कार्यकारी अधिकृत र लेखापालविरुद्ध गाउँपालिका प्रमुखले नै दिए उजुरी
मुगु : कोरोना राहत कोषको रकम अनियमिता गरेको र विना काम योजनाको रकम भुक्तनी गर्न लागेको भन्दै सोरु गाउँपालिका प्रमुख लोकबहादुर शाहीले प्रमुख प्रशासकीय अधिकृत र लेखापाल विरुद्ध प्रशासनमा उजुरी दिएका छन् ।
राहत कोषमा बचेको १९ लाख रकम प्रमुख प्रशासकीय अधिकृत धान्ने बुढा र लेखापाल जेठबहादुर बुढाले हिनामिना गरेको र काम नभएको योजनाको रकम भुक्तानी दिन लागेको भन्दै सोरु गाउँपालिकाका प्रमुख लोकबहादुर शाहीले कारवाहीको लागि जिल्ला प्रशासन कार्यालय मुगुमा आइतबार उजुरी दिएका हुन् ।
कोरोना महामारी नियन्त्रणको लागि गाउँपालिकामा खडा गरेको स्थानीय तह प्रकोप व्यस्थापन कोषमा प्रदेशबाट १५ लाख गाउँपालिकाबाट ७५ लाख छायाँनाथ सहकारीबाट ५० हजार किर्डाक शाखाबाट ३ लाख र अन्य निकायको सहयोग सहित १ करोड भन्दा बढी रकम जम्मा थियो ।
प्रमुख प्रशासकीय अधिकृत र लेखापालले सोरु गाउँपालिका— ८ तारापानी–नुवाकोट–रुम सडकखण्डको कुनै काम नै नगरी उपप्रमुख राज्यलक्ष्मी बमलाई ९ लाख २१ हजार रकम भुक्तानी दिन चेक तयार गरेको र उक्त चेक आफूले जफत गरी प्रशासनमा पेश गरेको अध्यक्ष शाहीको दावी छ ।
उक्त सडक निर्माणका लागि गाउँपालिकाले आव २०७६÷०७७ मा १५ लाख बजेट बिनियोजन गरेको थियो । उपप्रमुख बमले ४ लाख अग्रिम पेश्की लिएको सोही रकम अनुसारको काम नै नगरी बाँकी ९ लाख २१ हजार भुक्तानी लिन खोज्दा चेक समेत जफत गरेको शाहीले बताए ।
प्रमुख प्रशासकीय अधिकृत धान्ने बुढाले भने गाउँपालिका प्रमुखको आरोप झुटो भएको बताएका छन् । कोषमा रहेको १९ लाख रकम हिनामिना गरेको आरोप पनि झुटा रहेको उनले प्रतिक्रिया दिए ।
साथै रकम हिनामिना नभएको उनको भनाइ छ । कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि लकडाउन भएपछि जिल्ला बाहिर रहेका सोरु गाउँपालिकाका स्थानीयहरुलाई उद्धार गर्दा यातायातमा खर्च भएको उनले बताए । यस्तै गाउँपालिका उपाध्यक्ष राज्यलक्ष्मी मल्ल (बम) र अध्यक्षबीच मनमुटावका कारण आफू र लेखापाललाई आरोप लगाएको बताएका छन् ।