संकटमा भ्रमको खेती
मुलुक गम्भीर राजनीतिक संकटबाट गुज्रिरहेको छ। प्रतिगामीलाई पुनः एकपटक खेल्ने मौका मिलेको छ। घरझगडा हुँदा छिमेकीको स्वार्थसहितको चासो रहनु स्वाभाविकै हो। नेकपाभित्रको अहिलेको अवस्था भनेको व्यक्तिबीचको झगडा मात्र नभई लोकतान्त्रिक गणतन्त्र कमजोर पार्ने झगडा वा विवाद हो, जहाँ एउटा हार्ने र अर्कोले जित्ने हुँदैन। तसर्थ नेकपा पार्टी एकीकरण गर्दाको मूल्य र मान्यता स्वीकार्दै यसलाई झगडाको रूप नदिई गम्भीर प्रकृतिको विवाद मात्र हो भन्ने प्रमाणित भएमा करिब दुईतिहाइ मतको सम्मान हुने थियो।
बहुलवादी प्रजातन्त्रमा दलहरू बलियो हुनु पर्यो। दल बलियो हुँदामात्र दलीय व्यवस्था फस्टाउँछ। दलबाट निर्वाचित प्रतिनिधिले जनताको मनोभावनाको उच्च कदर गर्दै दलीय स्वार्थभन्दा माथि उठेर राष्ट्रिय स्वार्थमा लाग्ने हो भने जनताबाट कहिले टाढा हुनु पर्दैन। जनताले व्यक्ति नभई दल हेर्छन्। अहिलेको अवस्था भनेको दलसँग जोडेर व्यक्ति र उसको व्यक्तित्वलाई हेर्छन्।
विशेषगरी नेकपा आजको अवस्थामा आईपुग्न जनता, त्यस पार्टीका कार्यकर्ता, प्रचण्ड, केपी ओली, झलनाथ खनाल र माधव नेपाल आदिको प्रमुख भूमिका छ। यिनीहरूकै सामूहिकताको कारण यो पार्टीले उच्च स्थान प्राप्त गरेको हो।
नेकपाभित्रको विवाद भनेको एकीकरणको भावनाविपरीत गतिविधि हुनु, पार्टीको निर्णय नमान्ने प्रवृत्तिा र सरकार एकलौटी ढंगले सञ्चालित हुनु हो। यी तीन विषय पार्टीभित्रका आन्तरिक मामिला हुन्। जुन सजिलै समाधान गर्न सकिन्छ। मात्र व्यक्तिगत स्वार्थ छोडी पार्टीगत स्वार्थलाई राष्ट्रिय स्वार्थको वरिपरि बसेर समस्या समाधान गर्ने हो भने। यसका लागि नेकपाको लामो इतिहासलाई पल्टाइराख्नु पर्दैन, मात्र सबै पक्षसँग इमानदारी भए पुग्छ। वामपन्थी विचारधाराका दुई पार्टी मिलेर नेकपा बन्यो। दुवै दलको ऐतिहासिक स्थान छ। एउटाले बहुदलीय व्यवस्था स्थापना गर्न महत्तवपूर्ण भूमिका खेलेको छ भने अर्कोले गणतन्त्र नेपाल बनाउन। राजनीतिक स्थायित्व र संघीय लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकास एवं समाजवादउन्मुख संविधान कार्यान्वयनका साथै आर्थिक विकासका खातिर जनताले तीनै तह सञ्चालनको जिम्मा नेकपालाई लगाए।
पार्टी एकता भएको वर्षगाँठ पनि नमनाउँदै विभाजनको संघारमा पुग्नु जनतामाझ वर्तमान व्यवस्थाप्रति नै नकारात्मक सन्देश फैलाउनुबाहेक केही होइन। तीन प्रतिशत थे्रसहोल्ड राखेर दलसम्बन्धी विकृति हटाएका पार्टीले जनतालाई के जवाफ दिन्छन्?
