उपत्यका कति जोखिममा ?

उपत्यका कति जोखिममा ?

 काठमाडौं। राजधानीमा कोरोना भाइरस संक्रमित पुष्टि भएकोे पाँच महिनापछि उपत्यकामा दिनहुँजसो संक्रमितको ग्राफ बढेको छ। उपत्यकाका तीन जिल्लामा दुई सातायता झन्डै तीन सय संक्रमित फेला परेका छन्।

हालसम्म कोरोनाबाट मुलुकभर मृत्यु भएका ३५ जनामध्ये उपत्यकाका तीन जना छन्। जसमध्ये ललितपुरका दुई जना र काठमाडौंका एक जना रहेका छन्। स्वास्थ्य सेवा विभाग, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का निर्देशक डा. बासुदेव पाण्डेले केही सातायता काठमाडौंमा संक्रमणको धेरै केस देखिएको बताए। ‘उपत्यकाबाहिर संक्रमणको स्थिति घटिरहेको छ। तर काठमाडौंमा अलि जोखिम देखिएको छ। विशेष सावधानी अपनाउनुपर्ने देखिन्छ,’ डा. पाण्डेले भने।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार, उपत्यका बाहिर संक्रमित हुनेको संख्या दिनहुँ घटिरहेको छ। आइसोलेसनमा बस्नेहरूको संख्या पनि घट्दो छ। तर, उपत्यकाबाहिर कोरोना संक्रमण दर घटेको छ। ७७ जिल्लामध्ये तेह्रथुम, भोजपुर, सोलुखुम्बु, हुम्लामा कोरोना संक्रमण मुक्त छन। तर, काठमाडौंमा भने मंगलबार थप २८ जना नयाँ संक्रमित पुष्टि भएका छन्।

शैय्या भरिँदै

संघीय राजधानी बाहिर आइसोलेन कक्ष रित्तिँदै गइरहेका बेला उपत्यकाका कोरोना अस्पतालका शैया संक्रमितले भरिएका छन्। पाटन अस्पतालमा ९२ जना कोरोना संक्रमित उपचाररत छन्। शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा ३५ जना संक्रमितको उपचार भइरहेको छ। त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगन्जमा आइसोलेसन र सघन उपचार कक्ष (आईसीयू) मा ९ जनाको उपचार भइरहेको छ। सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा भर्ना भएका केही बिरामीमा गरिएको परीक्षणमा कोरोना भाइरस पोजेटिभ पाइएपछि आकस्मिक सेवा बाहेकका सेवा स्थगन गरिएको छ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. पाण्डेका अनुसार, संक्रमितमध्ये अधिकांश लक्षणविहीन छन्। लकडाउन अलि खुकुलो भएपछि काठमाडौंमा २ सय ६७ केस देखिएको छ। त्यसमध्ये १ सय ७५ जना काठमाडौं, ४३ जना भक्तपुर र ४१ जना ललितपुरका छन्। यीमध्ये ७९ जना विदेशबाट आएका हुन्। उनीहरू विभिन्न मुलुकबाट स्वदेश फर्कने क्रममा संक्रमित हुन पुगेको डा. पाण्डेले जानकारी दिए।

स्वाब थुप्रिँदै

उपत्यकामा पीसीआर विधिबाट स्वाब परीक्षण गरिने चारवटा प्रयोगशालामा स्वाब थुप्रिँदै गएका छन्। काठमाडौं, भक्तपुर र ललितपुरका साथै उपत्यका बाहिरबाट पनि संकलित स्वाबको परीक्षण गर्न स्वास्थ्यकर्मीलाई भ्याइनभ्याइँ छ। अधिकांश विदेशबाट आएका व्यक्तिको स्वाब संकलन र परीक्षण भइरहेको रोग नियन्त्रण महाशाखाका निर्देशक डा. पाण्डे बताउँछन्।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु, शुक्रराज ट्रपिकल अस्पताल, पाटन अस्पताल , वीर अस्पताल, त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगन्जमा रहेको प्रयोगशालाहरूमा पीसीआर परीक्षणका लागि स्वाब थुप्रिएका छन। शिक्षण अस्पताल, कोभिड बिरामीको उपचार संयोजक डा. सन्तकुमार दासका अनुसार दैनिक एक सयको हाराहारीमा नयाँ स्वाब संकलन हुने गरेको छ। डा. दास भन्छन्,‘ कोरोनाको जोखिम घटेको छैन। स्वाब संकलन हुने क्रम दैनिक बढिरहेको छ।’

पाँच महिनादेखि कोरोना संक्रमितको उपचार गरिरहेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको आइसोलेसन र अति सघन उपचार कक्ष (आईसीयू) मा संक्रमितको भीडभाड छ। अस्पतालका निर्देशक डा. सागरकुमार राजभण्डारी भन्छन्,‘ कोरोना भाइरस छ ÷छैन भन्दै दिनहुँ आठ सयदेखि एक हजारको हाराहारीमा आउँछन्।’

जाँच गर्न अस्पताल पुग्नेमध्ये झन्डै तीन सयको मात्र स्वाब संकलन गर्ने गरिएको अस्पतालले जनाएको छ। बाँकीलाई आवश्यक परामर्श दिने गरिएको निर्देशक भण्डारीले बताए।

कसरी बढे संक्रमित ?     

