बारीमै सुक्यो तरकारी

बारीमै सुक्यो तरकारी

सुर्खेत : जिल्लाको चौकुने गाउँपालिका–९ घाटगाउँका किसानले लगाएको तरकारी सिँचाइ सुविधा नहुँदा बारीमै सुक्न थालेको छ। गाउँमा सिँचाइ अभावले कृषक आकाशेपानीको भरमा खेती गर्न बाध्य छन्। गाउँ पछाडि भेरी नदी बग्छ। तर, वर्षौंसम्म नदीको पानी गाउँमा ल्याउने योजना बनेन। 

संघीयतासँगै धेरै व्यवस्था परिवर्तन भए पनि यो गाउँमा सिँचाइ व्यवस्थापन हुन सकेको छैन। सिँचाइ अभावले खेती गर्न समस्या भएपछि कृषकले समस्या समाधानका लागि सम्बन्धित निकायसँग हारगुहारसमेत गछन्। तर, सुनुवाइ नभएपछि यहाँका कृषक भोको पेट पाल्न भारत छिर्ने गरेका छन्। 

सिँचाइ अभावकै कारण यसअघि घाटगाउँमा व्यावसायिक तरकारी खेती गर्ने चलन थिएन। कर्णाली प्रदेश सरकारको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले चालु आर्थिक वर्षको दलित जनजाती लक्षित कार्यक्रमअन्तर्गत गाउँमा तरकारी खेती गर्न त सिकायो। तर, सिँचाइ व्यवस्थापन नगर्दा कृषकले लगाएको तरकारी टनेलमै सुकेको छ। 

४० लाख रुपैयाँको लागतमा कर्णाली प्रदेश उपसभामुख पुष्पा विष्ट घर्तीमगरको छनोटमा घाटगाउँका कृषकलाई तरकारी टनेल उपलब्ध गराइयो। तर, सिँचाइमा भने ध्यान दिइएको छैन। जसका कारण कार्यक्रमले लक्ष्य पूरा नगर्ने निश्चित छ। उपसभामुख पुष्पा विष्ट घर्तीमगरको छनोटमा घाटगाउँमा तीन सय घरधुरीमध्ये कसैलाई बाख्रा र कसैलाई तरकारी खेतीका लागि टनेल अनुदान दिइएको हो। 

उनले भनिन्, ‘यहाँका नागरिकले तरकारी खान सिकुन् र बालबालिकाको पोषण स्थीतिमा सुधार आओस् भनेर कार्यक्रम सञ्चालन गरेका हौं। ’ अनुदान पाउनेमध्ये ६० प्रतिशत घरधुरी दलित समुदाय हुन्। ती दलित समूदायका नागरिक ज्याला मजदुरी गर्नका लागि भारतका विभिन्न सहरमा काम गर्न जाने परम्परा कायमै छ। 

कृषकलाई कृषिमै आत्मनिर्भर बनाउने प्रदेश सरकारको योजना छ। तर, लाखौंका तरकारी टनेल बाँडे पनि सिँचाइ व्यवस्थापनमा ध्यान दिइएको छैन। घाटगाउँका २० घरमा तरकारी टनेल निर्माण गरिएको छ भने ६ घरमा ३५ वटाका दले लोकल कुखुरापालन सुरु भएको छ। यस्तै ३२ घरमा दुई वटा वोयर जातका पाठाका दरले चौसठ्ठी वटा पाठी र दुई वटा बोयर जातको बोका पनि वितरण गरिएको छ। 

‘गाउँमा तरकारीबाट जीविकोेपार्जन गर्न सकिन्छ भन्ने बुझाइ थिएन। तरकारीबाट पनि सजिलै आम्दानी लिन सकिने रहेछ’, कृषक देउसरी विकले भनिन्, ‘तर तरकारी उत्पादनका लागि सिँचाइ सुविधाको अभावले बारीमै कुहिने अवस्था आयो। अब सिँचाइ समस्या समाधानका लागि पनि पहल गरियोस्। ’ सिँचाइ समस्या र तरकारीमा रोग कीराको प्रकोपले टनेलमै तरकारी कुहिने अवस्था आएको हो। अर्का कृषक प्रदिप नेपालीले आम्दानीका लागि व्यावसायिक रूपमा तरकारी र बाख्रापालन गरिरहेको बताए। 

कृषि विकास निर्देशनालयका सूचना अधिकारी यामबहादुर रानाले नागरिकले दिएको योजनामा अपेक्षाअनुसार काम गरेमा बाँकी समस्या समाधानका लागि पहल गर्ने बताए। चौकुने गाउँपालिकाका अध्यक्ष धीरबहादुर शाहीले सिँचाइ समस्या समाधानका लागि भेरी नदीबाट लिफ्ट प्रविधिबाट गाउँमा पानी ल्याउने बताए। यसका लागि १४ करोडको योजना बनाएको उनको भनाइ छ। उनले भने, ‘नौ लाख रकम गाउँपालिकाले खर्च गरी ट्यांकंी बनाइसक्यो। बाँकी कामका लागि बजेट विनियोजन गरेर सिँचाइ समस्या समाधान गर्छाैं। ’


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.