बलिउड छायाँकार राजुको नेपाल मोह
काठमाडौं : हरेक मान्छेका आआफ्नै इच्छा चाहना हुन्छन्। ती इच्छा चाहना पूरा गर्न मनदेखि लाग्ने हो भने असम्भव भन्ने कुरा आउँदैन। सानैदेखि क्यामेरासँग रमाउन रुचाउने राजु गौली यति बेला बलिउडमा लोकप्रिय नाम बन्न पुगेको छ, छायाँकारका रूपमा। लगन र मेहनतले उनी बलिउडकै अब्बल छायाँकारका रूपमा स्थापित भएका छन्।
नेपाललाई पनि त्यत्तिकै माया गर्ने उनी पछिल्लो समय नेपाल भिजिटमा थिए। त्यही क्रममा उनले आफ्नो नेपालमोह प्रस्ट्याउन भ्याए। उनले नेपाललाई माया मात्र गरेका छैनन्, केही प्रोजेक्ट पनि सम्हालेका छन्। उनले ‘खुसी पलभरको’, ‘नलेखिएको साइनो’ लगायतका नेपाली टेलिसिरियल सन् २००५ तिर छायांकन गरेका थिए। ‘मलाई नेपालका प्राकृतिक छटाले मन्त्रमुग्ध पार्छ, मौका मिल्यो कि आइहाल्छु’, उनले भने, ‘यहाँको वातावरण जति राम्रो छ, मानिसको व्यवहार पनि त्यस्तै मायालु छ।’
एक्स्ट्राअडिनरी ट्यालेन्टका कारण बलिउडमा आफ्नो कामको जादुमार्फत ख्याति कमाएका राजुले १७ वर्षदेखि बलिउडमा ३५ भन्दा बढी टीभी सोको छायांकन गरेका छन्। उनेल स्टार प्लस, जी टीभी, कलर्स, सोनी लगायतका टेलिभिजनका चर्चित सिरियल र सोको छायांकन गरेका छन्।
राजुले ‘नागिन–२’, ‘इस्कबाज’, ‘हैवान’, ‘इस प्यारको क्या नाम दुँ’, ‘प्यार की एक कहानी’लगायत दर्जनौं सिरियल र अवार्ड सोको छायांकन गरेका छन्। त्यस्तै उनले श्रीलंकाको टेलिभिजनका लागि पनि काम गरेका छन्।
आफ्नो कामले तारिफ बटुल्न सफल उनी थुप्रै अवार्ड चुम्न सफल भएका छन्। उनी २०१९ मा वल्र्ड आइकन अवार्ड श्रीलंका, पाँचौं मुम्बई ग्लोबल अचिभमेन्ट अवार्ड २०१९, टप फिफ्टिन आइकन अवार्ड २०१९, द योङ टुरुक अवार्ड २०२०, रेभिसिङ वमेन एप्रिसिएसन अवार्ड २०१९, सीएआईन फिल्म एप्रिसिएसन अवार्ड २०१९ लगायतका अवार्ड चुम्न सफल भएका छन्।
‘यो क्षेत्रले मलाई नाम दिएको छ, यही क्षेत्रमै आफ्ना नयाँ नयाँ क्रिएसन पस्किरहन्छु’, राजु भन्छन्, ‘आउँदा दिनमा पनि यहाँहरूको माया, साथ र सहयोगको अपेक्षा गर्दछु।’