तीन दिनका लागि झुलाघाट नाका खुला
बैतडी : भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाका बुधबारदेखि तीन दिनका खुल्ने भएको छ । दुवै देशका स्थानीय प्रशासनको समन्वयमा सीमा नाका खुला गर्ने सहमति भएको सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्रसिंह नेगीले जानकारी दिए ।
कोरोना भाइरस संक्रमणको जोखिमका कारण अन्तराष्ट्रिय सीमा नाका बन्द भएकाले दुवै देशका स्थानीय प्रशासनहरुको सहमतिमा नाका खुल्न लागेको हो । सीमामा फसेका नागरिकलाई स्वदेश फर्काउने, भारतबाट पेन्सन बुझ्ने नागरिकलाई पेन्सन बुझ्नका लागि र नेपालबाट भारत फर्कन चाहने भारतीय नागरिकका लागि सीमा नाका खोल्ने तयारी भएको हो ।
‘भारतीय सीमामा रहेका नेपालीहरुलाई स्वदेश फर्काउने, भारतबाट पेन्सन बुझ्ने नेपालीहरुलाई पेन्सन बुझ्नका लागि भारतमा जान दिने, नेपालमा रहेका भारतीय नागरिकलाई पनि भारत जान दिनका लागि नाका खोलेका हौं।’सहायक प्रमुख जिल्ला अधिकारी नेगीले भने । भारतबाट पेन्सन बुझ्ने नेपाली नागरिकलाई सीमा नाका बन्द हुँदा धेरै समस्या भएको पनि हामीले नाका खोलिएको उनले बताए।
बुधबार बिहान ९ बजेदेखि नाका खुला रहने सहायक प्रमुख जिल्ला अधिकारी नेगीले बताए । पेन्सन बुझ्नेलाई दैनिक एक सय जनालाई मात्रै नाकाबाट भारत पस्न दिइने छ । त्यसका लागि जेष्ठताको आधारमा सोल्जर बोर्डले कुपनको व्यवस्था गरेको छ ।
यस्तै नाकाबाट फर्कने नागरिकलाई समान्य चेकजाँच गरेर स्वदेश फर्काइनेछ । सीमा नाकामा २ सय जति नागरिक रहेको अनुमान गरिएको छ ।