पहिरोको जोखिम : वालिङका ७ परिवारलाई सुरक्षित ठाउँमा सारियो
स्याङ्जा : जताततै बाढी पहिरोले धनजनमा क्षति पुगेका बेला वालिङ नगरपालिकाले पहिरोको उच्च जोखिममा रहेको बस्तीलाई सुरक्षित स्थानमा स्थानान्तरण गरेको छ । बाढी पहिरोको उच्च जोखिममा रहेका वालिङ ८ को दमाईडाँडाका ७ घरपरिवारका ३० सदस्यलाई सुरक्षित स्थानमा सारिएको नगर प्रमुख दिलीपप्रताप खाँणले जानकारी दिए ।
‘तत्काल क्षति नपुगोस् भन्ने उदेश्यले उनीहरुलाई अमिलीथुम आधारभूत विद्यालयको भवनमा राखिएको छ’, प्रमुख खाँणले भने, ‘उपयुक्त जग्गा पाउनासाथ उनीहरुलाई उतै सार्नेछौं ।’ दीर्घकालीन बसोबासको ब्यवस्थापनका लागि नगरपालिका जग्गाको खोजीमा जुटेको उनले बताए ।
वालिङले बाढी पहिरो तथा भूक्षय जान सक्ने संभावित बस्तीको पहिचान गरी उच्च सतर्कता अपाउन र सुरक्षित स्थानमा स्थानान्तरण गर्ने नीति राखेको छ । ‘पानी परेको बेला बस्तीका सबै जाग्राम हुन्थ्यौं । राम्रोसँग निदाउन र बस्न सक्ने अवस्था थिएन ’, विद्यालयमा आश्रय लिएका प्रकाश परियारले भने ।
यसैगरी, वालिङ नगरपालिका — १३ को कुसुण्डेमा पनि ३२ घरधुरी पहिरोको उच्च जोखिममा रहेकाले उनीहरुलाई पनि सुरक्षित स्थानमा सार्ने तयारी भइरहेको उपप्रमुख कल्पना तिवारीले बताइन् । बस्ती स्थानान्तरणका लागि उपयुक्त जग्गाको खोजी कार्य भैरहेको नगरपालिकाले जनाएको छ ।