वर्षा सुरु भएसँगै अजिङ्गर फेला
राजविराज : वर्षा सुरु भएसँगै सप्तरीमा आठ किलो बराबरको तीन मिटर लामो अजिङ्गर फेला परेको छ। हनुमाननगर कंकालिनी नगरपालिका-४ अर्जी टोलका रामनारायण सदाको खेतबारीमा सर्प प्रजातीको वन्यजन्तु अजिङ्गर फेला परेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ। स्थानीयले सदाको बारीमा अजिङ्गर देखेपछि नजिकैको ईलाका प्रहरी कार्यालय भारदहलाई खबर गरेका थिए। प्रहरीले अजिङ्गर नियन्त्रणमा लिएको छ।
फेला परेको अजिङ्गर डिभिजन वन कार्यालय सप्तरीको जिम्मा लगाइने इन्स्पेक्टर सन्तोष खडकाले बताए। अजिङ्गरलाई वन कार्यालयले कोशी टपु वन्य जन्तु आरक्षको जिम्मा लगाइने बताइएको छ। उक्त अजिङ्गर वर्षाको समयमा आसपासको जंगलबाट नदी खोला हुँदै पानीले बगाएर ल्याएको हुन सक्ने अनुमान गरिएको छ।
गत कात्तिकमा तिलाठी कोइलाडी गाउँपालिका-१ तिलाठीस्थित खाँडो खोला र हनुमाननगर कंकालिनी नगरपालिका–१२ स्थित कोशी बाँधमा क्रमशः १५ र १२ किलो तौलको अजिङ्गर फेला परेको थियो।