क्वारेन्टाइन भवनभित्र बाढी पस्यो
स्याङ्जा : पुतलीबजार नगरपालिका १ को त्रिभुवन आदर्श क्याम्पसस्थित क्वारेन्टाइनमा भेलसहितको बाढी पसेको छ । कोठाभित्र पसेको बाढीले मानवीय क्षति भने पुर्याएको छैन । भवनका झ्याल, उपकरणमा क्षति पुगका छन्।
सिद्धार्थ राजमार्ग छेवैमा रहेको आइतबार साँझदेखि परेको अविरल वर्षाले बिष्णुपधेरा र चौकीका जमिन गलेर ठूलो पहिरो गएको छ। पहिरो र भेलबाढीले क्याम्पसको पछाडि पट्टीको झ्याल फोरेरभित्र छिरेको हो।
पहिराका कारण चौका २ वटा निजी घर र एउटा सार्वजनिक शौचालय समेत जोखिममा परेको छ। पहिराका कारण क्याम्पसको ४ वटा कोठाका शिशा फुटेका र ४ वटा कम्प्युटरमा क्षति पुगेको प्रहरीले जनाएको छ ।
पुतलीबजार नगरपालिकाले सोही क्याम्पसलाई क्वारेन्टाइनस्थल बनाएको छ । क्वारेन्टाइनमा सोमबार बिहान ३३ जना रहेको नगर स्वास्थ्य शाखा प्रमुख बिष्णुप्रसाद काफलेले जानकारी दिए ।
यसैगरी, सदरमुकाममा बस्दै आएका ७९ वर्षीय बुद्धिबहादुर नेपालीको घरभित्र पसेको बाढीले अठ्याउँदा उनी घाइते भएका छन् । उनको स्याङजा जिल्ला अस्पतालमा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिए ।
गण्डकी यातायात कम्पनीको कार्यालयमा समेत क्षति पुगेको छ । त्यस वरपरिका ५ घर जोखिममा रहेको र ४० जनालाई सुरक्षित स्थानमा स्थानान्तरणको तयारी भइरहेको छ । बाढी पहिरोका कारण सिद्धार्थ राजमार्गका दर्जनौं स्थानमा सडक अवरुद्ध बनेका छन् । सदरमुकामका २ दर्जनभन्दा बढी घरहरुमा क्षति पुगेको छ।