कोरोना प्रभावित मुलुकबाट उद्धारका क्रममा स्वदेश फर्किएका व्यक्तिका कारण संक्रमितको संख्या बढेको ईडीसीडीका निर्देशक डा. पाण्डेले बताए। कुनै पनि मुलुकमा नागरिक पठाउँदा कोरोना नभएको आरटीपीसीआर गरेर पठाउनुपर्छ। ईडीसीडीको रेकर्डमा भएका १७ हजारमध्ये ३५ प्रतिशतको पीसीआर परीक्षण भएको डा. पाण्डेले जानकारी दिए। झन्डै ३५ प्रतिशतले आरडीटी गरेर आएका छन। ‘आरडीटी र पीसीआर नगरेका पनि आएका छन्। कतिपय त कोरोना लक्षणसहितका पनि प्लेन चढेर आए।’ उनले भने।

परीक्षण गरेको रिपोर्ट नलिई आएकालाई क्वारेन्टाइन र आइसोलेसनमा राखिएको छ। लक्षणसहितका संक्रमितलाई विमानस्थलबाट सिधै अस्पताल लगिएको डा. पाण्डेले बताए। साउदी अरेबिया, कुबेतलगायतका मुलुकबाट संक्रमित आएका छन्।

शल्यक्रिया गर्न तथा गर्भवती वा अन्य कारणले उपत्यकाका अस्पतालमा आएका व्यक्ति पनि जाँचका क्रममा संक्रमण हुन पुगेको पाइएको छ। काठमाडौंको महाराजगन्ज, कपन, चन्द्रागिरि बूढानीलकण्ठ,गोल्फुटार, नैकापलगायतका स्थानमा नयाँ संक्रमितहरू भेटिएका छन्। त्यस्तै भक्तपुरका सल्लाघारी, चाँगुनारायण, बालकोटलगायतका क्षेत्रमा पनि संक्रमित भेटिएका छन्। ललितपुरका चापागाउँ, धोबिघाट, गोदाबरी, भैंसेपाटी, ठेचोलगायतका स्थानका व्यक्ति अस्पताल गएको बेला संक्रमित भएको पाइएको स्वास्थ्य सेवा विभागले जनाएको छ। विदेशबाट आएका तर ट्रेकिङको दायरामा नपरेका व्यक्तिबाट पनि संक्रमण फैलिएको छ।

संक्रमितमध्ये कतिपयको ट्राभल हिस्ट्री छैन। यसबारे काठमाडौं महानगरपालिकाको समन्वयमा मन्त्रालयले विभिन्न ठाउँको नमुना संकलन गरी जाँचपड्ताल गर्न सुरु गरिएको छ। ‘ जाँचपड्ताल सकिएपछि काठमाडौंको के स्थिति छ ? कहाँबाट संक्रमित भएका हुन् भन्ने थप जानकारी आउँछ।’ डा. पाण्डेले भने।

संक्रमणको उच्च जोखिम क्षेत्रका रूपमा अस्पताललगायतका सार्वजनिक स्थान रहेका छन। डा. पाण्डेका अनुसार, चिकित्सक नर्सलगायत एक सयभन्दा बढी स्वास्थ्यकर्मी उपचारका क्रममा संक्रमित भएका छन्। लकडाउन खुकुलो भएपछि बैंक, मालपोतलगायतका सरकारी कार्यालय एवं भीडभाड हुने अन्य एक दर्जन स्थानलाई ईडीसीडीले संक्रमणको उच्च जोखिम क्षेत्रका रूपमा लिएको छ। ‘धेरैजसो व्यक्तिमा कोरोनासँग लड्न सक्ने क्षमता छ। अरू मुलुकका भन्दा नेपालीहरू अलि बलिया छौं। मृत्युको संख्या पनि कम छ। मधुमेह, उच्च रक्तचाप , क्यान्सर भएका व्यक्तिको मात्र मृत्यु भएको छ। हामी बलिया छौं भन्दै सतर्कता नअपनाएको देखिन्छ।’ डा. पाण्डेले भने।

उपचार रणनीति फेरिँदै

उपत्यकामा संक्रमित बढेपछि अस्पतालमा उपचार रणनीति फेरिएको छ। शुक्रराज अस्पतालका निर्देशक डा. भण्डारीका अनुसार, कोेरोना भाइरस संक्रमणको लक्षण भएका र दीर्घ रोगीलाई मात्र अस्पताल भर्ना गरिने भएको छ। उच्च रक्तचाप, क्यान्सरलगायतका दीर्घ बिरामीमा कोरोना भाइरसको लक्षण देखिए जटिलता हुने भएकोले उपचारमा प्राथमिकता दिइने भएको छ।

लक्षण नदेखिएका तर कोरोना संक्रमणको पुष्टि भएका व्यक्तिलाई भरसक होम क्वारेन्टाइनका रूपमा आइसोलेसनमा बस्न प्रेरित गरिनेछ। ‘घरमा आइसोलेसन कक्षमा बस्न सम्भव भएको अवस्थामा अस्पतालमा भर्ना नगर्ने नीति छ। घरमा बस्न सम्भव नभएकालाई मात्र अस्पताल भर्ना गर्ने नीति छ।’ डा. भण्डारीले भने।
१२ वटा जोखिमस्थलहरू
· अस्पताल

· तरकारी बजार

· फलफूल पसल

· चिया पसल

· दुग्ध÷डेरी

· रेस्टुरेन्ट

· किराना पसल

· बैंक

· सरकारी निकाय

· सपिङ सेन्टर

· सैलुन÷ ब्युटिपार्लर

· सार्वजनिक यातायात

के गर्ने ?     

· मास्क ठीकसँग लगाउने/फुकाउने

· भौतिक दूरी न्यूनतम २ मिटर राख्ने

· कम्तीमा २० सेकेन्ड मिचीमिची हात धुने

· सेनिटाइजरको प्रयोग गर्ने

· संक्रमितले शैया भरिएपछि घरमै आइसोलेसनमा राख्ने रणनीति अपनाइँदै


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.