नो मिन्स नो
काठमाडौं : ‘तपाईंले भन्नु भो कि ऊ तपाईंका साथ हाँसीहाँसी कुरा गरेकी थिई। त्यसैले उसलाई तपाईंले छुनुभयो। सामान्यतया कुनै पनि केटीले कोही केटाका साथ हाँसेर, छोएर बोल्न पाउँदिन। किनकि यसलाई ऊ हिन्स दिएको सम्झन्छ। हाँसेर बोल्नु भनेको केटीको मानवीय व्यवहार हो, तपाईंको नियमअनुसार केटाका लागि केटीले चालु हुनुको संकेत दिएको हो।’
बलिउड चलचित्र पिंकमा वकिलको भूमिकामा रहेका नायक अभिताभ बच्चनले न्यायाधीशको अगाडि व्यक्त गरेको संवाद हो यो। नारी स्वतन्त्रताको पक्षमा वकालत गरेको यो चलचित्र थोरै राम्रा चलचित्रको भीडमा पर्ने गर्छ। फिल्मले महिला र पुरुषका लागि समाजमा रहेको दोहोरो चारित्रिक मापदण्डमा सवाल उठाएको छ। केटीहरूको चरित्रको बारेमा नकारात्मक टिप्पणी गरिने सामाजिक कल्चरलाई प्रस्ट्याइएको छ।
पिंकमा तापसी पन्नु ‘मिनल’ कीर्ति कुल्हारी ‘फलक’ र एन्ड्रिया तारियांग ‘एन्ड्रिया’ अंगद बेदी ‘राजवीर’ लगायत कलाकारको अभिनय छ। अभिताभ बच्चन दीपक नामक वकिलको भूमिकामा छन्।
फिल्मको कथाअनुसार फलक मिनल र एन्ड्रिया एउटै फ्ल्याटमा बसेर अध्ययनलाई अगाडि बढाइरहेका छन्। उनीहरू निकै मेहनत गरेर काम गर्छन्। आफ्नो खुट्टामा उभिएका छन्। एक रात सुरजकुण्डमा रहेको रक सोमा उनीहरू जान्छन्। सोमा गएको बेला फलकको साथी विश्वा पनि भेट हुन्छ। विश्वा राजवीरको समूहसँग सोमा आएको हुन्छ। राजवीर उच्च राजनीतिक परिवारको छोरा हुन्छ।
सोमा मिनलहरू बिन्दास भएर नाच्नु, राजवीरको समूहसँग बसेर रक्सी पिउनु, राजवीरले जबरजस्ती मिनललाई छुन खोज्नु र सुरक्षाको लागि मिनलले रक्सीको बोतलले हानेर राजवीरको टाउकोमा चोट पुर्याउनु। फिल्मको छोटो कथा यति हो। तर घटना यसरी घुम्छ कि राजवीर र उसको साथीहरू मिलेर मिनलविरुद्ध ज्यान मार्ने मुद्दा दर्ता गर्छन्। पुलिस स्टेसनमा यौन हिंसाको विरुद्द मुद्दा दर्ता गराएकी मिलन पुलिसद्वारा आफैं पक्राउ पर्छे।
फिल्ममा अदालतको दृश्य नै कथानक अघि बढाउने स्थान बनेको छ। मिनल, फलक र एन्ड्रियाको तर्फबाट मुद्दालाई अघि बढाउने वकिलको भूमिकामा अभिताभ बच्चनले अदालतमा गरेको प्रश्न, समाजले केटीहरूको चरित्रमाथि कसरी लाञ्छना लगाउँछ भनेर गरेको सवाल र खोजेको प्रमाण, वजनदार संवाद नै यो फिल्मको गहना हो। राजवीरले मिनलविरुद्ध ज्यान मार्ने मुद्दा दर्ता गरेपछि फिल्मको कथाले गति लिन्छ।
रक सोमा गएर रक्सी खाएकै भरमा मिनलको चरित्रलाई कम आँक्ने र जबरजस्ती गर्न खोज्ने राजवीरको विरुद्धमा निवेदन दर्ता गराएकी उसले पुलिसबाट कुनै सहयोग पाउदिन। फलकलाई जागिरबाट निकालिन्छ। उनीहरूलाई कलगर्लको रूपमा पुष्टि गर्न राजवीर र उसको वकिल लागिपर्छ। राजनैतिक पावरका आधारमा राजवीरले मुद्दालाई उल्टो घुमाउँछ। पुलिस अफिसरलाई प्रभावमा पार्छ। मिनलविरुद्ध ज्यानकेस दर्ता गराएर उसलाई पक्राउ गर्छ। फिल्मले यही मुद्दालाई बोकेको छ।
