के माया लाग्छ र, उख्खुमै लाग्छ नि...

के माया लाग्छ र, उख्खुमै लाग्छ नि...

काठमाडौं : ‘गीत लेखेरै टिक्छु भन्ने लाग्दैन मलाई। गीत लेख्नु रहर हुन सक्छ। लोक संस्कृतिको जगेर्ना गर्न एउटा पाइला हुन सक्छ। स्थानीय ठेट शब्द र कला संस्कृतिको उख्खुमै माया लागेर हुन सक्छ। तर गीत लेखेरै करिअर बनाउन सक्ने माहोल बनिसकेको छैन, नेपाली सांगीतिक क्षेत्रमा’, गीतकार हर्क साउद आफ्नो गीतप्रतिको प्रेम बताउँदै थिए।

गीत लेख्ने काम पेसा हुन किन सक्दैन त ?  उनी भन्छन्, ‘मैलै यस्तो गीत लेखेँ भनेर सुनाउँदै हिँड्नु पर्‍यो, कि त निर्माता निर्देशकको चाकडी गर्नु पर्‍यो। म यस्तो गर्न जान्दिनँ। अर्को कुरा, आफूले जस्तोसुकै गीत लेखे पनि रेकर्ड गरिदिने मान्छे हुनु पर्‍यो। यस्तो सेटिङ गर्ने पनि खुबी छैन। तेस्रो कुरा, रचनाको बार्गेनिङ गर्न र एकै दिन अनेकौं गीत लेख्न सक्ने क्षमता पनि छैन।’ आफ्नो गीत आफैं बजारमा ल्याउने र अडियो भिडियो बनाउन लगानी गर्न सक्ने हैसियत पनि बनिनसकेको उनी बताउँछन्। यसै कारण आफू प्रोफेसनल गीतकार बन्न नसक्ने भनाइ उनको छ।

शब्दसँगको सम्बन्ध बताउँदै उनी भन्छन्, ‘गीत लेख्न मलाई कुनै फरक कथाले घुमाइरहनु पर्छ। लामो समयसम्म कथाका पात्रले छोडेनन् भने मात्र म उनीहरूले बोल्ने संवाद खोज्न थाल्छु। ती संवादले ठाउँ परिवेशको भाषा खोज्छन्। ठेट झर्रा शब्दमा लय भर्नु, धुन सिर्जना गर्नु र उनीहरूलाई जीवित बनाउने कोसिस गर्नु मेरो काम हो। यसैले मलाई सन्तुष्टि दिन्छ।’

उनी कहिलेकाहीँ गीत लेख्छन् र बबालै गर्छन्। पहिलोपटक नेपाली संगीतमा ‘सुन साइँली’ बोलको गीत लिएर आएका उनी यसैबाट सगरमाथाको जस्तै उचाइमा पुगे। उनको गीतले विदेशमा बस्ने लाखौं युवालाई रुवायो। देशभित्र बाहिर जताततै यही गीतको धुन घन्किन थाल्यो। करिब तीन वर्षअघि एउटा समय कस्तो थियो भने सामाजिक सञ्जाल, सार्वजनिक सवारी, मेला, महोत्सव, सांस्कृतिक कार्यक्रम जताततै ‘सुन साइँली’ घन्कने गथ्र्यो।

मीठा गीत सुन्न र अजर अमर शब्द खोज्न आजका निर्माता निर्देशक उनीकहाँ पुग्छन्। तीन वर्षको बीचमा उनले करिब एक दर्जन गीत लेखे। उनले लेखेका सबै गीतले श्रोता–दर्शकको माया पायो। ‘हात्ती ढुंगामा’, ‘कर्ली कर्ली कपाल’, ‘प्याटप्याटे चप्पल’ लगायतका सबै गीत हिट भए।

लकडाउनको समयमा मनोरञ्जन क्षेत्र ठप्पप्रायः छ। कुनै गीतसंगीत दर्शकको जिब्रोमा झुन्डिन पाएको थिएन। सांगीतिक क्षेत्रमा पनि लकडाउन लागेको थियो। गायक–गायिका र दर्शक–  श्रोता मुर्झाएका थिए। यही बेलामा हर्कले गीत फुराए अनि कमालै गरिदिए। ‘के माया लाग्छ र...’ भन्दै उनले गजबको प्रेमगीत लेखे।

