गुञ्जिन छाडे सिना ज्या म्ये
भक्तपुर :
फुलुफुलु शशि वाः
सिरिसिरि फसं दाय मन चंगा।
ज्यापुया काय् मचा
न्हियान्हिथङ बुँया ज्या
पासा वया इँ व मुगचा।।
अर्थात्
असारको रोपाइँ
सिमसिम पर्यो पानी
सिरिसिरि हावाले मन भयो हलुको।
किसानको हुँ छोरो
दिनदिनै खेतको काम
साथी आए हँसिया र डल्लेठो।।
यो नेपालभाषी समुदायमा प्रचलित असारे रोपाइँको गीत हो। असारमा रोपाइँको तयारी गर्न गएको एक किसानको छोरोले काम गर्दागर्दै व्यक्त गरेको भावनाका रूपमा यो गीतलाई लिइएको छ। काम गर्दागर्दै गीत गाए थकान महसुस हुँदैन। समय बितेको पनि पत्तै हुँदैन।
यस्ता असारे गीतको तयारी भने हुँदैन। सदियौंदेखि गाउँदै आएका गीत बढी गाइन्छ। कालजयी यी गीतबाहेक एउटै लय एवं भाकामा व्यक्तिव्यक्तिले अनुभव गर्ने भावना व्यक्त गरिएको हुन्छ अर्थात् आँसुकविसरह यी गीतमा आफ्नो भावना र अनुभव व्यक्त गरिन्छ।
तर अचेल नेवारी मौलिक असारे गीत सुन्न पाइँदैन। पहिले असार सुरु नहुँदै सबैको घरघरमा रहेका क्यासेट प्लेयरमा असारे भाका गुञ्जिन्थ्यो। ती गीतसँगै असारमा रोपाइँको बेला खेतखेतमा असारे गीत गाइन्थ्यो तर अहिले असारे गीत घरका क्यासेट प्लेयरमा मात्रै होइन खेतखेतमै गुञ्जिन छाडेको छ।
के हो सिना ज्या ?
नेपाल भाषामा रोपाइँको शाब्दिक अर्थ हो, ‘सिना ज्या’। तर रोपाइँमात्रै भनेर सिना ज्याको अर्थ र महत्व भने प्रस्ट हुँदैन। ‘सिना’ भनेको मरिमेट्नु हो। शब्दार्थमा मरणासन्न पनि हो। ‘ज्या’ भनेको काम। अर्थात् मरणासन्न हुने गरी अथवा मरिमेटी काम गर्नु सिना ज्या हो। वर्षभरि खानुपर्ने अन्न उत्पादन गर्ने विशेष काम भएकाले यसलाई सिना ज्या भनिएको हो। असारमा गरिने रोपाइँलाई माना रोपेर मुरी फलाउने काम मानिन्छ। रोपाइँ एक दिनमा सकिँदैन। सबै मिलेर गरिने भएकाले गाउँ वा टोलभरिको रोपाइँ गर्दा महिना दिन पनि लाग्ने गथ्र्यो।
त्यसैले किसानहरू अरू सबै काम छाडेर रोपाइँमा व्यस्त हुन्छन्। रोपाइँ नसकिएसम्म अरू काममा ध्यानसम्म दिइँदैन। त्यसैले तत्कालीन नेपालमण्डलमा बस्ने नेपालभाषी समुदायले रोपाइँलाई काममात्रै मानेनन्। उनीहरूले रोपाइँलाई सिना ज्या भनेर पर्वका रूपमा लिए। त्यसैले पनि सिना ज्या नेपालभाषी समुदायको मौलिक पर्व हो तर अहिले यो लोपोन्मुख हुँदै गएको छ। ‘मान्छे मरे पनि त्यसलाई घरको छिँडीको एक कुनामा राखेर पहिले रोपाइँ सिध्याउनुपर्छ भन्ने धारणाले यो पर्वलाई सिना ज्या भनिएको हो’, संस्कृतिकर्मी ओमप्रसाद धौभडेल भन्छन्।
सिँचाइको सुविधा नभएको तत्कालीन समयमा अधिक वर्षा हुने असारमा रोपाइँ नसकिए वर्षभरि खाने अन्न अभाव हुने भएका कारण सिना ज्यालाई पहिलो प्राथमिकता दिएको उनी बताउँछन्।
उनका अनुसार समूहमा मिलेर अथवा नातागोता, छरछिमेक सबै मिलेर रोपाइँ गर्नु सिना ज्याको मुख्य विशेषता हो। सिना ज्या सामाजिक एकता र सहकार्यको दरिलो माध्यमसमेत रहेको उनको भनाइ छ।
‘सिना ज्यामा बालबच्चादेखि युवकयुवती र वृद्धवृद्धासम्म सबै उमेर समूहका मानिस जमघट भएर समूहमा मिलेर काम गरेका हुन्छन्’, संस्कृतिकर्मी धौभडेल थप्छन्, ‘तर अहिले मानिसहरू समूहमा भन्दा एक्लैदुक्लै काम गर्न रुचाउँछन्। यसले समाजमात्रै होइन घरपरिवार नै विखण्डनतिर गइरहेको छ।’
सिना ज्या मे
