सीमामा आरडिटीकै भर
जोमसोम : सरकारले गत असार २२ गते द्रुत परीक्षण (र्यापिड डाईगोनोष्टिक) आरडिटी परीक्षण विधि स्थगित गर्ने निर्णय गरेपनि हिमाली जिल्ला मुस्ताङ प्रवेश गर्ने सिमानाका घाँसामा अझै आरडिटी परीक्षणले निरन्तरता पाइरहेको छ। जिल्ला कोभिड-१९ क्राइसिस मेनेजमेन्ट कमिटी मुस्ताङले आरडिटी परीक्षण रोक्ने केन्द्रबाट आधिकारिक निर्देशन प्राप्त नभएको जनाएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र अनशनरत सत्याग्रही युवाहरुबीच यही असार २२ गते सोमबार कोरोना रोकथाम तथा नियन्त्रण र व्यवस्थापन सम्वन्धमा १२ बुदे सहमति भयो। सहमतिमा स्वास्थ्य मन्त्रालयले आरडिटी परीक्षण स्थगन गर्ने जनाएको थियो। सरकारले आरडिटी विस्थापित गरी पिसिआर परीक्षणको दायरालाई फराकिलो बनाउने उद्देश्य लिए पनि मुस्ताङ प्रवेश गर्नेलाई आरडिटीकै सहायता लिनुपर्ने बाध्यता रहेको प्रमुख जिल्ला अधिकारी वेदप्रकाश अर्यालले बताए। सरकार यस सम्बन्धि हटाउने निर्णय गरेमा यसको नयाँ विकल्प खोजिनुपर्ने देखिएको बताए।
कोरोनाका कारण सिर्जना भएको करिब ४ महिना लामो लकडाउनमा मुस्ताङमा हालसम्म करिव २ हजार जना जिल्ला भित्रिएका छन्। मुस्ताङको सीमा नाकामा जेठदेखि आरडिटी थालिएको हो। यसअघि मुस्ताङ प्रवेश गरेकालाई होम क्वारेन्टाइन र क्वारेन्टाइनमा बस्न लगाइएको थियो। जेठपछि मुस्ताङ प्रवेश गर्नेलाई सीमामा कोरोना शिविर स्थापना गरी आरडिटी अनिवार्य गरिएको थियो। प्रारम्भिक चरणको सम्भावित कोरोना भाइरस पहिचानको माध्यमका रुपमा प्रयोग भइरहेको आरडिटी अहिले देशका अधिकांश जिल्लामा बिस्थापित भइसकेका छन्।
लगातारको लकडाउन म्याद थपिदै गएपछि जिल्ला फर्किन ढिला भएका मुस्ताङी र यहाको असारे विकास निर्माणको काम आउने मजदुरलाई आरडिटी परीक्षणकै माध्यमबाट जिल्ला भित्र्याउने अनुमती दिने व्यवस्था भएको जिल्ला स्वास्थ्य कार्यालय मुस्ताङका प्रमुख टिकाराम भण्डारीले जानकारी दिए। उनले सीमामा आरडिटी नेगेटिभ आएकालाई होम क्वारेन्टाईमा बस्न लगाउने र पोजिटिभ देखिएकालाई क्वारेन्टाइनमा राखेर स्वाब नमूना पोखरा पठाउने गरिएको बताए। मुस्ताङबाट स्वाब संकलन गरी प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला पोखरा पठाउँदा खर्चिलो देखिएको छ। सीमामा आरडिटी पोजिटिभ देखिएपछि स्वाब संकलन गरीएको र सिमित स्वाब नमूना ढुवानीमा प्रति टिपको १८ हजार पर्ने देखिएको छ। स्वाब ढुवानीका लागि जिल्लाका ५ वटै स्थानीय तहले जिल्ला विपत कोषमा २ लाख रकम जम्मा गर्ने निर्णय समेत भएको थियो।
पछिल्लो समय मुस्ताङमा करिव १४ सय व्यक्तिको आरडिटी परीक्षण र ७१ जनाको पिसिआर परीक्षण भएको छ। जसमा काठमाडौंबाट मुस्ताङ आएका एक ८३ वर्षीय वृद्धलाई कोरोना पोजिटिभ देखिएकोमा दोश्रो पटकको परीक्षणमा उनको पनि रिपोर्ट नेगेटिभ आएपछि जिल्ला कोरोना मुक्त रहेको स्वास्थ्य प्रमुख भण्डारीले बताए।
जनस्तरबाट पनि आरडिटी परीक्षण भरपर्दो नभएको भन्दै गुनासो बढेको थियो। चीनले मुस्ताङलाई दुई चरण गरी करिव १५ सय थान आरडिटी उपलब्ध गराएको थियो। यस्तै संघ तथा प्रदेश सरकार र विभिन्न व्यक्ति र संस्थाले समेत आरडिटीलगायत स्वास्थ्य सामाग्री उपलब्ध गराएको स्वास्थ्य प्रमुख भण्डारीको भनाई छ।
त्यस्तै मुस्ताङमा एक जना कोरोना पोजिटिभ व्यक्ति निको भई घर पठाइएपछि मुस्ताङका सबै स्थानका क्वारेन्टाइन र आइसोलेसन खाली भएको जिल्ला क्राईसिस म्यानेजमेन्ट कमिटीले जनाएको छ। जिल्लाका स्थानीय तहले व्यवस्था गरेको १६ स्थानका ९६ बेड रहेको पुरै क्वारेन्टाइन खाली भएको छ। थासाङको लेते प्राथमिक स्वास्थ्य केन्द्र ,थासाङकै कोवाङको स्वास्थ्य केन्द्र र जोमसोम अस्पतालमा व्यवस्था गरिएको आइसोलेसन कक्ष खाली छ। अहिलेसम्म करिव एक सयले क्वारेन्टाइन मापदण्ड पुरा गरे भने केहीलाई आइसोलेसनमा भर्ना गरिएको थियो।
जिल्लामा आउजाउ गर्ने मालवाहक सवारीका चालक तथा सहचालकलाई १४ दिनको फेरोमा आरडिटी गर्ने व्यवस्था गरिएको घासा प्रहरी चौकीका ईञ्चार्ज निमप्रसाद तिमिल्सिनाले जानकारी दिए। यसअघि जिल्ला सिसिएमसीले संक्रमित जिल्लाबाट फलफुल तथा तरकार र मासुजन्य पदार्थ जिल्ला भित्र्याउन प्रतिबन्ध लगाए पनि पछिल्लो समय यसलाई खुकुलो पारेको छ।