सञ्चार संकट : अवसर कि चुनौती ?

सञ्चार संकट : अवसर कि चुनौती ?

रहरको लगाम हुँदैन, न त आकांक्षाको कुनै आकार !

मिडियाकर्मी बन्ने मेरो सपना रहर मात्र नभएर एउटा दृढ निश्चय थियो। टेलिभिजनको पर्दामा देखिने समाचारवाचक वा कार्यक्रम प्रस्तोतामा म मेरो भविष्यको छायाचित्र देख्थे। र, मनमनै सोच्थेँ- कुनै दिन म पनि यसैगरी टेलिभिजनका पर्दामा देखिनेछु, प्रस्तोता बनेर।

बाल्यकालमा टेलिभिजनले जति छाप सायदै अरू कुराले पार्‍यो होला। हुन त त्यस बेला मेरो बुझाइमा सञ्चारमाध्यम भनेको टेलिभिजन मात्र त थियो।

मैले भारतमा उच्च माध्यमिक तहको पढाइ सकेँ र नेपाल फर्किएँ। लब्धांकपत्रले मेरो पढाइको स्तर उत्तम देखायो। हाइस्कुलमा विज्ञानतर्फ मेरो बायोलोजी विषय थियो।  
मेरा अभिभावक र आफन्तहरूले भन्न थाले, ‘यसको पढाइ राम्रो छ, डाक्टर वा इन्जिनियर पढाउनु पर्छ।’ त्यस बेला मेरो उत्कट आकांक्षाको कुनै महत्व थिएन। न मलाई डाक्टर बन्नु थियो, न त इन्जिनियर। तर मैले लब्धांकपत्रका अंकहरूसामु घुँडा टेक्नु पर्‍यो।

स्वभावत : म अन्तर्मुखी मान्छे। न मैले आफ्नो सपना साझा गर्न सकेँ, न त कसैले नै मलाई मेरो सपनाबारे सोधे। यो सन् २००४ तिरको कुरा हो। अहिले त महिलाले आफ्नै हिसाबले करिअर छान्न पाउने अवस्था छैन, त्यस बेला मैले मिडियाकर्मी बन्छु भनेर त्यसैअनुरूप आफ्नो पढाइलाई अघि बढाउन पाउनु कसरी ?
मैले मौन रूपमै पारिवारिक आकांक्षालाई स्वीकारेँ र गृहनगर चितवनमै माइक्रोबायोलोजीको अध्ययन सुरु गरँे। तर मेरा लागि माइक्रोबायोलोजी रुचिको विषय थिएन।
कहिलेकाहीँ लाग्थ्यो- सञ्चारकर्मी बन्ने सपना अब यो जुनीमा पूरा हुनेछैन। तत्क्षण अर्को सोच पलाउँथ्यो- विश्वासभन्दा ठूलो तागत केही छैन। अनि, त्यही विश्वासले दिन्थ्यो एउटा भावनात्मक ऊर्जा।
 ०००
सायद सपनाहरू त्यत्तिकै सकिँदैनन्। आकांक्षाहरू अँध्यारोमा पुगेर विलीन हुँदैनन्। नत्र मेरो कानमा चितवनमै नयाँ रेडियो खुलेको खबर पर्ने थिएन। त्यसका लागि ‘नयाँ उत्साहित र जुझारुहरू’को आवेदन मागिएको थाहा पाउने थिइनँ। जसै मेरो कानमा ती खबरहरू आइपुगे, तसै मैले निर्णय लिइहालेँ- एकपटक यहाँ त कोसिस गर्नैपर्छ। अनि केही छिमेकी साथीसँगै म पनि पुगेँ- सिनर्जी एफएमको द्वारमा।

न मसँग कुनै अनुभव थियो न त रेडियोसम्बन्धी सामान्य ज्ञान नै। मलाई सिनर्जी एफएफ पुग्दासम्म पनि कुन पद र के कामका लागि आवेदन दिने हो समेत राम्ररी पत्तो थिएन। न मैले त्यसबारे मेरा परिवारका कुनै सदस्यलाई नै जानकारी गराएकी थिएँ।