विशेषगरी नेकपा आजको अवस्थामा आईपुग्न जनता, त्यस पार्टीका कार्यकर्ता, प्रचण्ड, केपी ओली, झलनाथ खनाल र माधव नेपाल आदिको प्रमुख भूमिका छ। यिनीहरूकै सामूहिकताको कारण यो पार्टीले उच्च स्थान प्राप्त गरेको हो। कसैमा व्यक्तिगत रूपमा म र मेरो मात्र कारण सफलता प्राप्त भएको हो भन्छ भने त्यो दृष्टिदोष मात्र हो। जसले झण्डा छोडेर स्वतन्त्र चुनाव लड्ने आँट गरोस् अनि मात्र उसको धरातल थाहा हुनेछ। तसर्थ जुन मूल्य र मान्यतामा पार्टी एकीकरण भएको हो त्यसको मर्मलाई पच्छ्याउने हो भने पार्टी विभाजनका संकेतहरू आफैं विलय हुनेछन्।
नेकपाका जिम्मेवार नेताहरूमा ठूलो भ्रम पैदा भएको भान हुन्छ, त्यो पनि विशेष गरेर सरकारमा भएकाहरूमा–कहीं कतै अर्को पटक आफूलाई यस्तो मौका नआउने त होइन? अर्को पल्ट चुनाव नजितिने त होइन? अहिले नै अकुत सम्पत्तिा जोर्नुपर्र्ने त होइन? जो सरकार प्रमुखका नजिक छन् तिनीहरूले आफ्ना व्यक्तिगत स्वार्थका लागि पार्टीलाई गोर्खा परिषद् बन्ने अवस्थामा पुगे पनि आफू वर्तमानमा रमाए पुग्छ भन्ने प्रवृत्तिाका कारणले त होइन? बढ्दो भ्रष्टाचार र कमजोर शान्ति सुरक्षाका कारण सरकार कमजोर बन्दै गएको छ। त्यसैले नेकपा कार्यकर्ता पार्टीले सरकारलाई सही ट्र्याकमा सञ्चालन गर्न सकेन भन्ने पीडामा छन्। तसर्थ नेकपाभित्रको विवादको समाधान भनेकै पार्टी र सरकार एक ठाउँमा बसेर विधि–विधान र जनभावनाअनुरूप सरकार र पार्टी सञ्चालन गर्नु नै हो।
प्रमुख पात्रका रूपमा देखिएका दुई अध्यक्ष आफ्नो क्षेत्रमा दुवैजना कुशल नेतृत्व दिनसक्ने नेताका रूपमा परिचित छन्। १० वर्षभित्र मुलुकलाई कुशल संगठन प्रदान गर्दै गणतन्त्र घोषणा गराउन सफल प्रचण्ड हुन् भने १४ वर्ष जेल बसेर मुलुकको आमूल परिवर्तनका लागि संघर्षरत व्यक्तित्व केपी ओली। पार्टीमा रहेका नेताको व्यवस्थापन सही ढंगले गर्न नसक्दा नै समस्या उत्पन्न भएको हो।
पहिलोपटक ०७० मा पालैपालो प्रधानमन्त्री हुने सहमति कार्यान्वयन भएन। ०७७ मा पुनः प्रधानमन्त्री हुनुपर्ने प्रचण्डले केपी ओलीलाई पाँच वर्षसम्म प्रधानमन्त्री चलाउन अनुमति दिए। अध्यक्ष र प्रधानमन्त्री भएका केपी ओलीले हिजोको माओवादी मात्रले अध्यक्ष र प्रधानमन्त्री छोड भनेको भए त्यो पनि एकांकी हुन्थ्यो होला तर प्रमुख नेताहरू झलनाथ खनाल, माधव नेपाल र वामदेव गौतमजस्ता हेवीवेट नेताले नै ओलीले एक पद छोड्दा समाधान निस्कन्छ भनिरहेका छन्। ओलीले स्थायी समितिको भावनाको समेत कदर गर्ने हो भने एक पद छाड्दा उचित हुन्छ। सर्प पनि मर्ने लट्ठी पनि नभाँचिने।
प्रचण्ड पार्टी विभाजन हुनु हँुदैन भनी वान टु वान वार्ता गरेर समाधान खोज्दै गर्दा केपी ओली कारण हिजो चुनावमा टिकट पाएका, राजनीतिक नियुक्ति पाएका, पार्टी विभाजन नै भए पनि मन्त्री पाइन्छ भन्ने सोच भएका, कतै संवैधानिक आयोगमा नियुक्ति पाइन्छ कि भन्ने आसेहरूले स्वाभिमान कार्यकर्ता भड्काउँदै एकपक्षीय रूपमा सडकमा दौडिरहेका छन्। यो प्रदर्शनले राम्रो संकेत गरेको छैन। यो शक्ति प्रदर्शन गर्ने बेला नभई एकता प्रदर्शन गर्ने बेला हो। दलीय व्यवस्थामा दललाई मतबुत बनाउने बाटोमा अग्रसर हुनुपर्छ, व्यक्तिमा शक्ति थोपर्ने शैलीले पार्टी समाजवादको लक्षमा पुग्न सक्दैन।