन गर्न रातदिन खटिएका स्वास्थ्यकर्मीले पाउनु पर्ने करिब ६८ लाख ७२ हजार रकम सम्सी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामजी जोसीले दिन नमानेपछि उनीहरु आन्दोलित भएका हुन्।
गत असार १४ गतेदेखि स्वास्थ्य संस्थाहरु बन्द गरेर स्वास्थ्यकर्मी आन्दोलित हुँदा बिरामी मारमा परेका छन्। सम्सी गाउँपालिकामा चार वटा स्वास्थ्यचौकी र एक प्राथमिक स्वास्थ्य केन्द्र छन्। दैनिक तीन सय स्थानीय आफ्ना स्वास्थ्य समस्या लिएर पुग्दै आएको स्वास्थ्य संस्थामा विगत सातादिनदेखि ताला झुण्डिएको छ।
‘हामीले माग बारे गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत, सिडियो र गाउँपालिका प्रमुखलाई पनि पटक-पटक सुनायौं। तर, हामी माग सम्बोधन नहुँदा बाध्य भएर स्वास्थ्य सेवा ठप्प पारेर आन्दोलनमा छौं’, प्राथमिक स्वास्थ्य उपचार केन्द्र सम्सीका मेडिकल अधिकृत रवीन्द्र मण्डलले भने,‘प्रमुख प्रशासकीय अधिकृतले पैसा नभएकोले भत्ता दिन सकिंदैन भन्छन्। गाउँपालिका प्रमुखले पैसा जति पनि रहेको भन्छन् तर हामीले पाउनु पर्ने रकम दिइँदैन।’
स्वास्थ्यकर्मीले कोरोना भाइरसको जोखिममा काम गर्दा जोखिम भत्ता स्वारुप ४८ लाख रुपैयाँ पाउनु पर्ने छ। गाउँपालिकाको कार्यपालिकाले गत चैत्र १ गतेदेखि प्रत्येक स्वास्थ्यकर्मीलाई प्रत्येक दिन एक हजार जोखिम भत्ता दिने निर्णय गरेको थियो। चार महिना बित्नै लाग्दा पनि जोखम भत्ता दिने निर्णय लागु नभएको स्वास्थ्य चौकी पर्सादेवाडका इन्चार्ज सुखचन्द्र यादवले बताए। कोरोना जोखिममा कम्तिमा ४० जना स्वास्थ्यकर्मी क्वारेन्टाइन, स्वास्थ्यचौकी, सीमा नाकामा रातदिन खटिंदै छन्।
‘पैसाको कमी छैन। स्वास्थ्यकर्मी कोरोना भाइरसको महामारीमा दिन रात खटिइरहेका छन्। उहाँहरुलाई दिनु पर्ने प्रोत्साहन भत्ता दिनै पर्छ,’ गाउँपालिका प्रमुख शेख फारुकले भने,‘हामीले दिने निर्णय पनि गरेका थियौं। प्रमुख प्रशासकीय अधिकृत दुई महिनादेखि कार्यालयमा आउँदैनन्।’
प्रमुख प्रशासकीय अधिकृतलाई फोन गर्दा उनले फोन उठाएनन्। महोत्तरीका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले कोरोना जस्तो महामारीको बेलामा कुनै पनि हालतमा स्वास्थ्य संस्था बन्द गर्न नपाइने बताए।‘यस्तो बेलामा हडताल गर्न पाइन्छ ? अति आवश्यक सेवा ठप्प पारेकोमा अब हामी उनीहरुलाई कारवाही गर्छौं’, उनले भने,‘समस्या समाधान गर्न गाउँपालिका जिम्मेवार बन्नु पर्छ।’