गीतका शब्दमा पनि महिला नै कमजोर
काठमाडौं : कोरोना भाइरस संक्रमणका कारण नेपालमा लकडाउन भएको मंगलबार १०६ दिन पुग्यो। अत्यावश्यक क्षेत्रबाहेक देश ठप्प छ। घरमै फुर्सदमा हुनुभएको तपाईंले कतिवटा फिल्म हेर्नुभयो ? मन पर्ने विषयको म्युजिक भिडियो, सर्ट फिल्म र डकुमेन्ट्री पनि हेर्नुभयो होला। तपाईंले हेरेका फिल्म र गीतको भिडियोमा देखाइने महिला पात्रको भूमिका कस्तो छ ? के तपाईंले उनीहरूले धोका पाएर रुँदै हिँडेको देख्नुभयो ? वा कुनै काम गर्न घरपरिवारले सहयोग नगरेर कोही पुरुष पात्रको सहयोग लिँदै गरेको देख्नुभयो ?
यति मात्रै होइन, प्रायः फिल्म तथा म्युजिक भिडियोको कथामा महिलालार्ई कमजोर पात्रका रूपमा प्रस्तुत गर्ने गरिएको छ। बाटोमा हिँड्दै गर्दा अप्ठ्यारोमा परेपछि पुरुष आएर बचाउँदै गरेको दृश्य, पैसावाल युवकसँग लहसिएको कथावस्तु, साँचो माया नबुझ्ने कृत्रिम पात्रको चित्रण, कसैको गाडीमा लिफ्ट मागेर यात्रा गरिरहेका जस्ता कथालाई गीतको भिडियोमा देखाउने गरिन्छ।
जस्तै भर्खरै बजारमा आएको तीजको ‘लरिलै बरिलै’ बोलको गीतमा गीतकार एकनारायण भण्डारी लेख्छन्—
स्कुटर छ भनेर चनमती रमाइछे
हाम्लाई पनि थाहा छैन र क्यारी कमाइछे
कार चढ्न गइस् कान्छी बूढो पोइलाई रोजेर
चिची पनि पापा पनि पाइन्न खोजेर।
गीतको शब्दअनुसार स्कुटर चढेर हिँड्ने चनमतीको चरित्रमा शंका गरिएको छ। अप्रत्यक्ष रूपमा कुनै गलत काम गरेर स्कुटर किनेको हामीलाई पनि त थाहा छ भन्दै गीतमा व्यंग्य गरिएको छ। यस्तै कार चढ्न पाइन्छ भनेर बूढोसँग बिहे गरेर गएको भन्ने लाञ्छना पनि कान्छीलाई लगाइएको छ। यसका अलावा सहरमा बाइक चढेर हिँड्ने सबै केटाले सही नै काम गर्छन् त ? वा कोही चनमतीले आफंै सही काम गरेर स्कुटी चढ्नै नसक्ने हो त ? अथवा आफ्नो प्रेमीलाई छाडेर कार चढ्नकै लागि कोही बूढो मन्छेसँग बिहे गर्छ भन्नुमा कति सत्यता छ ?
अहिले समाज धेरै परिवर्तन भइसक्यो। शिक्षाको क्षेत्रमा होस् कि आत्मनिर्भर बन्ने सवालमा, महिला पुरुषको समान उपस्थिति देखिन्छ। अहिलेका छोरीहरू आफैं कमाएर कार चढ्न सक्ने बनिसकेका छन्। प्रेमीका खर्च पनि धान्न सक्ने अवस्थामा पुग्न थालिसके। नेपालमा राष्ट्रपतिदेखि प्रधानन्यायाधीशसम्म महिला बनिसके। अहिलेको अवस्थामा पनि महिलालाई कमजोर पात्रको रूपमा म्युजिक भिडियोमा देखाइनु कति यथार्थ चित्रण हो ?