एलिना चौहान र निशान भट्टराईको स्वरमा रहेको यो गीत दुई हप्ताअघि मात्रै सार्वजनिक भएको हो। विशेषतः त टिकटिकमा अत्यधिक प्रयोगमा आएको यो गीतले अहिले सबैको मन जितेको छ। ‘के माया लाग्छ र, उख्खुमै लाग्छ नि...’ हरेकजसोको मुखमा झुन्डिएको छ। उख्खुमै, हुरहुरी, गुटुङटुङजस्ता शब्दले अहिलेको युवामाझ चर्चा कमायो। सार्वजनिक भएको दुई हप्तामै २२ लाखभन्दा बढीले गीतको भिडियो हेरिसकेका छन्।

हर्क हरेक दिनजसो बागबजारमा रहेको आराधना रेस्टुरेन्टमा भेटिन्छन् अचेल। यो गीत बजारमा आएपछि उनको व्यस्तता पनि बढेको छ। सेलाएको व्यवसायले सास फेर्ने कोसिस गरिरहेको छ। उनी कहिले चिया बनाउँदै गरेको भेटिन्छन् त कहिले उसिनेको अन्डा छाडाउँदै गरेको दृश्यमा। लकडाउनले अरूलाई जस्तै अप्ठ्यारोमा पार्‍यो उनलाई। भन्छन्, ‘गीत र व्यवसाय दुवैमा टर्रो टर्रो स्वाद पाएको छु।’

गीतको शब्दजस्तै अर्गानिक छ उनको जीवनशैली पनि। हरेक काममा दत्तचित भएर लाग्ने र कामलाई सम्मान गर्ने। गीत लेख्नुअघि उनलाई कथाको दृश्य आउनुपर्छ। कहिले सार्वजनिक बसमा हिँड्दै गरेको बेला गीतका अर्गानिक शब्द फेला पार्छन् त कहिले बाटोमा अरूको संवाद सुनेर। पत्रिकामा समाचार पढ्दै गर्दा होस् या फिल्म हेर्दै गर्दा, केही फरक स्वाद र काम खोजिरहेका हुन्छन् उनी।

उनी सुदूरपश्चिमका उत्पादन हुन्। सुदूरपश्चिमलाई लोकसंस्कृतिको संगमका रूपमा लिइन्छ। उनको परिवार अछामबाट डोटी बसाइँ सर्‍यो। दुवै जिल्लाको संस्कृति र रहनसहनलाई उनले टपक्कै टिपेका छन्। उनका गीतमा संस्कृति सुहाउँदो शब्द, जात र ठाउँविशेषको बोलीचालीको भाषा प्रयोग हुन्छ। विभिन्न ठाउँमा घुम्न रुचाउने हर्क घुमाइका क्रममा त्यहाँको स्थानीय लवजलाई टिप्ने गर्छन्। संस्कृतिमा भिज्ने गर्छन्। उनले एक वर्षअगाडि पनि ‘बटौली’ नामक गीतमा पश्चिमाञ्चल आसपासको लवज समेटेका थिए।


राम्रो बनाउने चुनौती थियो

निशान भट्टराई, गायक

नेपाल आइडलमा सहभागी हुँदा होस् या अन्य कार्यक्रममा, मलाई जहिले पनि राम्रो गीत गाउन मन पर्छ। दर्शक पनि मबाट केही मीठा गीतको अपेक्षा गर्नुहुन्छ। म सदैव उहाँहरूप्रति कृतज्ञ छु। ‘के माया लाग्छ र’ बोलको गीत राम्रो त थियो तर यति हिट हुन्छ भन्ने लागेको थिएन। गीत हातमा परेपछि यसलाई राम्रो गाउने चुनौती पनि थियो मसँग। गीतका शब्द सुन्दा हरेकले आफू हुर्किएको संस्कृति सम्झन पुग्छन्। गीत चर्चित हुँदैमा आफूमा घमण्ड बढ्नु गलत हो। गायकलाई राम्रा गीत गाउने लोभ हुनुपर्छ। मलाई पनि छ।

भाइरल हुँदा खुसी लाग्यो

एलिना चौहान, गायिका

के माया लाग्छ र गीतको शब्द केही विशेष थियो। कभर सङमा राम्रो प्रतिक्रिया पाइरहेकी थिएँ। तर यो गीत भाइरल भएसँगै मलाई पनि औधी खुसी लागेको छ। लकडाउनमै भए पनि अहिले तीजका गीत र लभसङ गाउन व्यस्त छु। यो गीतको शब्द निकै मीठो थियो, गाउने अवसर पाउनु मेरा लागि पनि ठूलो कुरा हो। झापाबाट आउँदा आउँदै गीत रेकर्ड भएको थियो। हल्का स्वर भासिएको थियो। तर निशान भट्टराईले निकै सहयोग गर्नुभयो। उहाँकै सहयोगमा गीत रेकर्ड पूरा भयो।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.