‘लकडाउन’ मा भाग्य खोसियो
काठमाडौं : कोरोना अर्थात् कोभिड–१९ का कारण यतिबेला संसारभरका नागरिक ठूलो समस्यासँग जुधिरहेका छन्। कोरोनाको प्रभाव बढ्दै गएपछि विभिन्न देशले लकडाउन सुरु गरे, कतिपय देशमा अहिले पनि जारी छ। लकडाउन पूर्ण रूपमा कहिले खुल्छ? त्यो अहिल्यै अनुमान गर्न सक्ने स्थिति छैन। तर, लकडाउन सुरु भएपछि आम नागरिकले के कस्तो समस्या झेल्नु परेको छ ? भन्ने विषय समेटेर छोटो फिल्म ‘लकडाउन’ निर्माण भएको छ।
फिल्ममा एक सम्पन्न युवाको लक कसरी डाउन भइरहेको छ भन्ने देखाउन खोजिएको छ। आर्थिक अवस्थाले झन्झन् तड्पिरहेका युवाकी प्रेमिकाले आफ्ना प्रेमीको अवस्था बुझेर उनीप्रति देखाएको सद्भाव र सहयोगसमेत फिल्ममा राखिएको छ। जुन विषयले धेरैलाई भावुक बनाउने निर्माण युनिटको अपेक्षा रहेको छ। द सेलिब्रेटी टाइम्सको ब्यानरमा निर्माण गरिएको फिल्ममा अभिविन्द खनियाँ, वर्षा भण्डारी, अनिकेत अधिकारी र प्रख्यात घिमिरेको अभिनय देख्न सकिन्छ। रामजी ज्ञवालीको लेखन तथा निर्देशन रहेको फिल्ममा निमा शेर्पाको छायांकन तथा सम्पादन रहेको छ। फिल्मको छायांकन काठमाडौं र ललितपुरमा गरिएको हो।