बेसीसहर चामे सडकमा दर्जनौं पहिरो, सडक अवरुद्ध

बेसीसहर चामे सडकमा दर्जनौं पहिरो, सडक अवरुद्ध

बेसीशहर : हिमाली जिल्ला मनाङ जोड्ने बेंसीसहर-चामे सडकको विभिन्न स्थानमा पहिरो जाँदा सडक अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालय लमजुङका अनुसार बेसीसहरदेखि चामेसम्म दर्जन बढी ठाउँमा पहिरो गएको छ । 

बाढीले बेंसीसहर नगरपालिका-७ पुमाखोलामा कल्भडसहित सडक बगाएको छ । बेंसीसहर-६ बेलौतीविसौना नजिकै उतिसघारी खरखरेमा झरेको पहिरोले सडक पुरिएको छ ।  बुधबार साँझदेखि परेको वर्षाले बेंसीसहर -चामे सडकअन्तर्गत पर्ने खरखरे भीर, सिमपानी, खुदी, अर्खलेबेंसी, घोप्टेभीर, काप्रेभीर, रामबजार, स्याँगे, शिरचौर, च्याम्चेलगायतका ठाउँमा पहिरो झरेको छ । कतिपय स्थानमा ग्याविन जालीसहति सडक भासिएको छ ।

ठूलो पहिरो खसेकाले सवारी आवागमन बन्द भएको छ । पदैलयात्रु जोखिम मोलेर यात्रा गरेका छन् । प्रहरी नायव उपरिक्षक गंगाबहादुर थापाका अनुसार पहिरो पन्छाउने कार्य सुरु भएपनि पूर्णरुपमा सडक खुलाउन अझै दुई दिन लाग्नेछ ।

पहिरोमा बगेको पानीले थप समस्यामा पारेको छ । पहिरोका कारण मनाङ र उत्तरी लमजुङको मस्र्याङ्दी गाउँपालिकाका नागरिक समस्यामा परेका छन् । सदरमुकाम बेसीसहरबाट तीन किलोमिटरको दुरीमा रहेको उतिसघारी खरखरेमा हिउँद बर्खा दुवै समय पहिरो खस्ने गरेको स्थानीय बताउँछन् ।

पहिरो पन्छाउने दिर्घकालीन उपाय नअपनाउँदा सधैं सास्ती खेप्नुपरेको बेसीसहर चामे सडक सरोकार समितिका संयोजक सुर्यप्रकाश कतिलाले बताए । 'सडक स्तरवृद्धिका लागि पटकपटक सम्बन्धित निकायलाई झकझकाएका छौं, सुनुवाइ नै हुँदैन,' कतिलाले भने ।

मस्र्याङ्दी गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङले पहिरो नियन्त्रण र सडक स्तरवृद्धिको दीर्घकालीन उपाय खोज्न डिभिजन सडक कार्यालय र सम्बन्धित मन्त्रालयलाई बारम्बार घचघचाएको बताए । 

पहिरोले घर पुरिए

बुधबार राती परेको वर्षाका कारण पहिरो चल्दा लमजुङका विभिन्न स्थानमा घर पुरिएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार बेंसीसहर नगरपालिका-६ चनौटेस्थित भण्डारी टोलमा २ घर पहिरोले क्षति पुगेको छ । भण्डारी टोलका मिना आले र महेन्द्र भण्डारीको घर पहिरोले भत्काएको डिएसपी गंगाबहादुर थापाले बताए । 

घर भत्किएपनि आलेको परिवार छिमेकीको घरमा र थापाको परिवार आमा समूहको भवनमा बसेका छन् । यसैगरी मस्र्याङ्दी गाउँपालिका-८ भुलभुलेमा पहिरोले २ घरमा क्षति पुर्‍याएको छ ।  गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङका अनुसार रणबहादुर तामाङ र सुकाजी कतिलाको घरमा पहिरोले क्षति पुगेको छ । गाउँपालिकाको विभिन्न स्थानमा झरेका पहिरोले स्थानीय सडकहरु अबरुद्ध बनेको छ ।  मस्र्याङ्दी-२ घनपोखराका अध्यक्ष चेतबहादुर गुरुङका अनुसार भाचेस्थित भदौरे गाउँमा पहिरोका कारण १५ घर जोखिममा परेको छ । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.