पहिरोमा मृत्यु भएका परिवारलाई ३ लाख राहत
बेंसीसहर : बिहीबार राति पहिरोमा परी मृत्यु भएका ३ जनाको परिवारलाई विपद व्यवस्थापन समिति लमजुङले ३ लाख रुपैयाँ सहयोग प्रदान गरेको छ। भीषण वर्षासँगै बेसीसहर–७ सातविसेमा घर माथिबाट आएको पहिरोले पुरिँदा बेंसीसहर नगरपालिका–१०, खाँचेका ३३ वर्षीय दीपक तामाङ, उनकी श्रीमती २७ वर्षीया भीममाया र छोरा १० वर्षको छेवाङको घटनास्थलमै मृत्यु भएको थियो।
मृतक प्रतिव्यक्ति १/१ लाख रुपैयाँका दरले राहत दिइएको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले बताए। घटना भएको १५ घण्टाभित्रै प्रजिअ शर्माले मृतक दीपकका बुबा हर्कबहादुरलाई ३ लाख रुपैयाँ हस्तान्तरण गरेका हुन्। विपद्मा परेर मृत्यु भएमा सरकारले जनही १ लाख रुपैयाँ राहत दिने व्यवस्था छ।
राहत वितरणमा प्रजिअ शर्मासहित डीएसपी गंगाबहादुर थापा, सशस्त्र डीएसपी रमेशकुमार गुरुङलगायतको टोली हर्कबहादुर बसेको छोरी सावित्रीको घरमा पुगेको थियो। बिहीबार राति पौने ११ बजेतिर पहिरो गएपछि नेपाल प्रहरी र सशस्त्र प्रहरी साथै स्थानीयले उद्धार गरी शव निकालेका थिए। बिहान पौने तीन बजेसम्म शव निकाल्न समय लागेको डीएसपी थापाले बताए।