म्याग्दीमा बाढी र पहिरोको वितन्डा : एकको मृत्यु, ३३ बेपत्ता, प्रहरी भवन भत्कियो (भिडियाे)
बेनी : म्याग्दीमा शुक्रबार बाढीले बगाएर एकजनाको मृत्यु र एकजना वेपत्ता भएका छन् । रघुगंगा गाउँपालिका-६ ठाडाखानीको लापु खोलाले बगाएर ५० वर्षीय नलीमान छन्त्यालको मृत्यु भएको प्रहरी निरीक्षक ध्रुवप्रसाद शर्माले बताए ।
गाईभैसीलाई घाँस दिन गोठमा जाने क्रममा छन्त्याललाई बगाएको थियो । घटनास्थलदेखि ३०० मिटर तला उनको शव भेटिएको छ । यसैगरी मालिका गाउँपालिका-६ को दुखु खोलाले बगाएर स्थानीय ४० वर्षीया गीता रोकालाई वेपत्ता बनाएको छ । खोला तर्ने क्रममा वेपत्ता भएकी रोकाको खोजी जारी छ ।
यसैगरी बेनी नगरपालिका-७ मंगलाघाटमा रहेको प्रहरी विटको भवन म्याग्दी नदीको कटानले भत्किएको छ । नदी किनारमा लगाइएको पर्खाल कटान भएपछि भवनको एउटा कोठा भत्किएको हो । चौकीका सामान बेनी बजारमा रहेको जिल्ला प्रहरी कार्यालयमा सारिएको छ । बेनी नगरपालिकाले निर्माण गरेको तीन कोठे भवनमा २०७५ मा प्रहरी बिट स्थापना भएको थियो ।
म्याग्दीको धवलागिरी गाउँपालिका-६ मराङको राम्चे, रिख, कल्लेनी, कुम्री, ठूलोगाउँमा गएको पहिरोमा २४ जना हराइरहेका छन् । मालिका गाउँपालिका-७ बिमको नौरु, तल्लोगाउँ, दुलेको पहिरोमा आठजना वेपत्ता छन् ।
सुरक्षाकर्मी घटनास्थल पुगेर वेपत्ताको खोजी र उद्धारमा जुटेका सिडिओ ज्ञाननाथ ढकालले बताए । भौगोलिक विकटता, सडक तथा पैदलमार्ग अवरुद्ध भएको र निरन्तरको वर्षाले समस्या भएको छ ।