धनसम्पत्ति र पैसाका लागि अपराध गर्नेमा पुरुषकै संख्या बढी छ समाजमा। पैसाकै लागि परिवार टुक्य्राउनेदेखि आपराधिक कार्य गर्न पनि पछि पर्दैनन् उनीहरू तर भिडियोमा भने निर्माता निर्देशकले महिलालाई धोकेबाजका रूपमा चित्रण गरेका छन्।
गीतकार एकनारायण भण्डारी कुनै पनि सर्जक समाजभन्दा पर जान नसक्ने बताउँछन्। उनका अनुसार गीत समाजको दर्पण हो। समाजमा जे छ त्यही प्रस्ट देखाउनु नै गीतकारको कला हो। समाजमा देखिएको विकृतिलाई तीजको भाकामार्फत रमाइलो शैलीमा उनेको बताउँदै उनले गीतबाट आदर्श व्यक्त गर्न नसकिने मत राखे। उनका अनुसार केटाहरू उच्छृंखल हुन्छन्। उत्ताउला पुरुषको स्वभाव नै केटी जिस्क्याउने हो। पैसा कमाउने काम पुरुषको हो भनेर उनी हुर्किएको समाजले सिकाएको हो। केटीहरूले केटालाई जिस्क्याउन सक्दैनन् भन्ने उनलाई लाग्छ। यसैले पनि यही भावका गीत कोर्र्ने गर्छन् उनी। अहिले पनि समाजमा महिलाहरू अलि डोमिनेट र आ िश्रत भएको देखेकाले नै आफूले देखेको समाजलाई गीतमा चित्रण गरेको स्पष्टीकरण उनले दिए।
भण्डारी आफूमा पुरानै समाजको छाप रहेकाले पनि पछिल्लो परिवर्तनमा अपडेट नभएको स्वीकार गर्छन्। उनका अनुसार गीतकारको उमेरले पनि उसले लेख्ने गीतको शब्दमा असर पर्छ।
यस्तै पैसा कसले बनायो भन्ने गीतमा गायक दिनेश गौतम भन्छन्—
बैंसको माया पैसाको छेउमा
बाचाकसम भुल्दा रहेछन्
गिर्नु परेसी मान्छेहरू हदैसम्म गिर्दा रहेछन्।
बैंसले गर्छन् पैसाको खेती
पिरतीको मोल घट्यो।
गीतको भिडियो भने गजबको छ। भिडियो हेर्दै गर्दा यस्तो लाग्छ, पैसाको पछि लाग्ने भनेकै महिला मात्रै हुन्। गरिब युवकसँग प्रेम साटेकी युवती पैसाकै कारण पटकपटक झगडा गर्छिन्। मोडेल बनेकी केकी अधिकारीले पैसाका लागि छट्पटिने युवतीको भूमिका निर्वाह गरेकी छन्। उनी पैसा पाउन हदैसम्म तल परेको दृश्यले कताकता मन चसक्क हुन्छ। गीतमा पुरुष आवाज छ। धनसम्पत्ति र पैसाका लागि अपराध गर्नेमा पुरुषकै संख्या बढी हुन्छ समाजमा। पैसाकै लागि परिवार टुक्य्राउनेदेखि आपराधिक कार्य गर्न पनि पछि पर्दैनन् उनीहरू तर भिडियोमा भने निर्माता निर्देशकले महिलालाई धोकेबाज व्यक्तिका रूपमा चित्रण गरेका छन्।
यो गीतकै कुरा गर्दा भिडियो बनाउने निर्देशकले प्रशस्तै प्रश्न गर्ने ठाउँ राखेका छन्। केकीको ठाउँमा कुनै पुरुषलाई अभिनय गराएको भए पनि गीतको मर्म पक्कै मर्दैनथ्र्यो। गीत लेख्दै गरेका गीतकार र भिडियो बनाउँदै गरेका निर्देशकमा पुरुषवादी प्रवृत्ति हावी देखिन्छ। यस्तो किन हुन्छ त ? गीतको भिडियोमा महिलालाई विचरा किन बनाइन्छ ? निर्माता तथा निर्देशक सुव्रतराज आचार्य भन्छन्, ‘अधिकांश निर्देशकले गीतको कथालाई भिडियोमा उतार्ने गर्छन्। महिलालाई कमजोर पात्र देखाउनुमा उनीहरूको पुरुष मानसिकताले पनि काम गर्छ। दोस्रो कुरा, कस्तो टे«न्ड चलिरहेको छ र दर्शकले कस्तो मन पराउँछन्, त्यसमा आधारित हुन्छ। आफूले बनाएका फिल्ममा महिलालाई बोल्ड चरित्रमा उभ्याएको दाबी गर्दै आचार्यले महिला सशक्तीकरणको विषयमा आफ्नो सकारात्मक धारणा भएको प्रस्ट पारे।
भिडियो बनाउनुअघि गीतका शब्दलाई राम्रोसँग बुझ्नुपर्ने बताउँदै उनले गीतको कथा कसले वाचन गरेको छ ? घटनाक्रम कसरी अघि बढ्छ ख्याल गरेर कथा निर्माण गर्नुपर्ने तर्क राख्छन्। धोका पाएकै गीतमा पनि महिलालाई रोएको, विचरा देखिएको दुःखी पात्र बनाउनुभन्दा आत्मबल बढाएर अगाडि बढेको पात्र बनाउँदा व्यावहारिक हुने उनको दाबी छ। समाजलाई यथार्थ देखाउने भन्दैमा परिवर्तित शैली अपनाउन नसक्दा नारीप्रधान म्युजिक भिडियो कम बनेको उनको स्वीकारोक्ति छ। अधिकांश निर्देशकमा अध्ययनको कमी देख्छन् उनी। गीतसंगीत परिवर्तनको संवाहक भएकाले पनि यसकै माध्यमबाट एकैपटक ठूलो समूहमा सकारात्मक सन्देश दिन सफल हुने उनको बुझाइ छ।
यस्तै गीतकार बादल घिमिरेले आफ्ना अधिकांश गीतमा आफू हुर्किएको समाजको चित्रण हुने जानकारी दिए। राजामहाराजाको पालादेखि नै महिलालाई सुन्दर र आकर्षक व्यक्तिका रूपमा चित्रण गरिएको हुनाले आफूलाई पनि छाप परेको उनले बताए। भन्छन्, ‘म हुर्किएको समाजमा पैसा कमाउन जाने पुरुष र घरपरिवार सम्हाल्ने महिला हुने गर्थे। केटाहरूले केटी जिस्क्याएको देखेरै हुर्किएको हुँ म। केटीको लजालु र सभ्य व्यवहार हेरेरै गीत लेख्न सिकेको हँु। यही सिकाइले मैले लेख्ने गीतको प्रतिनिधित्व गर्छ। महिलाको परिवर्तित भूमिकालाई केही सम्बोधन गर्ने कोसिस गरेको भए पनि पूर्ण रूपमा नारीप्रधान गीत नलेखिएको उनले स्वीकार गरे।