बैतडीमा थप ११ जनामा कोरोना पुष्टि : संक्रमितको संख्या २९३ पुग्यो
बैतडी : बैतडीमा मंगलबार थप ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ११ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालयका कोभिड-१९ सम्पर्क व्यक्ति भुवनप्रसाद जोशीले जानकारी दिए ।
सिगास गाउँपालिकाकी २३ वर्षीया एक महिला र पञ्चेश्वर गाउँपालिकाका २० देखि ६८ वर्षीय १० पुरुषमा कोरोना पुष्टि भएको हो। मंगलबार कोरोना पुष्टि भएका सबैको स्वास्थ्य अवस्था सामान्य रहेको र उनीहरुलाई स्थानीय तहको आइसोलेसनमा राखिएको जोशीले बताए ।
योसँगै जिल्लामा संक्रमितको संख्या २ सय ९३ पुगेको छ । २ सय ९३ जनामा कोरोना पुष्टि हुँदा सबैभन्दा बढी पञ्चेश्वर गाउँपालिकामा ६० जना संक्रमित रहेका छन् । यस्तै शिवनाथ गाउँपालिकाका ४८ , दोगडाकेदार गाउँपालिकाका ४३, सिगास गाउँपालिकाका ४० , दशरथचन्द नगरपालिकाका ३४, मेलौली नगरपालिकाका २७,सुर्नया गाउँपालिकाका १४,पाटन नगरपालिकाका १२,पुर्चौंडी नगरपालिकाका ८ र डिलाशैनी गाउँपालिकाका ७ जनामा संक्रमण पुष्टि भएको छ ।
दुई सय बढी कोरोना जितेर घर फर्किएका छन्। केही कोरोना जितेर डिस्चार्ज भएका हुन् भने अधिकांशलाई १४ दिनसम्म कुनै लक्षण नदेखिएपछि घर फर्काइएको छ।