शान्ति मन्त्रालय खारेजपछि योजनाहरू अधुरै
अछाम : साँफेबगर नगरपालिका–८ को वडा कार्यालयको भवन ०५८ चैत २२ गते तत्कालिक विद्रोही पक्ष माओवादीले ध्वस्त बनायो। द्वन्दकालमा भत्किएका संरचना बनाउने भन्दै तत्कालीन शान्ति मन्त्रालयले बजेट विनियोजन गर्दै निमार्ण कार्य सुरु गर्यो। ६ वर्ष बित्यो तर भवन बन्न सकेन। भवन अहिले बेबारिसे अवस्थामा छ।
शान्ति मन्त्रालय खारेज भएसँगै मन्त्रालयले सुरु गरेका योजना अधुरै रहेका छन्। मन्त्रालयले वडा कार्यालयको चार कोठे भवनका लागि ४० लाख बजेट विनियोजन गरेको थियो। ०७१ मा भवनको काम उपभोक्ता समितिमार्फत भएको थियो। उपभोक्ता समितिका अध्यक्ष मुकेश कडायतले भने, ‘योजना क्रमागत हो, दश लाखसम्म भवनको काम गरेर ७ लाख मात्र भुक्तानी पायौँ। मन्त्रालय खारेज भएपछि भवनको पिल्लर मात्र हाल्ने काम भयो त्यसपछि कसैले वास्ता गरेनन्।'
भवन नबन्दा अहिले भाडाको घरमा वडा कार्यालयको कामकाज सञ्चालन गर्नु परेको वडा अध्यक्ष टंक कुँवरले बताए। उनले भने, ‘वडा कार्यालयले मासिक ९ हजार घरभाडामा तिर्दै आएको छ। वडामा बजेट २० देखि २५ लाखसम्म आउँछ। वडाको बजेटले भवन बनाउन भ्याउँदैन। भवनका लागि प्रदेशलाई गुहार्नुपर्ने अवस्था छ।’
बयलपाटाको महेन्द्र माविको दुई कोठे छात्राबास पनि अधुरै छ।०७१ मा छात्राबासको निमार्ण सुरु गरिएको थियो। 'शान्तिका लागि विकास' कार्यक्रम अन्तरगत छात्राबासका लागि पनी मन्त्रालयले २० लाख बजेट विनियोजन गरेको उपभोक्ता समितिका अध्यक्ष मनोज रावलले बताए। उनले भने, '६ लाख मात्र निकासा भयो। मन्त्रालय पनि हरायो। यो योजना कुन मन्त्रालयले हेर्ने भन्ने नै हामीलाई जानकारी आएन। योजना पूरा गर्न पहल गर्यौं तर भएन।’
छात्राबास नबन्दा विद्यार्थी ३० वर्ष पुरानो जीर्ण भवनमा बसिरहेका महेन्द्र माविका प्रअ इन्द्रजित ठकुल्लाले बताए। उनले भने, ‘छात्राबास नभएका कारण सबै भन्दा बढी समस्यामा छात्रा छन्। पुरानो छात्राबास सुरक्षाको हिसाबले ठिक छैन। छात्र त जेनतेन बसिरहेका छन्। प्राविधिक शिक्षा पढ्नका लागि टाढाका छात्रालाई निकै समस्या छ। अधुरो भवन पूरा गर्न प्रदेशसँग बजेट माग गरेका थियौं तर पाएनौं।’
साँफेबगर नगरपालिका १ बैद्यनाथमा ५ वर्षअघि निमार्ण सुरु भएको शारदा स्मृति भवन अझै बन्न सकेको छैन। जनआन्दोलका समयमा मारिएकी तत्कालीन माआवादी नेतृ शारदा शाहीको सम्झनामा शारदा स्मृति भवन बन्न लागेको थियो। ४२ लाखको स्टेमेट रहेको उक्त भवनको तीन किस्तामा गरी १९ लाख बजेट निकासा भएको बैद्यनाथका वडाध्यक्ष अमर शाहले बताए। बजेटको अभाव र निगरानी नगर्दा भवन अधुरै रहेको उनले बताए। उनले भने, ‘अहिले शान्ति मन्त्रालय पनि छैन। त्यसैले मन्त्रालय अन्तरगत बन्न लागेका भवन अलपत्र छन्।’ भवनका लागि सुदुरपश्चिम सरकारले २७ लाख बजेट विनियोजन गरेको उनले बताए।
नवाठानाको कृष्ण माविको दुईकोठे भवनको निमार्ण कार्य मन्त्रालय अन्तरगत सुरु भएको थियो। १८ लाखको स्टेमेट रहेको भवनको लागि दुई लाख मात्र रकम निकासा भयो। रकम आउन छोडेपछि भवन निमार्णको काम अगाडि बढ्न सकेन। वर्षौदेखि अधुरै रहेको भवनका लागि साँफेबगर नगरपालिकाले ०७५/७६ मा ११ लाख बजेट विनियोजन गरेको वडा अध्यक्ष उजिर साउदले बताए। नगरले बजेट विनियोजन गरेपछि अहिले भवनको काम जारी रहेको उनले बताए।
चौरपाटी गाउँपालिका–२ मा बन्न लागेको तत्कालीन गाविस भवन पनि अधुरै छ। सोकटमा भवन बन्न लागेको ६ वर्ष भयो। ४० लाखको बजेट रहेको उक्त भवन मन्त्रालय खारेज भएसँगै अधुरै रहेको वडाध्यक्ष नारायण साउदले बताए। उनले भने, ‘पिल्लर हालेको वर्षौं भईसक्यो। पालिकाबाट बजेट हालेर पूरा गर्ने तयारीमा छौं। ' ०७३ सालमा उच्चस्तरीय प्रशाशन सुधार कार्यान्वय तथा अनुगमन समितिले शान्ति तथा पुर्ननिमार्ण मन्त्रालय लगायत ९ वटा मन्त्रालय खारेज गर्न सरकार समक्ष सिफारिस गरेको थियो। समितिले शान्ति मन्त्रालय सम्बन्धी काम मन्त्रीपरिषदलाई जिम्मा दिने गरी मन्त्रालय नै खारेज गर्ने निष्कर्ष निकालेको थियो।