किसानका लागि यस्तो सहकारी
बुटवल : कोरोना महामारी नियन्त्रणका लागि गरिएको लकडाउनपछि तिलोत्तमा-१५ टिकुलीगढका किसान अरबिन्द केवटको तरकारी बिक्री भएन्। खेतमा रहेको तरकारी बिक्री नभएपछि उनी निराश थिए। उनी आवद्ध जनउत्थान सहकारीका कर्मचारीले फोन गरे। ‘तरकारी बिक्री भएको छैन भने सहकारी बेच्दिन्छ’ यो सुनेपछि उनी खुसीले गदगद भए।
जनउत्थान सहकारीले लकडाउनमा आफ्ना सबै सदस्य किसानको तरकारी बिक्री गर्यो। सहकारीकी अध्यक्ष ज्ञानु पौडेल भन्छिन,‘लकडाउनको अवधिमा करिव आधा करोडको तयारी बिक्री भएछ। किसानले उत्पादन गरेको तरकारी सस्तो मुल्यमै उपभोक्ताको घरमा पुग्यो।’ तिलोत्तमा र भैरहवा बजारमा तरकारी खपत भयो।
सहकारीमा १९ हजार ३ सय बढी सदस्य छन्। तीमध्ये अधिकांश कृषिमा आश्रित छन्। सहकारीले किसानको उत्पादन बिक्रीका लागि टिकुलीगढस्थित आफ्नै कार्यालय परिसरमा हाट बनाएको छ। सोही हाटमा आउने तरकारी बिक्री गर्छन्। लक्ष्मी सुनार अटो रिक्सामा तरकारी बेच्न ल्याउछिन्। ‘दिनको ४-५ को बिक्री हुन्छ’, उनले भनिन्। सहकारीबाटै लगेको सहुलियत ऋणबाट उनी तरकारी उत्पादनमा लागेकी हुन्।
१ अर्ब ७७ करोड पुँजी भएको सहकारीले विपन्न र कृषिमा आश्रित किसानलाई अर्थ उपार्जनमा मद्यत गरिरहेको छ। बाख्रा पालनका लागि बिना ब्याज ऋण उपलब्ध गराउछ। हरेक वर्ष १२ जना किसाने यो रकम पाउछन्। ब्याज तिर्नेहरुका लागि पनि सहकारीको ब्याज निकै सस्तो छ।
सहकारीले कुल पुँजीको ४३ प्रतिशत कृषि उत्पादनमै लगानी गरेको छ। १ अर्ब ३६ करोड लगानी गरेको सहकारीले कृषिबाहेक घरजग्गा, सवारी साधन, साना व्यवसायमा लगाएको छ। कृषिमा ऋण लिनेले ११ प्रतिशतमा ब्याजदरमा ऋण पाउछन्। ५ लाखसम्म ऋण लिनेले धितो बुझाउनु पर्दैन। ‘जमिन नभएर ऋण पाइएन भन्ने समस्या सदस्यले भोग्नु पर्दैन, अध्यक्ष पौडेल भन्छिन,‘उत्पादनमुलक काममा सकेसम्म सहुलियत ऋण दिने योजना छ।’ किसानले सहकारीबाट ५० लाखसम्म ऋण पाउँछन्। बचत गर्नेले पनि ११ प्रतिशत ब्याज पाउँछन्।
बुटवल–भैरहवाकै अधिकांश सहकारीमा कृषि पेशा गर्नेले पनि १४ देखि १८ प्रतिशत ब्याज लिने गरेका छन्। धेरै नाफा कमाएर धेरै शेयर हुनेले पैसा कुम्ल्याउने प्रवृति छन्। तर जनउत्थानले विपन्न सदस्यलाई सहुलियत र शेयर राख्नेलाई पनि १८ प्रतिशतसम्म बोनस बाढ्दै आएको छ। गत वर्ष ६ करोड नाफा आर्जन गरेको व्यवस्थापक रनबहादुर थापाले बताए।
सहकारीले ब्याज उठाएर बढी नाफा आर्जन गर्ने भन्दा कृषि उत्पादन बढाउने योजना बनाएको छ। कृषिमा लगानी गर्दा विपन्न समुदायको आर्थिकस्तर उकासिने भन्दै साधारणसभाले नै सञ्चालक समितिलाई यो अधिकार दिएको हो।
शेयर सदस्यको स्वास्थ्यो उपचारमा पनि सहकारीले सहुलियत दिएको छ। सहकारी सदस्य परिचय–पत्रको आधारमा मणिग्रामको क्रिमशन अस्पताल, भैरहवाको युनिभर्सल मेडिकल कलेज र सिद्धार्थ सिटी अस्पतालमा ११ देखि २० प्रतिशतसम्म छुटको व्यवस्था छ। बुटवल–भैरहवाको माइक्रोबसमा पनि सदस्यले २० प्रतिशत छुट पाउछन्। सहकारीका सदस्यका छोराछोरीले पढ्ने विद्यालयको भौतिक पूर्वाधारमा समेत लगानी गरिएको छ। हरेक वर्ष छात्रवृद्धि वितरण हुन्छ।
