मेलम्चीका स्थानीयलाई बेवास्था गरी पानी पठाएको भन्दै स्थानीय आक्रोशित
मेलम्ची (सिन्धुपाल्चोक) : राष्ट्रिय गौरवको मेलम्ची खानेपानी आयोजनाले स्थानीयलाई बेवास्ता गर्दै पानी काठमाडौं पठाउने कामको सुरुवात गरेकोमा स्थानीय तह र सरोकारवालाले आपत्ति जनाएका छन्। मेलम्ची खोलाको पानी काठमाडौं लानको लागि सुरुङमा पठाउने जस्तो महत्वपूर्ण अवसरमा स्थानीय तह र सरोकारवालालाई खबर नै नगरी गोप्य रुपमा कार्यक्रम आयोजना गरेको भन्दै आयोजना प्रभावित क्षेत्रका जनप्रतिनिधि र सरोकारवालाहरुले असन्तुष्टि व्यक्त गरेका हुन्।
आयोजनाले सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकाललाई प्रमुख अतिथि बनाएर स्थानीय र जनप्रतिनिधिलाई खबर नै नगरी आइतबार आयोजनाको मुहान अम्बाथानबाट सुरुङमा पानी पठाउने कामको सुभारम्भ गरेको थियो। अम्बाथानमा सुरुङबाट पानी पठाएपछि राजधानीमा आयोजित पत्रकार सम्मेलनमा खानेपानी तथा सरसफाई मन्त्री बिना मगरले राजनीतिक र सामाजिक समस्याका बावजुद मेलम्चीको पानी ल्याउने अन्तिम तयारी सुरु भएको भन्ने अभिव्यक्ति दिएकोमा जनप्रतिनिधि आक्रोशित भएका छन्।
आयोजना र सम्बन्धित मन्त्रीले स्थानीय पानी पठाउने कामको बाधक भएको भन्ने सन्देश दिन खोज्नु दुखद भएको जिल्ला समन्वय समितिका प्रमुख कृष्णगोपाल तामाङ बताउँछन्। आयोजनाले सुटुक्क पानी पठाउने कामको सुरुवात गरेपछि स्थानीय तह र सरोकारवालाले आयोजना गरेको पत्रकार सम्मेलनमा प्रमुख तामाङले आयोजनाले जनप्रतिनिधिविहीन भएको अवस्थाको झल्को दिएको आरोप लगाए। उनले मेलम्चीको पानी काठमाडौं लगेर बिक्री गरे बापत स्थानीयले पाउने लेबी निर्धारण नगरी पानी लान खोज्नु आयोजनापक्षको पेलाहा प्रवृत्ति भएको बताए।
मेलम्ची नगरपालिकाका प्रमुख डम्बर अर्यालले आयोजना पक्षको व्यवहारले स्थानीयसँग मुठभेडको अवस्था सिर्जना गर्न खोजेको हो कि भन्ने आभाष गराएको अभिव्यक्ति दिए। उनले प्रयत्न असफल भए स्थानीयले गर्न सक्ने विरोधका कार्यक्रम बाँकी नै भएको चेतावनी दिए। ‘हामी पानी दिने कुराको विरोधि होइनौं तर स्थानीयको मागप्रति बेवास्ता गर्दै आयोजना यही ढंगले अघि बढ्ने हो भने हाम्रो धैर्यताको बाँध टुट्न सक्छ’, अर्यालले भने, ‘स्वयं मन्त्रीले समेत समस्या समाधानको पहल गरेको पाइएको छैन।’
आयोजनाको मुहान रहेको हेलम्बु गाउँपालिकाका अध्यक्ष निमाग्याल्जेन शेर्पाले विज्ञप्ति निकाल्दै स्थानीय तहलाई बेवास्ता गर्दै एकतर्फी रुपमा सुरुङमा पानी पठाउनु समन्वय अभावको पराकाष्ठा भएको उल्लेख गरेका छन् । हेलम्बुको पानी सुरुङमा पठाएको कुरा नजिकै रहेको स्थानीय तहले सञ्चार माध्यमबाट थाहा पाउनु आश्चर्यजनक भएको विज्ञप्तिमा उल्लेख छ। आयोजनाको यो व्यवहारले आगामी दिनमा स्थानीयले गर्ने सहयोगमा हुने असहज वातावरणको जिम्मेवारी आयोजना नै हुने विज्ञप्तिमा चेतावनी दिइएको छ।
आयोजनाको सामाजिक उत्थान कार्यक्रम सञ्चालनको जिम्मेवारी पाएको ह्योल्मो सिन्धु मेलम्ची उपत्यका सामाजिक उत्थान कार्यक्रम सञ्चालन समितिका अध्यक्ष उपेन्द्र तामाङले स्थानीय सप्लायर्सको दिन बाँकी भुक्तानी, पानी सञ्चालनपछि पाउने लेबी लगायतका विषयमा छलफल नै नगरी सरोकारवाला कसैलाई थाहा नदिएर ‘चोर’ को शैलीमा आयोजनाले बोको काटेर सुरुङ उद्घाटन गर्नु दुर्भाग्यपूर्ण भएको टिप्पणी गरे। उनले आयोजना सफलताका लागि सहयोग गरिरहेका स्थानीयलाई आयोजना पक्षले उपेक्षा गरेको आरोप लगाए।
आयोजनाको कार्यशैलीप्रति असहमति जनाउँदै स्थानीइ तह र सरोकारवालाले आयोजनाको कामप्रति औपचारिक रुपमा खेद व्यक्त समेत गरेका छन्।
आयोजनाका कार्यकारी निर्देशक तिरेश खत्री भने औपचारिक रुपमा पानी पठाउने कामको सुरुवात नभइ यो निर्माण व्यवसायीले काम सकिएपछि गर्ने परीक्षण मात्र भएको बताउँछन्। ‘व्यवसायीले काम सकिएकाले परीक्षण गर्देऊ भनेपछि परीक्षण भएको हो। औपचारिक रुपमा पानी पठाउन अझ समय लाग्छ’, निर्देशक खत्रीले अन्नपूर्णसँग टेलिफोनमा भने, ‘हामीले कुनै इन्टेन्सन राखेर उहाँहरुलाई खबर नगरेको होइन।’