मदिराले आँखा नदेखेपछि...
पोखरा : घुमफिर गर्न पोखरा आएका काठमाडौंका नमीता र सुनीता दुई दिदीबैनीको २०३८ साल जेठ २४ गते भएको हत्याले देशैभरि तरंग सिर्जना गर्यो । बलात्कारपछिको हत्याका दोषी कोही पक्राउ परेनन् । बरु हत्याको २० वर्षपछि २०५८ जेठ २९ गते जिल्ला सरकारी वकिलको कार्यालयले नै मुद्दा थन्क्यायो ।
देशैभर आतंक सिर्जना हुने गरी भएको जघन्य अपराधको उक्त घटनापछि लामो समय त्यस्ता अप्रिय खासै सुन्नुपरेन । २०५६ तिर पोखराकै अमरसिंह माध्यमिक विद्यालयमा ३ कक्षामा पढ्ने विद्यार्थी अपहरणपछि मारिइन् । त्यसले पनि धेरैको मुटु चहर्यायो । त्यसको २० वर्षपछि फेरि अर्काे अपराध घट्यो पोखरामा, बालिकाको बलात्कारपछि हत्याको ।
२०७५ सालको असोज ८ गते पोखरा महानगरपालिका २० पुम्दीभुम्दीकी श्रीया सुनारको बलात्कारपछि हत्या भयो । प्रहरीले २४ घन्टाभित्रै दोषी पक्राउ गर्यो । श्रीयालाई उनकै छिमेकी २७ वर्षे कुसुम पौडेलले बलात्कार र हत्या गरेको खुलेको थियो । कुसुमले अदालतलाई दिएको बयान अनुसार रक्सीको नसामा मात्तिएर उनले श्रीयामाथि बलात्कार गर्न खोजेका थिए र नमानेपछि हत्या गरेका थिए ।
बलात्कारी र हत्यारा पौडेल अहिले कास्की कारागारमा छन् । अब उनी बाँचुन्जेल कारागारमै बस्नु पर्नेछ । मुलुकी अपराध संहित २०७४ अनुसार उनलाई आजीवन कैदको फैसला कास्की अदालतले पुस पहिलो साता गरेको थियो । यस्ता नृशंस घटनामा कास्कीमा पछिल्लो १० वर्षमा अरु नभएको कास्की जिल्ला प्रहरी कार्यालयको महिला सेलकी प्रमुख प्रहरी निरीक्षक चन्द्रा गुरुङ बताउँछिन् ।