पोखरामा बाढी-पहिरो : ७ जनाको मृत्यु, ६ घाइते, जमिन भासियो
पोखरा : अबिरल वर्षाका कारण पोखरा महानगरपालिकाका विभिन्न स्थानमा बिहीबा राती पहिरो जाँदा ७ जनाको मृत्यु भइको छ । पोखरा १८ सराङ्कोटस्थित गोठादीमा राती करिब २ बजे पहिरो गई ५० वर्षीय टंकबहादुर थापा मगरको घर पुरिँदा ५ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता प्रहरी नायब उपरीक्षक सुवास हमालले जानकारी दिए ।
थापासहित श्रीमती र दुईजना नाती नातिना र एकजना जन्मदिन मनाउन आएका पाहुनाको मृत्यु भएको मृतक टंकबहादुरका साइला दाजु सोमबहादुरले जानकारी दिए । टंकबादुरकी जेठी छोरी पिकीको बिहीबार जन्मदिन थियो । घाइते ५ जनामा मनिपाल शिक्षण अस्वताल र एकजनाको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा उपचार भइरहेको प्रहरीले बताएको छ ।
पोखरा ५ पस्याङमा घर नजिकै भासिएको जमिन ।
यसै गरी पोखरा महानगरपालिका वडा नम्बर २५ हेमजामा पहिरोले पुरिदा ७० वर्षीय भिमकली अधिकारी र पोखरा २६ लेखनाथमा पहिरोले घर पुरिँदा दुर्गाबहादुर सुनारको मृत्यु भएको प्रहरीले बताएको छ । यसैगरी पोखरा १८ सिमलटुँडामा गएको पहिरोले स्थानीय चन्द्रबहादुर मगरको घर पुरिँदा चन्द्रबहादुर उनकी श्रीमती शान्ति र छोरा सुशान घाइते भएका छन् । अविरल वर्षाको कारण पोखराको रामघाटस्थित सेती नदी थुनिदा सुकुम्बासी बस्ती डुवानमा परेपछि बिहीबार राति नै सुरक्षा कर्मीले उद्धार गरेका थिए ।
पोखरा १८ सराङ्कोट स्थित गोठादीमा गएको पहिरोले पुरिएको स्थानीय टंकबहादुर थापा मगरको घर ।
रामघाट क्षेत्र अहिले ताल बनेको छ । यसैगरी वर्षाकै कारण पोखरा ५ पस्याङमा गोपाल कोइरालाको घर नजिकै जमिन भासिदा घर जोखिममा परेको छ ।