पर्यटकीय क्षेत्र बन्दै पातालभुवनेश्वर

पर्यटकीय क्षेत्र बन्दै पातालभुवनेश्वर

बैतडी : बैतडीको दशरथचन्द राजमार्गदेखि आधा घण्टाको पैदल दूरी हिँडेपछि पुगिन्छ पातालभुवनेश्वर धाम। सुर्नया गाउँपालिका–२ मा अवस्थित पातालभुवनेश्वर धाम परापूर्व कालमा सतीदेवीको पैतला खसेर धामको रूपमा स्थापित भएको किम्वदन्ती छ।

कहिले नसुक्ने ताल, प्राकृतिक गुफा, घना जंगलको बीचमा पातालभुवनेवर मन्दिर रहेको सो धामको प्रचारप्रसार र संरक्षणका लागि अहिले पहल सुरु भएको छ। पातालभुवनेश्वर क्षेत्रभित्रको जंगललाई धार्मिक वनमा रूपान्तरण गरेर विभिन्न संरचना निर्माणको कामसमेत भइरहेको सुर्नया गाउँपालिकाका अध्यक्ष वीरबहादुर बिष्टले बताए। उनले भने, ‘अहिले हामीले पातालभुवनेश्वर क्षेत्रलाई धार्मिक पर्यटकीय क्षेत्रको रूपमा विकास गर्नका लागि पहल गरिरहेका छौं। सो क्षेत्रमा विभिन्न संरचना निर्माणको कामसमेत भइरहेको छ।’

पातालभुवनेश्वर परिसरमा थुप्रै गुफा रहेका र तीमध्ये मुख्य गुफा दक्षिण एसियाकै लामो गुफा भएको फ्रान्सेली गुफा विशेषज्ञको टोली बताएको स्थानीय मोहनबहादुर बिष्टले बताए। उनले भने, ‘पातालभुवनेश्वरमा दक्षिण एसियाकै लामो गुफा हुन सक्छ भनेर गुफा विशेषज्ञको टोलीले भनिसकेको छ। तर, हाम्रोमा अध्ययन अनुसन्धान नहुँदा यो ओझेलमा पर्दै गएको छ। पछिल्लो समय पातालभुवनेश्वर धामलाई धार्मिक पर्यटकीय क्षेत्र बनाउन पहल भइरहेको छ।’

पातालभुवनेश्वर धाम परिसरमा रहेको प्राकृतिक ताल कहिले नसुक्ने र यो ताल कति गहिरो छ भन्ने स्पष्ट नभएको बिष्टले बताए। अग्लो डाँडाको बीचमा प्राकृतिक ताल र यसमा बाह्रैमास पानी हुनु रहस्यको कुरा भएको उनले बताए। उनले भने, ‘जगदगुरु बालसन्त मोहनशरण देवाचार्यले यो ताललाई सीताकुण्डको रूपमा विश्लेषण गर्नुभएको छ।’

पातालभुवनेश्वर गुफा धार्मिक हिसाबले पनि अत्यन्तै महत्वपूर्ण गुफा भएको स्थानीय नरेन्द्रबहादुर बिष्टले बताए। उनले भने, ‘पातालभुवनेश्वर गुफा भएर पाण्डव वनवास गएको भन्ने किम्वदन्ती पनि छ। यस्तो धार्मिक तथा पौराणिक महत्व बोकेको क्षेत्रको संरक्षणका लागि स्थानीय सरकारले ध्यान दिनुपर्छ।’

पातालभुवनेश्वरमा पछिल्लो समय विवाह, ब्रतबन्ध अन्य धार्मिक कार्य तथा वनभोजका लागि रोजाइ पर्न थालेपछि यो वर्ष मन्दिरदेखि गुफासम्म पुग्न पदमार्ग निर्माण गरिएको छ भने भजनमण्डल र विवाह मण्डप निर्माण गर्ने कार्य पनि भइरहेको छ। पातालभुवनेश्वर क्षेत्रलाई धार्मिक पर्यटकीय क्षेत्रको रूपमा विकास गर्न प्रदेश सरकारले पनि पहल गरिरहेको प्रदेशसभा सदस्य प्रेमप्रकाश भट्टले बताए। उनले भने, ‘हामीले यो क्षेत्रको विकासका लागि सुदूरपश्चिम प्रदेश सरकारको बजेटमा समेटेका छौं। यसको प्रचारप्रसार र विकासका लागि पहल गर्छौं।’

पातालभुवनेश्वर धामबारे मानसखण्ड पुराणमा उल्लेख गरिएको जगदगुरु बालसन्त मोहनशरण देवाचार्यले बताए। उनले भने, ‘सुर्नया नदी र रामगंगा नदीको बीचको अग्लो डाँडोमा पातालभुवनेश्वर धाम छ। यो धाममा दर्शन गरेमा मनोकामना पूर्ण हुन्छ भन्ने लेखिएको छ। यो मैले भनेको कुरा होइन। पुराणमा उल्लेख गरिएको हो।’

पातालभुवनेश्वर धामलाई तीर्थस्थलको रूपमा विकसित गर्न सके यो क्षेत्रको आर्थिक अवस्थामा समेत सुधार आउने देवाचार्यले बताए। उनले भने, ‘हामी तीर्थका लागि भनेर भारतका धेरै ठाउँमा जाने गरेका छौं। तर, हाम्रै वरिपरिका तीर्थ ओझेलमा परेका छन्।’


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.