मुलुककै उत्कृष्ट बन्दै कैयौं पुरस्कार पाएको सहकारीको नेतृत्वमा महिला छन्। १४ जना सञ्चालक समितिमा १० जना महिला छन्। अध्यक्ष, सचिव, कोषाध्यक्षसहितका सञ्चालक महिला हुन्। सहकारी रुपन्देहीको सबैभन्दा धेरै कर तिर्ने संस्था पनि बनेको छ।
सुपौलीमा कृषि गाउँ
सहकारीले कोटिहवाकै सुपौली गाउँमा सामूहिक धान खेती गरेको छ। सहकारीमा आवद्ध रहेका सदस्यको एउटा समूह निर्माण गरी उनीहरुकै खेतमा सामूहिक रुपमा खेती गरिएको हो। सामूहिक खेती यस क्षेत्रमै पहिलो हो।
यो मोडल सरकारी बजेटमा हरेक वर्ष आउने चक्लाबन्दी जस्तै हो। सरकारी योजना कागजमा मात्रै सिमित भइरहदा सहकारीले रोलमोडलका रुपमा थालेको छ। सहकारीकी अध्यक्ष पौडेलले कृषि उत्पादन बढाउन र विपन्न किसानको जीवनस्तर उकास्ने गरी सहकारीले काम गरिरहेको बताइन्। सहकारीले यो कृषि गाउँका लागि १५ लाख रुपैयाँ र एकजना विएस्सी एजी पास कर्मचारी अनुदान दिएको छ।
सुपौली कृषि गाउँमा ४७ घर परिवार आवद्ध छन्। २६ बिगाहा चार कठ्ठा जमिनमा रोपाई गरिएको छ। दुई कठ्ठा मात्रै खेत भएका समेत यो समूहमा छन्। सबै खेतलाई चार खण्डमा विभाजन गरिएको छ। कृषि गाउँका संयोजक मेघराज पुनका अनुसार यो खेतको तीन खण्डमा गोरखनाथ र एक खण्डमा सावा मन्सुली धान लगाइएको छ।
‘३ सय ५४ किलो गोरखनाथ र २ सय ४५ किलो सावा मन्सुलीको धानको बिउँको ब्याड बनाइएको थियो, सोही ब्याडका धान एकैसाथ रोपेका छौं, संयोजक पुनले भने। धान रोप्नका लागि पानी, जोताई, बीउँ र मलखाद खर्च सहकारीको अनुदानमा भएको छ। १५ लाख अनुदानमध्ये केही रकम बचेको र धान पाक्ने बेलासम्म मल छर्न पुग्ने संयोजक पुनले बताए।
सामूहिक धान खेतीका फाइदा धेरै छन्। धानको ब्याड एकै स्थानमा राखिने भएकाले हरेक व्यक्तिलाई झन्झट हुँदैन। खेत जोत्ने काम एकै पटक हुन्छ। रोपाई एकैनाशले हुन्छ। खेतमा पानी लगाउनका लागि हानथाप गरिरहनु परेन। एक दिन एउटा ब्लक र अर्को दिन अर्को ब्लकमा लगाइन्छ। धानको बीऊँ खोजिरहनका लागि ४७ घर नै धाउन परेन। समितिले काम गर्छ। मल अभाव भइरहेका बेला भौतारिनु पथ्र्थो। अहिले सामूहिक खेती गर्दा एकैसाथ मल आएको छ।
सामूहिक धान खेतीले उत्पादनमा पनि फाइदा हुन्छ। कसैका खेतमा कम उत्पादकत्व र कसैकोमा बढी हुनसक्थ्यो। सामूहिकखेती भएपछि सबैको हिस्सा जमिन अनुसार बराबर हुन्छ। खेतमा काम गर्ने मजदुरको अभाव हुदैन। सामूहिकखेतीमा जोडिएका परिवारबाटै मजदुरहरु स्वर्तस्फूर्त रुपमा आउछन्। मजदुरले तोकिएको ज्याला पाउछन्।
धान गोडमेल, कटान, भित्र्याउने काम समेत समूहमै हुन्छ। धानको रखेदेखका लागि समितिले कर्णबहादुर पुनलाई जिम्मेवारी दिएको छ। यो खेतीमा उन्नत बीऊ समेत उत्पादन हुन्छ।
सहकारीले १० वर्षको रणनीतिका रुपयमा यो योजना अगाडि बढाएको हो। सामूहिकखेती भएको सुपौली गाउँलाई होमस्टेका रुपमा विकास गर्ने योजनासमेत छ। अध्यक्ष पौडेल भन्छिन, सहकारी अध्ययन केन्द्र बनाउने योजना हाम्रो हो, यसको सफलता हेरेर अन्य क्षेत्रमा काम गर्छौँ ।’
प्रदेश ५ की भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री आरती पौडेलले असार १५ मा यो सामूहिकखेतीमा धान रोपिन। उनले सरकारले बनाएको चक्लाबन्दीको योजना यस्तै रहेको बताइन। ‘सरकारले चाहेको खेती प्रणाली यही हो, यो निकै उत्कृष्ट काम छ। अन्य सहकारीले जनउत्थानको अनुकरण गर्नुपर्छ, उनले भनिन्।