चन्दा आतंक मच्चाएको आरोपमा विप्लव कार्यकर्ता पक्राउ
बैतडी : प्रतिबन्धित समूह नेत्रविक्रम चन्द विप्लवका एक कार्यकर्तालाई बैतडीमा प्रहरीले पक्राउ गरेको छ। जिल्लाको दोगडाकेदार गाउँपालिका ६ सित्तडका ३२ वर्षीय करन ऐरी (कर्णाली)लाई प्रहरीले पक्राउ गरेको हो।
पक्राउ परेका ऐरी विप्लव समूहका गाउँकमिटि सदस्य रहेका बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक गौरीप्रसाद जैसीले जानकारी दिए। डराई धम्काई चन्दा असुली गरिरहेको भन्ने गोप्य सूचनाको आधारमा ऐरीलाई पक्राउ गरिएको उनले बताए। ऐरीलाई डिलाशैनी गाउँपालिका-६ कटौज भन्नेस्थानबाट पक्राउ गरिएको हो। उनले भने ‘डिलाशैनी क्षेत्रमो चन्दा आतंक मच्चाएको भन्ने जनगुनासो आएपछि गोकुलेश्वर प्रहरी चौकीका प्रहरी नायव निरीक्षक मनोज साउँद नेतृत्वको टोलीले ऐरीलाई पक्राउ गरेको हो। पक्राउ परेका ऐरीमाथि अनुसन्धान जारी छ।’
पक्राउ परेका ऐरीलाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय पाटनको हिरासतमा राखिएको छ। यसैबीच ऐरीसंगै रहेका विप्लव समूहका दार्चुला जिल्ला इञ्चार्ज रामसिंह कुँवर भने फरार रहेका र उनको खोजी कार्य जारी रहेको बैतडीका प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक नारायणप्रसाद अधिकारी जानकारी दिए।