स्वाब लिने कहाँबाट ? नाकबाट

स्वाब लिने कहाँबाट ? नाकबाट

काठमाडौं : कोरोना संक्रमण भए/नभएको पत्ता लगाउने कसरी ?  यसको जवाफ आउँछ, ‘स्वाब प्रयोग गरी पीसीआर प्रविधिबाट परीक्षण।’ स्वाब परीक्षणमा पनि मुलुकपिच्छे फरक–फरक तरिका अपनाएको देखिन्छ। नेपालको सन्दर्भमा विज्ञ भन्छन्, ‘ओरोफेरेन्जेल (मुखभित्र घुसाएर निकालिएको स्वाब) नभई नेजोफेरेन्जेल (नाकभित्र घुसाएर निकालिएको स्वाब) नै परीक्षण गरौं।’

अमेरिकाको टेक्सासस्थित सोनिक रेफरेन्स ल्याबको क्लिनिकल मोलिकुलर बायोलोजी विभागका निर्देशक डा. विजय ढकाल नेजोफेरेन्जेलबाट निकालिएको स्वाब परीक्षण उपयुक्त हुने बताउँछन्। ‘घाँटीको स्वाब संकलनबाट संक्रमण पत्ता लगाउने सेन्सिटिभिटी (क्षमता) सापेक्षमा न्यून हुन्छ। नेजोफेरेन्जेल स्वाब संकलन गर्नुपर्छ। त्यो केही हदसम्म अप्ठेरो हुन्छ तर भरपर्दो र विश्वसनीय हुन्छ’, उनी भन्छन्, ‘सिंहदरबारमा सांसदहरूलाई लाइन लगाएर आँ गर्न लगाई जुन ढंगले स्वाब संकलन गरियो त्यो ओरोफेरेन्जेल स्वाब (घाँटीको स्वाब) संकलनको उदाहरण हो।’

अझ नेजोफेरेन्जेल र ओरोफेरेन्जेल दुवै नमुना संकलन गर्न सके परीक्षणको संक्रमण पत्ता लगाउने क्षमता अधिक हुने उनी बताउँछन्। ‘ओरोफेरेन्जेल स्वाब संकलनको अर्को नकारात्मक पक्ष नमुना संकलक स्वास्थ्यकर्मी आफैं संक्रमित हुन सक्ने जोखिम हो’, उनी भन्छन्।

डा. ढकालको भनाइसँग टेक्सासकै सोनिक हेल्थ केयर क्लिनिकल प्याथोलोजी ल्याबोरेटरिज प्रयोगशालाका सुपरभाइजर द्रोण पाण्डेय सहमत देखिन्छन्। ओरोफेरेन्जेलभन्दा नेजोफेरेन्जेल स्वाब संकलन गरी परीक्षण गर्दा रिपोर्ट बढी विश्वसनीय हुने उनी बताउँछन् छ।

विज्ञका अनुसार कोरोना परीक्षणमा घाँटीको स्वाबको सेन्सिटिभिटी तुलनात्मक रूपमा न्यून हुन्छ। कोरोना भाइरसले स्वासप्रश्वास प्रणालीमा असर गर्छ। भाइरस श्वासप्रश्वास प्रणालीको केन्द्रबिन्दु नाक हुँदै छिरेर फोक्सोसम्म पुग्ने हो। डा. ढकालका अनुसार श्वासप्रश्वासको तल्लो भाग अर्थात् फोक्सो र श्वासप्रश्वास नलीबाट उत्पत्ति हुने खकारमा मुख र नाकभन्दा बढी सेन्सिटिभिटी हुन्छ। यो परीक्षण गर्दा अझ बढी भरपर्दो रिपोर्ट आउने उनी सुनाउँछन्। ‘त्यसपछि नेजोफेरेन्जेल स्वाब उपयुक्त हुन्छ’, उनी भन्छन्, ‘नेजोफेरेन्जेल पनि लिन नसके ओरोफेरेन्जेल स्वाब हो।’

अध्ययनले नेजोफेरेन्जल स्वाबको सेन्सिटिभिटी ७० र ओरोफेरेन्जेलको लगभग ५५ प्रतिशत रहेको देखाएका छन्। दुवै नमुना संकलन गरी परीक्षण गरियो भने सेन्सिटिभिटी ८० प्रतिशतभन्दा माथि रहने पाण्डेय बताउँछन्। कोरोना लक्षण देखिएको सात दिनभित्र परीक्षण गर्दा नतिजा बढी विश्वसनीय हुने अध्ययनले देखाएका छन्। सातापछि लिइएको नमुनाको सेन्सिटिभिटी धेरै घटेर जाने हुन्छ।

संक्रमण पुष्टि भएका सबै बिरामीमा नेजोफेरेन्जेल गर्न नसकेको अवस्थामा ओरोफेरेन्जेल स्वाब लिन सकिन्छ। तर, नेपालमा कोरोना संक्रमितको अवस्था जटिल नभएकाले नेजोफेरेन्जेललाई नै जोड दिनुपर्ने विज्ञको तर्क छ।

‘नेपालमा सुरुदेखि नै ओरोेफेरेन्जेल स्वाबलाई नै प्राथमिकता दिइयो। यहाँबाट हामीले वेबिनार गरेर, रिसर्च आर्टिकल पठाएर नेजोफेरेन्जेल स्वाबलाई प्राथमिकता दिन आग्रह गरेका हौं’, उनी भन्छन्, ‘सकभर नेजोफेरेन्जेलको विकल्प नखोजौं।’

नेपालमा संकलन भइरहेको स्वाबको आकार पनि ठूला भएको, नमुना संकलन उपयुक्त नभएको डा. ढकाल बताउँछन्। ‘घाँटी हेरी हाड निल्नु भन्ने नेपाली उखानजस्तै नाकको प्वाल हेरेर त्यही साइजको स्वाब पसाएर मात्र नमुना लिनुपर्छ’, उनी भन्छन्, ‘नेजोफेरेन्जेल नमुना संकलन गर्ने स्वाब सानो हुन्छ किनकि स्वाब नाकको पछिल्लो भित्री भागसम्म पसाउनुपर्छ।’

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको क्लिनिकल रिसर्च युनिट संयोजक डा. शेरबहादुर पुन पनि नाकभित्र छिराएर लिइने नेजोफेरेन्जेल स्वाब परीक्षण बढी प्रभावकारी हुने बताउँछन्। ‘कतिपय मुलुकले एउटै नेजोफेरेन्जेल र ओरोफेरेन्जेल दुवैबाट संकलन गरिएको स्वाब नै परीक्षण गर्दै आएका छन्’, उनी भन्छन्, ‘घाँटीभन्दा तुलनात्मक रूपमा नाकबाट स्वाब नमुना लिँदा त्यसको सेन्सिटिभिटी (क्षमता) बढी हुन्छ।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.