लक्ष्य बलिउड
‘जिन्दगीमा हरेक पल परीक्षा चलिरहेजस्तै लाग्छ। एक एक स्टेप गरेर उकाली उक्लिरहनुपर्ने। जसरी सुरुआती खुट्किलो नचढी नसिकी चुचुरो पुग्न सकिन्न, त्यस्तै हो जिन्दगीको आयाम पनि। हिँड्न नसकी दौड्न नजानिने। एउटा स्टेपमा अडिसन दिएपछि अर्को स्टेपमा पुग्न पाइन्छ, जस्तै अभिनयकै अडिसन। पात्रअनुसार, ठाउँ अनि घटनाक्रमअनुसार अडिसनमा सफल हुनुपर्ने बाध्यता। साँच्चै अडिसनजस्तै लाग्छ मलाई जिन्दगी पनि’, कलाकार तथा मोडल सभ्यता गिरी आफ्नो जीवन र अडिसनको सम्बन्ध प्रस्ट्याउँदै थिइन्।
दोलखाकी रैथाने सभ्यता गिरी पाँच वर्षदेखि बलिउडमा संघर्ष गरिरहेकी छन्। उनले नेपालमा पनि फिल्म, म्युजिक भिडियो तथा विज्ञापनको काम सँगसँगै अघि बढाइरहेकी छन्। उनले हिन्दी भाषाका नाटक, पन्जावी र मराठी भाषाका स्थानीय नाटकमा समेत अभिनय गरेकी छन्। यसका साथै विज्ञापन, वेब सिरिज, क्राइम पेट्रोल, सावधान इन्डिया, गुमराह, तुमविन जिया लगायतका टेलिसिरियल र केही सर्ट हिन्दी फिल्ममा अभिनय गरेकी छन्।
दुई हप्ताअघि ‘पसन्द आया’ बोलको उनको हिन्दी गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ। यो गीतमा भारतीय मोडल भूषण पटेलसँग सभ्यताको अभिनय देख्न सकिन्छ। हिन्दी गीतको रोमान्टिक सिनमा उनी गजबले नाचेकी छन्। स्कुटर चलाएर कतै गइरहेको दृश्यमा उनी निकै खुलेकी छन्। भारतको चर्चित म्युजिक कम्पनी जी म्युजिकले बजारमा ल्याएको यो गीतमा प्रतिभा शर्माको स्वर छ।
मुम्बईमा गीतको भिडियो सुटिङ गर्दाको पल सम्झँदै उनी भन्छिन्, ‘सुटिङकै क्रममा कुनै निजी गार्डेनमा तीन घण्टा रोकिनु परेको थियो।’ यो म्युजिक भिडियोका निर्देशक आनन्द राउतले केही समयअघि सभ्यताले अभिनय गरेको नाटक हेरेका थिए। उनको अभिनयमा केही विशेष देखेका राउतले सभ्यतालाई ‘पसन्द आया’ बोलको गीतमा छनोट गरेका हुन्। भिडियो सुटको अनुुभव सुनाउँदै उनी भन्छिन्, ‘केही सिनको सुुट सकिएपछि लन्च ब्रेक भएको थियो। यसपछि मेरो स्कुटरमा हिँड्नुपर्ने सिन थियो। यसका लागि म स्कुटर लिएर सुटिङ स्थलबाहिर निस्किएकी थिएँ। अलि पर निकै सुन्दर, प्राकृतिक सिन भएको ठाउँ देखँे। क्यामरा म्यानलाई भनेर केही फोटो खिच्दै थियौं। हामीलाई त्यहीँ रोकियो। त्यो व्यक्तिगत बगैंचा भएकाले क्यामरा लान नपाइने रहेछ।’
बलिउडमा नेपाली कलाकारलाई काम र अवसर पाउन सजिलो छैन। एक त भाषाको समस्या हुन्छ, अर्को त्यहाँको सिस्टम, संस्कृति र कडा प्रतिस्पर्धा। हरेक ठाउँमा अडिसनबाटै नाम निकाल्नुपर्छ। अत्यन्तै टप छ कम्पिटिसन। काम पाउन सक्षम बन्नैपर्छ। विज्ञापन होस् या सिरियल वा म्युजिक भिडियो, त्यहाँ सेटमै काम गर्ने हो। कतिपय लेखक पनि सेटमै हुने हुँदा तत्कालै संवाद जानिसक्नुपर्ने हुन्छ। एउटा काममा सफल अभिनय गरे पनि पुनः अर्को कामका लागि अडिसन नै दिनुपर्छ। लामो लाइन हुन्छ अडिसनमा।
