आईजीपी ज्ञवालीको बिदाइ
काठमाडौं : करिब चार महिना प्रहरी नेतृत्व सम्हालेर महानिरीक्षक ठाकुरप्रसाद ज्ञवालीले बुधबार ३० वर्षे सेवाअवधिका कारण अवकाश पाए। प्रहरी प्रधान कार्यालयले उनको बिदाइ गरेको छ। सरकारले २०७६ माघ २८ मा ज्ञवालीलाई महानिरीक्षकमा नियुक्त गरेको थियो।
आफूलाई ‘लो प्रोफाइल’ मा राख्न रुचाउने ज्ञवालीका लागि झन्डै चार महिनाको अवधिमा खासै ठूलो काम गर्न नसकेपनि संगठनलाई विवादमा तान्न नदिने प्रण पहिल्यै थियो। उनले महानिरिक्षकको नियुक्ती पाएपछि मातहतलाई निर्देशन दिँदै भनेका थिए, ‘म कुनै बाघ मार्न आएको होइन। मेरो इमान्दारितालाई ख्याल राखेर सरकारले महानिरीक्षक बनाएको हो। संगठन सुदृढीकरण र व्यवसायीकतामा आँच आउन दिन्न।’
संगठन भित्रै पनि इमान्दार अधिकृतमा रुपमा परिचित ज्ञवालीले प्रारम्भमै सचिवालयका कर्मचारीलाई हेरफेर गरे। त्यतिमात्रै होइन, उनले कर्मचारी प्रशासन महाशाखा (कप्र) का प्रमुख पनि फेरे। सचिवालयमा आफूलाई काम गर्न सजिलो कर्मचारी राख्नु स्वभाविकै पनि हो। तर, अरु पुरानै अनुहार कर्मचारी सचिवालयमा ल्याएको भन्दै संगठन भित्र केही असन्तुष्टीको छाँया पनि देखापर्यो। आफू पछिको उत्तराधिकारी चयन गर्ने चुनौति पनि थियो। प्रहरी अतिरिक्त महानिरिक्षक (एआईजी) को दरबन्दी कटौतीको कारण जनपथतर्फ तीन जना एआईजी बढुवा भए। नियम संगत बढुवालाई उनले मार्न दिएनन्। एक नम्बरमै रहेका शैलेश थापा क्षेत्री आफ्नो ब्याचका मध्येबाट एआईजीमा पहिलो नम्बरमै बढुवा भए।
गृहमन्त्री र प्रधानमन्त्रीलाई ‘कन्भिन्स’ गराउन ज्ञवालीको त्यो भूमिका राम्रै थियो। तर, एसएसपीबाट डीआईजी बढुवामा भने उनले गृहसचिव महेश्वर न्यौपानेसँग उनको ठूलै मतभेद देखियो। २२ जना डीआईजी पद खाली रहँदा जम्मा १० जनाको मात्रै बढुवा भयो। यो प्रकरणले प्रहरी कर्मचारीको वृत्ति विकासमा गम्भीर असर परेको बुझाइ संगठनकै अधिकृतको थियो र छ पनि।
प्रहरीलाई अहिले पनि सोधिने निर्मला हत्या प्रकरणको दोषी को हो ? भन्ने प्रश्न ज्ञवालीलाई पनि तेर्सिए। तर उनले खासै चासो देखाएनन्। घटना अहिले पनि रहस्यमै छ।
संगठनको नेतृत्व लिएको दुई महिनामै विश्वव्यापी महामारी कोरोना भाईरस (कोभिड –१९) को संक्रमण नेपालमा पनि देखिन थाल्यो। बन्दाबन्दी, संक्रमितको सुरक्षा लगायतमै प्रहरीको ठूलो जनशक्ति खर्चिनुपर्यो। समग्रमा उनको कार्यकालमा कुनै उल्लेखनीय काम हुन पाएन। ठुला खरिद बिक्री पनि भएनन्। सरुवा–बढुवा नियमित प्रक्रिया उनले पनि गरे।