२०७ औं भानुजयन्ती : आदिकवि सधैं जीवन्त, सर्वस्वीकार्य
![२०७ औं भानुजयन्ती : आदिकवि सधैं जीवन्त, सर्वस्वीकार्य](https://annapurnapost.prixacdn.net/media/albums/Bhanubhakta_Acharya-ramayana_20200402015052_xYZdcTFE7q.jpg)
काठमाडौं :
कहीँ कालभरि गल्ली छ दिल्लीसरि
अलकापुरि कान्तिपुरी नगरी...।
जति बेला नेपालमा संस्कृत नै बोलिन्थ्यो, संस्कृत नै लेखिन्थ्यो, त्यति बेलै अर्थात् दुई सय वर्षअघि नै आदिकवि भानुभक्त आचार्यमा विश्वज्ञान थियो। प्रस्तुत कविताले उनको विश्वचेत र तिनीसँग नेपालको तुलनालाई प्रस्ट पार्छ। झन्डै आधा वर्षदेखि विश्व महामारीका रूपमा कोरोना संक्रमणले आच्छु आच्छु बनाएको छ। लाखौंले ज्यान गुमाइसकेका छन्। यसमा खानपिनको भूमिका अहं देखिएको छ। भानुभक्तका कविताले प्राकृतिक चेत पनि उत्तिकै सशक्त भएको देखाएको छ, ‘असल हुन्थ्यो धुपमा नतर यसरी खानु कसरी? भुटी ल्यायौ थालमा मकई तिमीले क्यान यसरी ? ’
कोरोनाकै कारण राष्ट्रिय कविता महोत्सव स्थगित गरेको नेपाल प्रज्ञा–प्रतिष्ठानले भानुजयन्तीलाई स्थगित गर्न सकेन। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई समेतको उपस्थितिमा सोमबार प्रतिष्ठानको सभाहलमा प्राज्ञ डा. देवी नेपालले भानुका केही छोटा कविता वाचन गर्दै उनीसँग दुई सय वर्षअघि नै विश्वचेत, प्राकृतिक ज्ञान, व्यंग्य चेतना र गुणग्राही चरित्र भएको प्रमाण पेस गरे। भानुको यो कविताले गरेको व्यंग्य आजपर्यन्त सामयिक छ, ‘लाम्खुट्या उपियाँ उडुस् यि सँगि छन् यिन्कै लहड्मा बसी, लाम्खुट्याँहरू गाउँछन् ती उपियाँ नाच्छन् म हेर्छु बसी।’
‘भौगोलिक एकीकरण पृथ्वीनारायण शाहले गरेका कारण हामी एउटै थलोमा छौं’, संस्कृतिमन्त्री भट्टराईले भने, ‘यतिले मात्र पुग्दैन, विभिन्न पाटामध्ये आदिकवि भानुभक्त आचार्यले भाषा, साहित्य र संस्कृतिका माध्यमबाट विश्वभर छरिएर रहे पनि एकापसमा जोड्ने महत्वपूर्ण सेतुको काम गर्नुभयो।’ खासगरी भारतका दार्जिलिङ, सिक्किम, कलकत्ता, आसाम, सिलोङ, ग्यान्टोेक जस्ता ठाउँमा भानुभक्त नै सेतुका रूपमा रहेको त्यहाँ बर्सेनि हुने कार्यक्रमले पुष्टि गरिरहेका छन्। नेपाली भाषा र संस्कृतिमाथि गर्व गर्ने विदेसिएका नेपालीले भानुप्रति देखाएको सदाशयताप्रति नेपाली साहित्यकार नै नतमस्तक छन्। भानुको युवावस्थामै निधन भएको र बाँचेको समयमा प्रत्येक मिनेट सदुपयोग गरेको स्मरण गर्दै मन्त्री भट्टराईले थपे, ‘उहाँले अनुवाद गरेको रामायण पूर्वीय सभ्यताको त्यस्तो साहित्य बन्यो जसले विश्वलाई नै पूर्वीय सभ्यताको झल्को दिइरहेकै छ, दिइरहने छ।’ दुई सय वर्षअघि पहाडमा जन्मिएर पनि मिथिलाञ्चल क्षेत्रमा समेत प्रभाव विस्तार गर्नु भानुको अद्भूत क्षमता भएको उनको टिप्पणी थियो।