पैसाको लागि राजवीरलाई फसाउन लागेको भन्दै मिनललाई कलगर्ल करार गर्न लागेको वकिल र मिनलको समूहलाई न्याय दिलाउन लागेको वकिलको बहसमै फिल्मको दृश्य समेटिएको छ। फिल्म हेर्दै गर्दा फिल्म कम र अदालतको बहस बढी लाग्छ। यसैक्रममा मिनलले टच नगर भन्दाभन्दै समाउन पुगेको राजवीरको सन्दर्भ जोड्दै अभिताभ भन्छन्, ‘नो को मतलव नो नै हो। उसलाई बोल्नेवाली केटी कोही कलगर्ल होस् या कोही फ्रेन्ड अथवा गलफ्रेन्ड नै किन नहोस्। कोही सेक्सवर्कर होस, या पत्नी नै होस्। नो मिन्स नो। यसलाई कुनै स्पष्टीकरण, प्रमाणको जरुरत पर्दैन। नो आफैंमा पूर्ण वाक्य हो।’
अदालतमा पटकपटक मिनलहरूको चरित्रमा सबाल उठाइन्छ। रातको समयमा घरबाहिर निस्कने केटीको चरित्र सही हँुदैन भनेर प्रमाणित गर्न खोजिन्छ। मिनलको भर्जिनिटी माथी प्रश्न फ्याकेर होस या फलकको प्रेम सम्बन्धलाई गलत दर्शाउन अनेक तरहका लाञ्छना लगाएर होस् राजवीर र उसको वकिल अनेक तिकडम गरिरहन्छन्।
यसैक्रममा मिनलको बचावटमा लागेका दीपकको भूमिकामा रहेका अभिताभले केटीहरूके चरित्र समयले निर्धारण गर्ने गलत सामाजिक परम्पराविरुद्ध अदालतमा सबाल गरेका छन्। उनी भन्छन्, ‘रातको समयमा केटीहरू जब सडकमा निस्कन्छन् गाडीहरूको स्पिड कम हुन थाल्छ। गाडीका सिसाहरू तल सर्न थाल्छन्। केटीहरूको चरित्र समयले गर्ने गर्छ हाम्रो समाजमा।’
अनिरुद्ध राय चौधरीले निर्देशन गरेको यो फिल्मले संवादमा उठाएको विषय प्रभावशाली छ। फिल्मको पटकथा रितेश शाहले लेखेका हुन्। पवन कुमार र रश्मि शर्माको समूहले बनाएको यो फिल्मले सन् २०१६ मा स्टोरी अफ द इयरको ट्यागसमेत प्राप्त गरेको थियो। चलचित्रले समाजका चलन, केटीहरूप्रतिको दृष्टिकोण र हेराइ, ससाना कुराहरूले कसरी केटीको चरित्र माथि नै प्रश्न उठाइन्छ भनेर प्रस्ट पारेको छ। बिरामी श्रीमती अस्पतालमा भर्ना गरेर स्याहार गरिरहेको दीपक ‘अभिताभ बच्चन’ केटीहरूको आत्मनिर्भरता, चञ्चलता, संघर्ष देखेर मनमनै खुसी देखिन्छन्। उनीहरूलाई कहिले मर्निङ वाकमा भेट्छ न त कहिले कामबाट फर्कंदै गर्दा बाटोमा। दीपकले मिनलको समूहमा अप्ठ्यारो परेको थाहा पाउँछन्। कानुनी सहयोगको लागि उनीहरूलाई सघाउँछ। उसले मिनलको मुद्दामार्फत केटीहरूका विषयमा जज गरिने तमाम सामान्य बानीहरूमाथि सबाल उठाएको छन्।
बहसकै सन्दर्भमा उनी भन्छन्, ‘ हाम्रो समाजको नियमअनुसार, कुनै पनि केटीले कोही केटाका साथ बसेर रक्सी पिउन हुँदैन। कोही यस्तो गर्यो भने केटालाई यो सोच्न छुट छ कि केटी मसँग बसेर रक्सी पिउन सक्नु भनेको, मसंग सेक्स गर्नका लागि पनि इन्कार गर्दिन। रक्सी केटीको लागि खराब चिज बन्न सक्छ भने केटाका लागि किन बन्दैन ? जिन्स लगाउन, छोटा कपडा लगाउन केटीको लागि त केही हुँदैन तर केटाको लागि खतरा हुन जान्छ। केटीको लुगा देखेर केटाहरू उत्तेजित हुन्छन्। यसो गर्न केटाका लागि छुट छ।’
सवा दुई घण्टाको यो फिल्मले दर्शकको मन जित्छ। फिल्मको कथावस्तुभन्दा पनि मुद्दाको क्रममा उठाइएको सबाल नै वजनदार छ। ससाना कुराहरूमा हामीले कसरी महिलालाई तल्लो दर्जाको ठान्छौं र पुरुषकै समान बानीहरूमा उनीहरूलाई गलत सावित गर्छौं मुख्य रूपमा उठाइएको छ। तापसी पन्नु, कीर्ति र अभिताभको भूमिकाले दर्शकलाई तानिराख्छ। हाम्रो समाजको यथार्थलाई उठान गरेको यो फिल्म फुर्सदको बेला समय बिताउने गतिलो खुराक बन्न सक्छ।