कांग्रेसभित्र ‘सत्ता–परिचर्चा’

कांग्रेसभित्र ‘सत्ता–परिचर्चा’

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच यही असार १७ गते साँझ बालुवाटारमा भेट भयो। नेकपा संसदीय दलका उपनेता सुवास नेम्बाङले आइतबार बिहान सभापति देउवासँग बूढानीलकण्ठमा भेट गरे। नेकपाभित्रको विवाद चर्किंदै गएका बेला भएका यी भेटवार्तालाई सम्भावित सत्ता साझेदारीसँग जोडेर हेर्न थालिएको छ।

कांग्रेस केन्द्रीय कार्यसमितिको आइतबारको बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेलले नेकपा नेताहरूसँगको भेटबारे देउवासँग जवाफै मागे। तर, ‘अनावश्यक कुरा’ गरेको भन्दै देउवा झोंक्किए। ‘वरिष्ठ नेताले यस्ता अनावश्यक कुरा गर्ने ? ’, देउवाले संक्षिप्तमा भने, ‘सत्ता साझेदारीबारे कुनै कुरा भएको छैन।’

नेता पौडेलले कांग्रेस सत्ताको जोडघटाउमा लाग्नु उपयुक्त नहुने भन्दै संशय व्यक्त गरे। देउवाले संवैधानिक परिषद् बैठक र विभिन्न आयोगमा रिक्त पदमा नियुक्तिबारे छलफल भएको जानकारी दिए। नेम्बाङसँगको भेटबारे सबै कुरा नेता डा. मीनेन्द्र रिजाललाई थाहा भएको भन्दै उनी पन्छिए।

‘सुवास नेम्बाङजीले संवैधानिक आयोगका नियुक्तिका विषयमा छलफल गर्न सभापतिज्यूसँग भेट गर्नुभएको हो’, नेता डा. रिजालले भने, ‘अस्ति प्रधानमन्त्री र सभापतिज्यूबीच भएको छलफलअनुसार संवैधानिक परिषद्को बैठक बोलाउने र रिक्त आयोगमा मनोनित गर्नेबारे छलफल भयो। त्योभन्दा अरू थप केही छलफल नै भएन।’

प्रवक्ता विश्वकर्मा शर्माले संवैधानिक परिषद् बैठकबारे छलफल गर्न प्रधानमन्त्रीले बोलाएपछि देउवा बालुवाटार गएको उल्लेख गरे। ‘प्रधानमन्त्री ओली र सभापति देउवाबीच यही विषयमा आधा घण्टा छलफल भयो’, प्रवक्ता शर्माले अन्नपूर्णसँग भने, ‘अन्तिममा प्रधानमन्त्रीले पार्टीभित्र आफूलाई असहयोग भएको, सरकार के हुने भन्ने अन्योल भइरहेको, यस्तो बेला तपाईंको सहयोग आवश्यक हुन्छ भनेर प्रस्ताव गर्नुभयो।’ देउवाले भने पार्टीमा मिलेर अघि बढ्न शुभकामना दिएको उनले उल्लेख गरे।

कांग्रेस स्रोतले भने प्रधानमन्त्रीले सम्भावित सत्ता साझेदारीबारे प्रस्ताव गरेपछि देउवाले आफूनिकट नेतारूसँग छलफल चलाएको जनाएको छ। पार्टी विभाजन भए सम्भावित सत्ता साझेदारीका लागि नेकपाका दुवै पक्षले देउवा र उनीनिकट नेतासँगको भेटलाई तीव्रता दिएका छन्। सभापतिभन्दा पनि दोस्रो तहका नेता नेकपाका दुवै पक्षसँग सम्पर्कमा रहेको एक नेताले बताए। ‘हामी नेकपा फुटोस् र सरकारमा जाऔंला भनेर कुरेर बसेका छैनौं’, ती नेताले भने, ‘उहाँहरू फुट्नुभयो र कांग्रेस सहभागी नभई सरकार नबन्ने अवस्था आयो भने त्यसबारे छलफल गर्न सकिन्छ।’

प्रधानमन्त्री ओलीको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै अर्का अध्यक्ष पुष्पकमल दाहालसहितका नेताले राजीनामा मागेका छन्। विवाद मिलाउन जारी सहमतिका प्रयासले सार्थकता नपाइरहेका बेला नेकपा नेता नै कांग्रेस नेतासँग सम्भावित सत्ता गठनबन्धनका लागि सक्रिय भएका हुन्। कांग्रेसले भने नेकपा विभाजन नभएसम्म सत्ता साझेदारीबारे छलफलको औचित्य नभएको भन्दै मौन रहने नीति लिएको छ।

‘ओली र दाहाल दुवै पक्षका नेता हामीसँग कुरा गर्न आएका छन्। तर, पार्टी विभाजन नै नभई हामीले कसलाई समर्थन गर्ने भन्ने कुरै हुँदैन’, देउवानिकट अर्का एक नेताले भने, ‘सभापतिसँग कुरा गर्नुपर्‍यो भनेर मसँग पनि नेताहरू कुरा गर्न आएका थिए। तर, पार्टी नै नफुटी कसरी सत्ता गठबन्धनको कुरा हुन्छ ? ’ उनका अनुसार नेकपा नेताले पार्टी मिल्ने ठाउँ नरहेको दाबी गर्न थालेका छन्।

डा. रिजालले पार्टी बैठकमा सत्ता सहकार्यका लागि नेम्बाङले प्रस्ताव ल्याएको भन्ने चर्चाको खण्डन गरेका थिए। ‘उहाँहरूको पार्टी आन्तरिक द्वन्द्वमा छ। प्रधानमन्त्री हटाउने हो भने संसदीय दलका नेताबाट हटाउनुपर्‍यो। पार्टी अलग भयो भने दुई पार्टीमध्ये कुन पार्टीको प्रधानमन्त्री बनाउने हो, त्यसपछिको कुरा हो’, उनले अन्नपूर्णसँग भने, ‘सुवासजीले न कुनै सत्ता सहकार्यको प्रस्ताव गर्नुभयो न हामी कम्युनिस्ट पार्टी फुट्ला भनेर कुरेर बसेका छौं।’


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.