रेडियो स्टेसन पुगेपछि थाहा भयो- समाचारवाचक आवश्यक परेको रहेछ। मैले त्यसमै आवेदन दिने निर्णय गरेँ। तत्कालै मलाई अन्तर्वार्ता लिइयो। सहन प्रधान सरले मलाई पत्रिका दिएर समाचार वाचन गर्न लगाउनुभयो। अन्तर्वार्ताका क्रममा पत्रिकाका समाचार वाचन गर्दा पनि मलाई नेपाल टेलिभिजनमा बोलेको जस्तो लाग्यो। मैले त्यस बेलाकी चर्चित समाचारवाचक रमा सिंहको जस्तै आवाज र शैली पछ्याउँदै समाचार पढेँ।

त्यस बेला मलाई महसुस भइरहेको थियो- समाचारवाचकको पद मेरै लागि खुलेको हो। म समाचार वाच्नकै लागि जन्मिएकी हुँ। अनि मेरो जीवनको ध्येय नै कुनै दिन यसैगरी टेलिभिजनमा समाचार पढ्नु हो। अन्तर्वार्ता सकिँदा म हतास र बेचैन अनि खुसी दुवै थिएँ। तर यसबारे मैले घरमा कसैलाई बताइनँ।
०००
केही दिनपछि घरको ल्यान्डलाइनमा फोन आयो। म सिनर्जी एफएममा समाचारवाचक बनेँ। तर मेरो यो खुसीमा मातापिताको उत्साह थपिएन। उहाँहरू चाहनुहुन्थ्यो- म कुनै ‘इज्जतिलो’ पेसा गरूँ।  

पत्रकार बन्ने धोको पूरा गर्न गरेको रेडियो-टिभी संघर्षदेखि प्रयोगकर्ताका हिसाबले भारतको सबैभन्दा ठूलो डिजिटल प्लेटफर्म बनेको विटिफिडको प्रधान सम्पादकसम्मको यो यात्रा प्रेरणादायी त छँदै छ, यसले वर्तमानको दु :खदायी सञ्चार संटक र अबको बाटो पनि संकेत गर्छ।  

मैले एफएममा काम सुरु गरेँ। मेरा लागि त्यो सपनाको एउटा खुट्किलो पार गर्नुजस्तो थियो। त्यस बेला अहिलेजस्तो सामाजिक सञ्जालको दबदबा थिएन। रेडियोहरू पनि कमै थिए। कार्यक्रममा एकखाले गुणस्तर कायम गरिन्थ्यो। पत्रकारिता र सञ्चारकर्मको आचारसंहिताअनुसार काम गर्न प्रेरित गर्ने चलन थियो। रेडियोमा काम गर्नेहरूको चर्चा रातारात चुलिन्थ्यो। फ्यान र श्रोताहरूको प्रशंसाको वर्षा हुन्थ्यो। कतिले हामीलाई नै आदर्श मान्थे। त्यसले पुलकित नहुने कुरै थिएन। खासमा रेडियोमा करिअर बनाउनेका लागि त्यो एकदमै उपयुक्त समय थियो।

रेडियोमा फुलटाइम काम गर्न थालेपछि मैले माइक्रोबायोलोजी छोडेर मानविकीमा स्नातक गर्न थालेँ। इच्छा त पत्रकारिता पढ्ने थियो तर चितवनमा त्यस बेला पत्रकारिताको पढाइ हुँदैनथ्यो। काठमाडौँ जान्छु भन्दा घरबाट अनुमति पाइँदैन भन्ने डर थियो। त्यसैले मैले काठमाडौँ जाने सोच त्यागेँ र चितवनमै स्नातक पढ्न थालँे।
०००
मैले रेडियोमा धेरै कुरा सिक्दै थिएँ। करिअर आरम्भका हिसाबले मेरो समय राम्ररी चलिरहेको थियो। तर हाम्रो नेपाली समाजमा महिलालाई आफ्नै ढंगले करिअर अघि लान कहाँ सहज छ र ? सुरुमा मैले पनि मानसिक संघर्ष गर्नुपर्‍यो।

