बैतडीमा कोरोना संक्रमितको संख्या २९५ पुग्यो
बैतडी : बैतडीमा बुधबार थप २ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा टेकु काठमाडौंमा भएको परीक्षणमा थप २ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय बैतडीका कोभिड १९ सम्पर्क व्यक्ति भुवनप्रसाद जोशीले जानकारी दिए।
जिल्लाको पाटन नगरपालिका वडा नं १ का १८ वर्षीय र ३१ वर्षीय पुरुषमा कोरोना पुष्टी भएको उनले बताए। उनीहरु दुवै जना आइसोलेसनमा रहेको र स्वास्थ्यकर्मीको नियमित सम्पर्कमा रहेको पाटन नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख मदनसिंह महराले जानकारी दिए। उनीहरुको स्वास्थ्य अवस्था समान्य रहेको छ।
योसँगै पाटन नगरपालिकामा संक्रमितको संख्या १४ पुगेको छ। बुधबार पुष्टि भएका बाहेक अरु सबै डिस्चार्ज भइसकेका महराले बताए । बुधबार थप दुईजनामा कोरोना पुष्टि भएसँगै बैतडीमा संक्रमितको संख्या २ सय ९५ पुगेको छ। सबैभन्दा बढी पञ्चेश्वर गाउँपालिकामा ६० जना संक्रमित रहेका छन्।
यस्तै शिवनाथ गाउँपालिकाका ४८ , दोगडाकेदार गाउँपालिकाका ४३, सिगास गाउँपालिकाका ४०, दशरथचन्द नगरपालिकाका ३४, मेलौली नगरपालिकाका २७, सुर्नया गाउँपालिकाका १४, पाटन नगरपालिकाका १४, पुर्चौंडी नगरपालिकाका ८ र डिलाशैनी गाउँपालिकाका ७ जनामा संक्रमण पुष्टी भएको छ।