बैतडीमा कोरोना संक्रमितको संख्या २९७ पुग्यो
बैतडी : बैतडीमा सोमबार थप दुईजनामा कोरोना पुष्टि भएको छ। डडेल्धुरा अस्पताल प्रयोगशाला भएको परीक्षणमा थप दुईजनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालयका कोभिड १९ सम्पर्क व्यक्ति भुवनप्रसाद जोशीले जानकारी दिए।
शिवनाथ गाउँपालिका वडा नं ३ का २४ वर्षीय पुरुष र वडा नं ४ का ३० वर्षीय पुरुषमा कोरोना पुष्टि भएको हो। क्वारेन्टाइनमा बसेको २० दिनपछि उनीहरु घर फर्केका र घर फर्केपछि मात्रै आरडीटी परीक्षण गर्दा उनीहरुको रिपोट पोजिटिभ आएका थियो। सोमबार संक्रमण पुष्टी भएका दुबै जना घरमै रहेका बताइएको छ। उनीहरुको स्वास्थ्य अवस्था भने समान्य रहेको छ।
योसँगै बैतडीमा कोरोना संक्रमितको संख्या २ सय ९७ पुगेको छ। सबैभन्दा बढी पञ्चेश्वर गाउँपालिकामा ६० जना संक्रमित रहेका छन्। यस्तै शिवनाथ गाउँपालिकाका ५०, दोगडाकेदार गाउँपालिकाका ४३, सिगास गाउँपालिकाका ४०, दशरथचन्द नगरपालिकाका ३४, मेलौली नगरपालिकाका २७, सुर्नया गाउँपालिकाका १४, पाटन नगरपालिकाका १४, पुर्चौंडी नगरपालिकाका ८ र डिलाशैनी गाउँपालिकाका ७ जनामा संक्रमण पुष्टी भएको छ।
संक्रमितमध्ये २ सय ६९ जना घर फर्किसकेका छन्। उनीहरुमा संक्रमण पुष्टि भए पनि लक्षण नदेखिएकाले घर पठाइएको स्वास्थ्य कार्यालयले जनाएको छ। बैतडीमा १४ जनाको मात्रै कोरोना रिपोट नेगेटिभ आएपछि घर पठाएको थियो।