सञ्चारमाध्यम अझ रेडियोमा बोल्ने महिलालाई धेरैले सकारात्मक नजरले हेर्दैनथे। धेरैले सोच्थे- रेडियोमा हाँस्दै कार्यक्रम चलाउने केटीहरू- ‘चरित्रहीन हुन्छन्।’ तर न त्यसमा सत्यता थियो, न त यथार्थको कुनै हिस्सा। त्यो त थियो- हाम्रो समाजमा गडिएर बसेको लामो समयदेखिको पितृसत्तात्मक सोचको उपज।
तर परिवार र समाजका लागि उदाहरण बन्छु भन्ने दृढ अठोटले मलाई ती आलोचनाहरूलाई बेवास्ता गर्न प्रेरित गर्‍यो। मैले कैयौँ त्यस्ता आलोचनालाई एक कानले सुनेर अर्को कानबाट उडाइदिएँ। कतिलाई सुनेर पनि नसुनेझैँ गरँे।
०००
बिस्तारै सञ्चारमाध्यम फस्टाउन थाले। रेडियो र टीभीहरू खुल्न थाले। प्रतिस्पर्धा बढ्न थाल्यो तर गुणस्तर खस्किँदै गयो। यसै त नेपालको बजारै सानो, त्यसमाथि बग्रेल्ती खुलेका सञ्चार संस्थाहरूका कारण ‘बाँच्नका लागि मात्र जीवित रहने’ प्रणाली विकास भएको आभास हुन थाल्यो।

रेडियोमा आठ वर्ष काम गरिसकेपछि मैले पनि नयाँ अवसरको खोजी गर्न थालेँ। मलाई नयाँ कुरा सिक्नु थियो। नयाँ अनुभव लिनु थियो। त्यसका लागि राष्ट्रियस्तरका सञ्चारमाध्यममा अवसरको खोजी गर्न थालेँ। तर घरपरिवारको अपेक्षाविपरीत आफैँले रोजेको बाटोमा धेरै अप्ठ्याराहरू थिए। मैले तिनको सामना गर्न संघर्ष गर्नुपर्‍यो।

सरकारी च्यानल नेपाल टेलिभिजनमा समाचारवाचकको आवेदन खुला भएको थाहा पाएपछि म आवेदन दिन काठमाडौँ गएँ। लिखितमा मेरो नाम निस्कियो। त्यसपछिको अर्को चरणमा छानिएकाहरूलाई प्रयोगात्मक परीक्षामा एउटा रिपोर्ट तयार गर्न लगाइयो। त्यति बेलाको सबैभन्दा चर्चित विषय तत्कालीन माओवादी अध्यक्ष पुष्पकमल दाहालको पत्रकार सम्मेलनको रिपोर्ट तयार गर्दा म निकै उत्साहित थिएँ। नेपाल टेलिभिजनमा समाचारवाचक बन्ने सपना पूरा हुने भयो भन्ने कुराले ढुक्क थिएँ। त्यो मेरो आत्मविश्वास थियो वा अति आत्मविश्वास थाहा भएन, म त्यही चरणबाटै फालिएँ।

पछि थाहा भयो, जुन समाचारवाचक छानिएकी थिइन्, उनको ‘राम्रो ठाउँमा पहुँच’ रहेछ, र हाम्रो देशमा अवसर पाउन योग्यतासँगै पहुँच पनि चाहिने रहेछ। अझ भनौँ, योग्यताभन्दा पहुँचको कदर हुने रहेछ।   

मैले नेपालकै राष्ट्रिय टेलिभिजनहरूमा समाचारवाचक बन्ने अवसर त पाइनँ तर सन् २०१२ मा भारतको एउटा टेलिभिजनमा अवसर पाएँ। त्यो मेरा लागि अवसरको अर्को खुड्किलोका साथै चुनौतीको पहाड पनि थियो। एक त म घरदेखि टाढा अर्को मुलुकमा काम गर्न गइरहेकी थिएँ, अर्को आफ्नो मातृभाषाभन्दा भिन्न भाषामा काम गर्नुपर्ने भएकाले त्यसलाई तिखार्नुपर्ने आवश्यकता थियो।

रेडियोबाट टीभीमा स्थानान्तरण हुँदा सिक्नुपर्ने कुराहरू धेरै थिए। तिनलाई मैले आत्मसात् गर्दै गएँ। दुई वर्ष त्यो टेलिभिजनमा काम गरिसकेपछि मैले अर्को टीभीमा काम गर्ने अवसर पाएँ। पहिलो टीभीभन्दा दोस्रोमा प्रस्तुत हुने समाचार सामग्रीको दायरा फरक थियो। त्यसले पनि मलाई धेरै कुरा सिकायो।
तर अब परम्परागत माध्यमहरू रेडियो वा टेलिभिजनको मात्र ज्ञानले कुनै पनि सञ्चारकर्मीले आफ्नो सञ्चारकर्मलाई निरन्तरता दिने अवस्था थिएन।