भाषा, संस्कृतिप्रति प्रतिपलको योगदान हुँदाहुँदै पनि केही मानिसको अतिवादले भानुको महत्व ओझेलमा परेको र पारिएकोमा भने भट्टराईले गुनासो पोखे। उनले भने, ‘अब अतिवादले मानिसको चेतनालाई बन्धक बनाइदिन्छ, अब समाज अतिवादबाट मुक्त भइसकेको छ। सबैमाझ भानु सर्वस्वीकार्य हुनुहुन्छ, उत्तिकै जीवित हुनुहुन्छ।’
प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले भानुभक्तलाई ‘सांस्कृतिक महानायक’को संज्ञा दिए। उनले भने, ‘दुई सय वर्षअघि लोकभाषाको प्रयोग गर्नु सहज थिएन, जसका कारण आजसम्म नेपाली समाजको बहुलतालाई जोड्न उहाँ सफल हुनुभएको छ।’ प्रतिष्ठानले कोरोना महामारीबीच पनि भानुजयन्तीलाई उत्सवकै रूपमा प्रतीकात्मक ढंगले मनाएको उनको भनाइ छ। भानुको स्मृति जीवन्त बनाइराख्न आगामी वर्षदेखि अन्तरदेशीय नेपाली साहित्य पुरस्कार प्रदान गर्न विभिन्न ढंगले सहकार्य भइरहेको जानकारी उनले दिए।
प्राध्यापक डा. हेमनाथ पौडेलले नेपाली भाषाको सरलीकरणमा भानुभक्तको योगदान अतुलनीय रहेको बताए। ‘कुनै बेला थियो नेपालमा संस्कृतमै बोलिन्थ्यो, संस्कृतमै लेखिन्थ्यो’, उनले अन्नपूर्णसँग भने, ‘भानुले चार हजारभन्दा बढी श्लोकलाई १३ सय श्लोकमा मौलिक पाराले संक्षिप्त बनाएर सरल ढंगले प्रस्तुत गरेकै कारण आजसम्म जीवन्त हुनुभएको हो।’ पौडेलले भने आदिकविलाई आध्यात्मिक मानवतावादी कविका रूपमा बुझेको बताए। उनले थपे, ‘अहिले जहाँ नेपाली त्यहाँ भानुभक्त आचार्यको अवस्था छ किनकि उहाँ कुनै जातिविशेषका कविमा सीमित हुनुभएन।’ प्राध्यापक दिनेशराज पन्तले भने भानुको सम्प्रेषणीयता नै प्रखर भएर आजसम्म उत्तिकै जीवन्त हुन सकेको टिप्पणी गरे। उनले भने, ‘भानुले मोतीराम भट्टजस्तो व्यक्तित्व भेट्नु र जुद्धशमशेरजस्ता शासकले त्यसलाई आधिकारिकता दिनुले चम्कने अवसर पाउनुभयो। दार्जिलिङमा सूर्यविक्रम ज्ञवालीजस्ता साहित्यकारले पनि भानुलाई जनमानसमा भिजाउने काम गरे।’
बहृत् नेपाली शब्दकोश अब एप्समा
नेपाल प्रज्ञा–प्रतिष्ठानले ६५ हजार नेपाली शब्दको बृहत् नेपाली शब्दकोषको सहज प्रयोगका लागि भन्दै एप्स सुरु गरेको छ। कार्यक्रममा मन्त्री भट्टराईको मोबाइलमा एप्स डाउनलोड गरिएको थियो। विश्वभरका भाषासाहित्यकर्मीमाझ प्रयोग गर्न मिल्ने गरी सुविधा सुरु गरेको प्रतिष्ठानको भनाइ छ।
प्रतिष्ठानको वार्षिक प्रतिवेदन बुझ्ने क्रममा मंगलबार प्रधानमन्त्री केपी ओलीले उक्त एप्स सार्वजनिक गर्ने कार्यक्रम छ। प्रतिष्ठानले करिब डेढ लाख नेपाली शब्दको ‘प्रज्ञा नेपाली शब्दकोष’ पनि चाँडै बजारमा ल्याउन लागेको छ।
यसैबीच साहित्यिक अन्वेषक शिव रेग्मीले संकलन गरेका तीन हजार दुई सय २७ थान पुस्तक उनकी छोरी शैलजाले सोही कार्यक्रममा प्रतिष्ठानलाई हस्तान्तरण गरेकी थिइन्।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)