माया
धेरै लेखेँ
लेख्दालेख्दा अक्षरहरू नै सकिएलाजस्तो भयो
लेख्नु धेरै पनि थिएन
जम्माजम्मी एक शब्द मात्र थियो लेख्नुपर्ने
लेखिरहेँ, लगातार लेखिरहेँ
पानामाथि पाना खाप्दै
वर्षौं-वर्ष लेखिरहेँ
आफ्ना कुराहरू लेखेँ
तिम्रा कुराहरू लेखेँ
तिम्रा र मेरा साथी-संगीका
कुराहरू पनि लेख्न लेखेँ
गाउँघर, छरछिमेकीका कुराहरू लेखेँ
तर लेख्न चाहेको यति एक शब्द
लेख्न सकिनँ
वर्षौं बिते
कहाँ छौ अहिले तिमी
त्यो पनि थाहा छैन मलाई
कहाँ छु म
त्यो पनि थाहा नहोला तिमीलाई
त्यसपछि के-के भए देश-दुनियाँमा
त्यो तिमीलाई पनि थाहा छ
त्यो मलाई पनि थाहा छ
तर तिमीले थाहा नपाएको
र, मलाई मात्र थाहा भएको एउटा कुरा
यति लामो समययात्रामा
मैले लेख्न सकिनँ
लेख्न त मैले यो शब्द
हजारौँ-लाखौँपटक लेखेँ
अरू नै पात्रका लागि
अरू नै सम्बन्ध र प्रयोजनका लागि
तिम्रो लागि लेख्न सकिनँ
सायद अरूका पनि होलान्
यस्ता घटना-प्रसंगहरू
अरूले पनि लेख्न सकेनन् होला
तिनीहरूले
लामालामा उपन्यास, काव्य या महाकाव्यमा
यो शब्द
सयौँ, हजारौँपल्ट लेखेर
पानाहरू रित्याए होलान्
मैलेजस्तै
तर आफ्ना लागि सायद लेख्न सकेनन्
जसरी मैले लेख्न सकिनँ
अब आज फेरि म किन लेखूँ यो शब्द ?
यसको प्रयोजन
समाप्त भइसकेको छ
यसको अर्थ
सन्दर्भहीन भइसकेको छ
यसको सामयिकता-
निस्क्रिय भइसकेको छ
नयाँ सत्ताको स्थापनापछि
विस्थापित पुरानो संविधानका
धाराहरूजस्तै
त्यसैले आज पनि लेख्दिनँ म यो शब्द
जुन शब्द नपढी
यी पङ्क्तिहरू पढ्यौ भने
तिमीले पनि बुझ्नेछौ
र ती ठूल्ठूला किताब लेख्नेहरूले पनि
बुझ्नेछन्
यो संसारकै सबैभन्दा प्रिय शब्द
सबैभन्दा शक्तिशाली शब्द
र, जीवनको हरेक संविधानको
प्रस्तावनामा लेखिने
यो एक शब्द
तिमी आफैँ बुझ
तर आज पनि म लेख्दिनँ यो शब्द।