सामाजिक सञ्जालको व्यापक विस्तारले सञ्चारकर्मीले पनि आफ्नो सीपको दायरा बढाउनुपर्ने अवस्था आयो। पहिले एउटा मात्र माध्यम (प्लेटफर्म)मा कार्यरत पत्रकार अब बहुमाध्यम (मल्टिपल प्लेटफर्म)मा अभ्यस्त हुनुपर्ने अवस्था आयो। सामाजिक सञ्जालको विस्तारले परम्परागत मिडियाप्रति अडियन्सको हेर्ने नजरमा परिवर्तन आउन थाल्यो। सामग्रीको खपत (कन्टेन्ट कन्जम्सन)को शैली बदलियो। समग्रमा डिजिटल माध्यम नै सबैभन्दा प्रभावकारी माध्यम बन्न थालेको थियो।
अनि मैले पनि टेलिभिजनबाट बिदा लिएर डिजिटल माध्यमलाई आफ्नो कार्यक्षेत्र बनाउने निधो गरेँ।

सन् २०१५ मा मैले भारतको एउटा डिजिटल स्टार्टअपमा अवसर पाएँ। डिजिटल मिडिया मेरो लागि नयाँ थियो। रेडियो र टीभीको अनुभव केही हदसम्म काम लाग्ने भए पनि कम समयमा धेरै कुरा सिकेर आफैँले आफूलाई प्रमाणित गर्नुबाहेक कुनै विकल्प थिएन।

मैले रोजेको बाटो सजिलो पक्कै थिएन। सजिलो बाटो रोजेर फरक गन्तव्यमा पुग्छु भन्ने सोचेर पनि नहुने रहेछ। डिजिटल मिडियामा मैले हरेक कुराहरू शून्यबाट सिकेँ। मेरै कार्यकालमा भाइरल कन्टेन्ट क्रिएटर विटिफिड, प्रयोगकर्ताका हिसाबले भारतको सबैभन्दा ठूलो डिजिटल प्लेटफर्म बन्यो। म त्यसको प्रधानसम्पादक बनेँ। त्यो मेरो करिअरको एउटा सफलता थियो।
पाँच वर्ष विटिफिडमा बिताएपछि स्वतन्त्र सञ्चारकर्मीका रूपमा काम गर्ने उद्देश्यले मैले काम छाडेँ। हुन त म आफूलाई सञ्चारकर्मीभन्दा पनि स्टोरी टेलर भन्न रुचाउँछु। म अहिले स्टोरी टेलिङकै दुनियाँमा रमाइरहेकी छु र आफ्नै प्लेटफर्म चलाइरहेकी छु। सञ्चार क्षेत्र र सञ्चारको उद्देश्यबारे मेरो दृष्टिकोण फरक भएको छ्र। एउटा स्टोरीमा आउने १० हजार क्लिक्सभन्दा ‘तपाईंको आर्टिकल पढेर मैले आफूमा यो परिवर्तन ल्याएँ’ भन्ने एउटा सन्देशलाई मैले सही अर्थमा सफलता मानेकी छु।   
०००
इन्टरनेटको विस्तारसँगै सञ्चारमाध्यमको परिभाषामा परिवर्तन आएको छ। मिडिया भन्नेबित्तिकै अहिले सोसल मिडिया पहिलो नम्बरमा आउन थालेका छन्। रेडियो, टीभी र पत्रिकाका अडियन्स इन्टरनेटका माध्यमहरूमा सिफ्ट भइरहेका छन्। नेपालजस्तो विकासोन्मुख मुलुकमा पनि पचास वर्ष माथिको पुस्तासमेत इन्टरनेटका माध्यमहरूमा रमाइरहेको देखिन्छ। इन्टरनेट प्रयोगकर्ताहरू अहिले सामग्री उत्पादकहरूभन्दा स्मार्ट भइसकेका छन्।

सञ्चारमाध्यमको जिम्मेवारी सूचना प्रवाह गर्ने मात्र नभएर सकारात्मक परिवर्तनको सूत्रपात गर्ने पनि हो भन्ने कुरा अहिले मुख्य धारका सञ्चारमाध्यमले बिर्सिएजस्तो देखिन्छ। हुन त नेपालमा ठूला र महत्वपूर्ण परिवर्तनमा सञ्चारमाध्यमको भूमिका उल्लेखनीय छ। तर पनि सानो बजार र अनियन्त्रित होडबाजीले गर्दा सञ्चारमाध्यमहरू आफ्नो मूल धर्मभन्दा पर गइरहेको जस्तो अवस्था छ्र।

