३३ किलो सुन प्रकरण : यूएईमा पक्राउ परेका आरोपितलाई काठमाडौं ल्याइयो
काठमाडौं : ३३ किलो सुन प्रकरणमा संलग्न भएको आरोप लागेका हरिशरण खड्कालाई काठमाडौं ल्याइएको छ।
इन्टरपोलमा रेडकर्नर नोटिस जारी भएपछि संयुक्त अरब इमिरेट्स (यूएई)मा पक्राउ परेका खड्कालाई शनिबार काठमाडौं ल्याइएको महानगरीय प्रहरी विमानस्थल सुरक्षा गार्डका प्रमुख एसएसपी रामकृपाल शाहले जानकारी दिए।
खड्कालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सिधै गौशाला वृत्तमा लगिएको छ। खड्का २०७५ साल माघमा यूएईमा पक्राउ परेका थिए। ३३ किलो सुन प्रकरणमा संलग्न खड्कासहित १२ जनाविरुद्ध इन्टरपोलमा रेड नोटिस जारी भएको थियो।
काभ्रे घर भएर यूएईमा एक दशकदेखि बस्दै आएका खड्का ३३ किलो सुन प्रकरण मुछिएका हुन्। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले २०७३ पुस २१ गते ३३ किलो सुन बरामद गरेको थियो।
उक्त प्रकरणमा नेपालका सुन व्यवसायी र सुन तस्करको गिरोह नै संलग्न भएको प्रहरी अनुसन्धानबाट खुलेको थियो।