बन्दाबन्दीमा १७८ किमि सडक कालोपत्रे
काठमाडौं : बन्दाबन्दीमा देशभर एक सय ७८ किलोमिटर सडक कालोपत्रे भएको छ। ३९ वटा पुल पनि निर्माण भएका छन्। बन्दाबन्दीका कारण पछिल्लो ३ महिनामा अन्य पूर्वाधार निर्माण कार्य सुस्त भएका कारण सडकको काम पनि थोरै भएको सडक विभागले जानकारी दिएको छ।
चालु आर्थिक वर्ष करिब १ हजार २ सय किलोमिटर सडक कालोपत्रे गर्ने लक्ष्य सरकारको थियो। ‘विगतमा पूर्वाधारसम्बन्धी धेरै काम यही तीन महिनाको अवधिमा हुने गथ्र्यो। भाइरसको प्रकोपले गर्दा थोरै आयोजना सञ्चालन भए’, सडक विभागका उपमहानिर्देशक शिवहरि सापकोटाले भने,‘यसले गर्दा लक्ष्यअनुसार पूर्वाधार निर्माण हुन सकेन।’
निर्माण सामग्रीको उपलब्धता र क्याम्पमा रहेका कामदारको सहयोगमा सडक कालोपत्र भएको हो। बन्दाबन्दीमा भौतिक पूर्वाधार निर्माणका काम ठप्प हुँदा चालु आर्थिक वर्ष सडक विभागको पुँजीगत खर्च निकै कम भएको छ। चालु आर्थिक वर्ष विभागलाई १ खर्ब २१ अर्ब ५४ करोड ४८ लाख बजेट विनियोजन भएको थियो। यसमध्ये असार १४ सम्म पुँजीगत खर्च करिब ३७ प्रतिशत मात्रै भएको छ।
चालु आव सञ्चालनमा रहेका आयोजनातर्फ करिब ४० प्रतिशत मात्रै पुँजीगत खर्च हुन सक्ने विभागको ठहर छ। आर्थिक वर्ष सकिन अब दुई सातामात्रै बाँकी छ। चालु आवमा पूरा हुन नसकेका आयोजनालाई आगामी आबमा अघि बढाउने विषयमा अध्ययन गरिरहेको विभागले जनाएको छ।
निर्माण व्यवसायी महासंघका अध्यक्ष रवी सिंहका अनुसार मुलुकभर करिब ५ हजार आयोजना सञ्चालन भए। विपद्को समयमा सबै आयोजना सुरु गर्न समस्या परेको अवस्थामा स्रोतसाधन तथा जनशक्ति उपलब्ध भएको स्थानमा अत्यावश्यक आयोजना मात्रै सञ्चालनमा ल्याइएको छ।
‘पुल र नदी नियन्त्रणका क्षेत्रमा कामदार र निर्माण उपकरणको अभाव थिएन’, अध्यक्ष सिहंले भने, ‘अनुकूल वातावरण भएको स्थानमा मात्र काम गर्न सक्यौं।’ स्थानीय तहको सहयोग भए पनि क्षमताअनुसार काम गर्न नसकिएको सिंहको भनाइ छ।
उनका अनुसार वर्षा सुरु भइसकेकाले अब मंसिर अघि पूर्वाधार निर्माणका काम गर्न सकिँदैन। वर्षापछि भवन, सहरी सडक र मर्मतका काम मात्रै अघि बढउन सकिने महासंघले जनाएको छ। ग्रामीण र पहाडी सडक निर्माण गर्न मंसिर तथा पुल र नदी नियन्त्रणसम्बन्धी आयोजना अघि बढाउन माघ महिना कुर्नपर्ने उनले बताए।
कहाँ-कहाँ भयो काम ?
बन्दाबन्दीको समयमा काठमाडौंमा सडक सुधारका कामलाई प्राथमिकताका साथ अघि बढाइएको छ। यो बेला डिभिजन सडक कार्यालय काठमाडौंले लक्ष्यको ८० प्रतिशत प्रगति हासिल गरेको कार्यालय प्रमुख कुवेर नेपालीले बताए।
यस अवधिमा १५ किलोमिटर सडक लोभरले (पिचमाथि पिच) गरिएको छ। ७ किलोमिटर नयाँ पिच, ३ किलोमिटर ढलान, सडक किनारमा सुधार र रंगरोगनको काम भएको छ।
चाबहिल-गौशाला सडक खण्ड चालु आर्थिक वर्षमै पिच गर्ने गरी ठेक्का लागेको थियो। तर विद्युत् प्राधिकरणले बिजुलीका तार भूमिगत गर्न सडक प्रयोग गरेकाले समयमै सडक निर्माण हुन नसकेको विभागको दाबी छ। सडक खण्डको जयबागेश्वरी मित्रपार्क खण्डको २ सय मिटर पिच भएको छ।
वर्षा सुरु भएकाले पिचको काम तत्काल अघि बढाउन नसक्ने भन्दै डिभिजन कार्यालयले असोजसम्म सम्पन्न गर्ने जनाएको छ। यस्तै पुतली सडक र सुनधारा-वीरअस्पताल क्षेत्रको सडक पनि पिच गरिएको छ। निर्माण व्यवसायी र सरकारी निकायबीचको समन्वयनले गर्दा उपभोक्ताले अनुभव गर्ने गरी सडक सुधार भएको प्रमुख नेपालीले बताए।
डिभिजन सडक कार्यालय ललितपुरले पुल, लोभरले, रंगरोगनको काम बन्दाबन्दीमा जारी राखेको छ। सडक कार्यालय ललितपुरका प्रमुख अमृतमणि रिमालका अनुसार ३ वटा पुलमा काम भइरहेको छ। ललितपुरमा गोदावरीबाट झरुवारासी जाने पुल, बालकुमारीको हनुमन्ते पुल, कोर्कु खोला पुल निर्माण भइरहेको छ।
भैंसेपाटी सडकमा पिच पूर्वको काम सुरु गरिएको छ। चक्रपथ र भित्री सडकमा रंगरोगन र सौन्दर्यीकरण पनि बन्दाबन्दी अविधिमा भएको छ। ललितपुरको १५ किलोमिटर सडकमा मार्किङ र जेब्रा क्रस निर्माणको काम सम्पन्न भएको रिमालले बताए।
डिभिजन सडक कार्यालय दमौलीले तराईका जिल्लामा पिच र पुलको काम गरिरहेको इन्जिनियर नारायण पौडेलले जानकारी दिए। पहाडी जिल्लामा जनशक्ति अभावले पिचको काम हुन नसकेको उनले बताए।
उत्तरदक्षिण करिडोर अन्तर्गतको कोसी राजमार्गको वसन्तपुर मुठेचैनपुरमा पनि सडक विस्तारको काम भइरहेको छ। दोलखा, पोखरा, रौतहटलगायत जिल्लामा पनि पुल निर्माणको काम सुरु भएको छ। जुम्ला डिभिजनअन्तर्गत नाग्मा-गमगढी सडक स्तरोन्नतिको काम हुँदै छ ।।
भरतपुर डिभिजनले भने पृथ्वी राजमार्गमा खाल्टा पुर्ने काम गरिरहेको विभागले जनाएको छ । नारायणघाट-मुग्लिन खण्डमा पहिरो रोक्न काम भइरहेको छ। यस्तै, त्रिभुवन राजपथको पनि सडक मर्मत गर्ने काम सुरु भएको छ। काम सुरु भएका अधिकांश आयोजना पुल, सडक र नदी नियन्त्रणसम्बन्धी छन् ।