मूलधारे भनिने मिडियाहरू पनि अहिले ‘क्लिकबेट’को पछि लागेकोजस्तो देखिन्छ। बाँच्नका लागि हाललाई यो उपाय ठीक होला तर दीर्घकालका लागि यो कति उपयुक्त छ भन्ने गम्भीर प्रश्न हाम्रासामु खडा भएको छ।
सञ्चारमाध्यमले आफ्नो सामाजिक उत्तरदायित्वलाई पन्छाएर कसरी धेरै क्लिक बटुल्ने भन्नेतिर लागे भने निश्चय नै त्यसले सकारात्मक सन्देश दिनेछैन। नयाँ खाले मिडियाको जन्मले परम्परागत मिडियालाई विभिन्न चुनौती खडा गरिदिएको छ।

यसबीच कोरोना भाइरस महामारीले गर्दा विश्वभरिकै मिडियामा अर्को संकट उत्पन्न भएको छ। ठूला आर्थिक हैसियत भएका र शक्तिराष्ट्र भनिने देशहरूमा समेत मिडिया अहिले संकटमा छन्। यस्तो अवस्थामा नेपालमा त झन् मिडिया संकटको अवस्था भयावह देखिन पुगेको छ।

परम्परागत मिडियाका लगानीकर्ताहरूले लगानी खुम्च्याउँदै र आम्दानी गुमाउँदै गएका बेला सबैभन्दा बढी मारमा पर्ने भनेका सञ्चारकर्मी नै हुन्। यस्तो बेलामा सञ्चारकर्मीले नै आफूलाई अडियन्सको मागअनुरूप व्यक्तिगत क्षमता अभिवृद्धि गर्दै लानुको विकल्प छैन। अहिले सञ्चारकर्मीमाथि, मिडियामाथिको विश्वासलाई कायम राख्नुपर्ने र नयाँ प्रविधि एवं शैलीसँग अभ्यस्त हुनुपर्ने दुवै चुनौती छन्। सँगसँगै फेक न्युज अर्थात् झुटो समाचारको जालोबाट सञ्चारमाध्यमलाई जोगाउने जिम्मेवारी पनि सञ्चारकर्मीकै काँधमा आइपुगेको छ।
०००

नेपाली सञ्चारमाध्यममा देखिएको अहिलेको अवस्था पक्कै पनि लामो समयसम्म नजाला। यो संकटकालीन अवस्था नेपाली सञ्चार उद्योगी र सञ्चारकर्मी दुवैका लागि चुनौती र अवसर दुवै हुन्।

सरकारी तथ्यांकअनुसार अहिले नेपालमा ६३ प्रतिशत जनता इन्टरनेटको पहुँचमा छन्। सञ्चारमाध्यमहरूका लागि यो सकारात्मक कुरा हो। यी प्रयोगकर्ताले दैनिक रूपमा इन्टरनेटमा बिताउने केही घण्टाको समयमा थोरै भए पनि ‘भ्यालु एड’ गर्न सकियो भने त्यसले ठूलो परिवर्तन ल्याउन सक्छ। त्यो भनेको एउटा नयाँ व्यावसायिक अवसर पनि हो। सञ्चारमाध्यमले सूचना र मनोरञ्जन मात्र दिने होइन, मानिसलाई प्रेरणा पनि दिनुपर्छ। हाम्रा सञ्चारमाध्यमले प्रेरणाको पाटोलाई बेवास्ता गरेको देखिन्छ। त्यसले नै मिडिया र अडियन्सबीच सन्तुलन गुमेको हुनसक्छ। त्यो सन्तुलन कायम गर्न पनि हामीले प्रेरणाको पाटोलाई पस्कनु आवश्यक छ।

यसै पनि अहिले विश्वभरि सोलुसन ओरियन्टेड जर्नालिजम अर्थात् समाधानमुखी पत्रकारिताको अभ्यासमा जोड दिन थालिएको छ। इन्टरनेट मानिसको आधारभूत आवश्यकता बनिसकेको अवस्थामा प्रयोगकर्तालाई आफूले कुनै पनि सामग्री खपतका लागि बिताएको समय खेर गएको जस्तो अनुभूति हुन नदिने गरी कन्टेन्ट जेनेरेट गर्न सकियो भने त्यसले अवश्य पनि सञ्चारमाध्यम र त्यसका उपभोक्ताबीचको दूरी कम हुनेछ। त्यसले सञ्चारकर्मीका लागि पनि एउटा नयाँ ढोका खोल्नेछ। 
www.leenachitwan.com


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.