मौसमबारे जानकारी दिने उपकरण जडान
बैतडी : बैतडीमा मौसमसम्बन्धी जानकारी दिने उपकरण जडान गरिएको छ । उपकरणले प्रत्येक दिन र प्रत्येक घण्टाको वर्षा, हावाहुरी, घाम, पानी, बादल, आद्रता तापक्रम मापन गरेर मोबाइल एपमार्फत जानकारी उपलब्ध गराउने छ ।
दशरथचन्द नगरपालिक–१, गुरुखोलास्थित सुख्खा फलफूल विकास केन्द्र सतबाँझमा जडान गरिएको उपकरणले मौसम सम्बन्धि जानकारी दिने सुख्खा फलफूल विकास केन्द्रका प्रमुख डम्मरसिंह भाटले जानकारी दिए । ‘सुख्खा फलफूल विकास केन्द्रमा जडान गरिएको उपकरणले मौसम सम्बन्धि जानकारी दिनेछ ।’उनले भने–‘यसले कृषि क्षेत्रका लागि समेत सहयोग पुग्नेछ।’
कृषि विकास निर्देशनालय दिपायलले जडान गरेको मौसमसम्बन्धी जानकारी दिने उपकरणको रिपोर्ट कृषि विकास निर्देशनालयबाट अध्यावधिक गर्ने उनले जाकारी दिए । कृषि विकास निर्देशनालय दिपायलले यो वर्ष सुदूरपश्चिमका सात ठाउँमा मौसमसम्बन्धी जानकारी दिने उपकरण जडान भएको ानकारी दिएको छ।
कृषि विकास निर्देशनालयका अनुसार बैतडीको सतबाँझ सुख्खा फलफूल विकास केन्द्र र गोकुलेश्वर कृषि क्याम्पस बैतडी, डडेल्धुराको तरकारी बीउ उत्पादन केन्द्र घटाल, कैलालीको टीकापुर प्राविधिक शिक्षालय, कञ्चनपुरको कृषि ज्ञान केन्द्र, बझाङको कृषि ज्ञान केन्द्र र कृषि विकास निर्देशनालय दिपायलमा मौसमसम्बन्धी जानकारी दिने उपकरण जडान गरिएको हो ।
यस उपकरणबाटंं ‘वेदर डिभाइस’ मोबाइल एप डाउनलोड गरी हरेक दिन र प्रत्येक घण्टाको मौसमसम्बन्धी जानकारी लिन सकिनेछ । मौसमसम्बन्धी उपकरणले वर्षभरिको मौसमको विवरण सुरक्षित राख्ने भएकोले कुन मौसम र कति तापक्रममा कुन बाली लगाउँदा उपयुक्त हुन्छ भन्ने कुराको जानकारी दिन सहज हुने सुख्खा फलफूल विकास केन्द्रका प्राविधिक अर्जुन खड्काले बताए ।
मौसमसम्बन्धी जानकारी दिने उपकरण जडानमा एक ठाउँका लागि करिब चार लाख रुपियाँ खर्च भएको कृषि विकास निर्देशनालय दिपायलले जानकारी दिएको छ । यो उपकरण इन्टरनेटको सुविधा नभएको ठाउँमा पनि नेपाल टेलिकमको सीम प्रयोग गरेर मौसमसम्बन्धी जानकारी लिन सकिने बताइएको छ ।