धान तत्कालीन घरपरिवारको मुख्य धन थियो। धान खाद्यान्न मात्रै होइन। यसको भण्डारणले घरपरिवारको आर्थिक स्थितिको पनि परिचय दिन्थ्यो। परिवारको आर्थिक अवस्था उक्सेको हुन्थ्यो। त्यसैले घरका सबै सदस्य रोपाइँमा मरिमेटेर लाग्ने गर्थे। यसरी मरिमेटेर काममा लाग्दा थकान महसुस हुन नदिन र समय गएको पत्तै हुन नदिन साहित्य जोडिएको थियो। त्यही साहित्यलाई नेपाल भाषामा ‘सिना ज्या म्ये’ (रोपाइँ गीत) भनिन्छ। सिना ज्यामा सिना ज्या म्ये गाउँदै रमाइलो गरेर रोपाइँ गर्छन्। सबै मिलेर भोजस्वरूप खाजा खान्छन्।
संस्कृतिकर्मी धौभडेलका अनुसार सिना ज्या म्ये युवकयुवतीका लागि मायापिरती तथा प्रेमभाव व्यक्त गर्ने सुवर्ण अवसर हो। वृद्धवृद्धा तथा धार्मिक आस्था भएकाका लागि देवदेवीप्रति भक्ति दर्शाउने माध्यम।
त्यस्तै सिना ज्या म्येमा समाजका विकृति, विसंगति, कुसंस्कारमाथि व्यंग्यसमेत गरिन्छ। ‘समाजसँग प्रत्यक्ष जोडिएका आर्थिक, सामाजिक, सांस्कृतिक लगायतका विषयवस्तुलाई पनि सिना ज्या म्येमा प्रस्तुत गरिन्छ’, उनी थप्छन्, ‘सिना ज्या भइरहेको ठाउँको अवस्थालाई आधार बनाएर तत्काल शब्द रचेर गीत गाउन सक्नु सिना ज्या म्येको महत्वपूर्ण विशेषता हो।’
सिना ज्या म्येको अर्को प्रमुख विशेषता एवं आकर्षण दोहोरी चल्नु हो। यो एकोहोरो मात्रै हुँदैन। बाउसे गर्ने पुरुष र रोपाइँ गर्ने रोपाहार महिलाबीच घोचपेचपूर्ण र सवालजवाफका रूपमा दोहोरी एवं संवाद चल्नु सिना ज्या म्येको मूल मर्म हो।
जस्तै—
बाउसे गर्ने पुरुष,
वाः पितः छपिचा
ज्यामि वलः भुतुचा
भुतु मिसाङ बजि नलः
पिचा स्वःपिचा।
अर्थात्
धान रोप्यो अलिकति
रोपाहार आइन् डल्ली
डल्ली रोपाहारले खाजा खायो
मानाको तीन भाँडो।
अर्थात् रोपाहारले कामभन्दा बढी खाजा खाएको व्यंग्यस्वरूप यो सिना ज्या म्ये गाइएको छ। आफूलाई खिस्याएपछि ती रोपाहारले पनि यसरी जवाफ दिन्छिन्—
रोपाहार,
वो पु, थ्व पु
जिङ मस्या गो पु
छः ज्यापु
अतिकङ याय्पु।
अर्थात्
यति रोपो, उति रोपो
मलाई थाहा छैन कति रोपो
तिमी बाउसे केटो
साह्रै मन पर्यो।
यसरी आफू डल्ली होची भए पनि ती रोपाहारले बाउसे गर्ने केटोलाई मन पराएको आफ्नो मनको भाव गीतबाटै फर्काएकी छन्। यसले केटा र केटीबीच प्रेम पहिल्यै अंकुराइसकेको पनि प्रतीत हुन्छ। यसले दुईजनाबीच पहिल्यै चिनजान भएकाले एकापसमा घोचपेच र मायापिरती व्यक्त गर्ने अवसर सिना ज्यामा पाएका छन्।
संस्कृतिकर्मी धौभडेलका अनुसार सिना ज्या म्येमा मायाप्रेमभन्दा बढी नरनारीले आफूलाई परेको दुःख र पीडालाई बढी भावनात्मक रूपमा व्यक्त गर्ने गरिन्छ। घरपरिवारमा सासूबुहारीबीच हुने व्यवहार, बुहारी धेरै समयदेखि माइत जान नपाएको पीडा, विवाह गरेको वर्ष दिन नहुँदै श्रीमान् पैसा कमाउन तत्कालीन समयमा भोट तथा मुग्लान जान लाग्दा श्रीमतीलाई हुने आहत र छटपटीसमेत सिना ज्या म्येमा सुन्न पाइने उनी स्पष्ट पार्छन्।
त्यस्तै माइत गएकी श्रीमतीलाई महिना दिनसम्म आफ्नो श्रीमान् लिन नआएको दुःखपीडा, आफूले मन पराएको केटाबाहेक अरूबारे मतलब नभएको जस्ता बिछोड र विरहसँगै मायाप्रेम र आकर्षणका गीत सिना ज्या म्येमा सुन्न पाइन्छ।
कहिले जोडियो साहित्य ?
पर्वका रूपमा रहेको सिना ज्यामा साहित्य जोडिएपछि सिना ज्या म्ये भएको हो। तर काम गर्ने पर्वमा कहिले जोडियो साहित्य ? इतिहासविद् तथा संस्कृतिकर्मीले यकिनसाथ भन्न सकेका छैनन्। उनीहरूका अनुसार प्राचीन कालदेखि नै सिना ज्यामा साहित्य जोडिएर आएको हो।
‘सिना ज्या सँगसँगै गीत गाउने चलन प्राचीन कालदेखि थियो तर पहिले सिना ज्या म्ये लिपिबद्ध थिएन’, संस्कृतिकर्मी धौभडेल भन्छन्, ‘मल्ल कालमा सिना ज्या म्ये केही लिपिबद्ध गरेर जगेर्ना गर्ने काम भएको देखिन्छ।’