सानैदेखि कलाकार बन्न रहर गर्ने सभ्यता पाँच वर्षअघि अभिनय पढ्न मुम्बई गएकी हुन्। उनको परिवार व्यापार व्यवसायमा संलग्न थियो। उनलाई पनि व्यापारमै लाग्न आग्रह गरिरहन्थे। कलाकारितामा लाग्न सहयोग गरेनन्। उनी भागेरै मुम्बई पुगेकी थिइन्। नाच्न र अभिनय गर्न खुब मन पराउने उनले कलाकार नै बन्छु भन्ने सपना बोकेकी भने थिइनन्। केही फरक काम गर्न, आत्मनिर्भर बन्न चाहन्थिन्।
मुम्बईमा आर्ट पढ्न जाने योजना बनाउँदै गर्दा घरमा सोधेकी थिइन् उनले तर सकारात्मक जवाफ पाइनन्। केएनके एक्टिङ एकेडेमीमा पढ्न फर्म भरेकी थिइन्। नाम निस्किएपछि उनी घरमा खबर नै नगरी मुम्बई पुगिन्। त्यहीँ बसेर ६ महिने कोर्स पूरा गरिन्। एक्टिङमा ब्याचलर्स गरेपछि थिएटरमा काम गर्न थालिन्। थिएटरको कामले उनलाई भाषा र अभिनय जान्न सहयोग गर्यो।
त्यो बेलाको संघर्ष सम्झँदै उनी भन्छिन्, ‘सुरुआती दिन निकै दुःखदायी थिए। थिएटरमा काम गर्दा एकै दिनमा १०-१२ घण्टा रिहर्सल गनुपथ्र्यो। खाना खाने फुर्सदसम्म हुन्नथ्यो। अभिनय सिक्ने रहरले यी सब दुःख गरिरहेकी थिएँ। मलाई आफू क्षमतावान् बन्नु थियो। भीडमा केही नोटिसमा पर्ने काम गर्नुपर्ने थियो। नाटक खेल्ने क्रममा कहिले अनाथको भूमिकामा हुन्थिन् त कहिले सरकारी वकिलको काम गरिरहेकी हुन्थिन्। कहिले राजकुमारी, कमेडियन, अधिकारकर्मी लगायतका भूमिका गर्दै गर्दा उनले हिन्दी भाषा राम्रो बनाइन्। नाटक हेर्न आउने दर्शकले उनलाई नेपाली हो भनेर चिन्दैनथे।
कामकै क्रममा घरमा गफ गर्दा नेपाली बोल्नुपर्छ भनेर उनले घरमा फोन नै गर्दिनथिन्। संवादकै क्रममा उनले धेरैपटक नेपाली बोलेर दुःख पाएकी थिइन्। हिन्दी बोलिरहेकै बेला फ्याट्ट नेपाली शब्द प्रयोग हुनु मुख्य समस्या थियो उनका लागि।
कलाको कुनै जात, धर्म र भाषा हुँदैन भन्ने सभ्यता कला प्रदर्शन गर्न मेरो देश होइन भनेर रोकिन नपर्ने बताउँछिन्। मुम्बईमा व्यस्त भएका बेला उनी दसंै तिहारसमेत नभनी उतै काम गरिरहेकी हुन्छिन्। आत्मविश्वास नै ठूलो शक्तिका रूपमा लिने सभ्यताले अभिनय सिकाउने व्यक्तिगत गुरु भने नभएको जानकारी दिइन्। पहिलोपटक मुम्बईमा उनले ब्ल्यु डार्क कुरियर कम्पनीको विज्ञापन खेलेर पारि श्रमिक पाएको दिन आफू खुब खुसी भएको बताइन्।
पैसालाई सकारात्मक शक्तिको रूपमा बुझेकी सभ्यता अरूलाई सहयोग गर्न पाउँदा खुसी हुन्छिन्। कामको मामलामा एकदम लगनशील हुने उनको बानी छ। यसैले पनि उनको बलिउड सपना पूरा भइरहेको छ। आफ्ना गल्ती र कमजोरीबाट नयाँ सीप सिक्न रुचाउने उनी नेपालमै पनि बेलाबखत अभिनय गरिरहेकी हुन्छिन्। तर, उनको लक्ष्य बलिउड नै हो।