लमजुङमा बाढी-पहिरोको वितण्डा : तीनजनाको मृत्यु, डेढ सय परिवार विस्थापित (फोटो फिचर)
बेंसीसहर : केही दिनयता भीषण वर्षासँगै बाढी-पहिरो आउँदा लमजुङमा डेढ सय घरपरिवार विस्थापित भएका छन् । बाढीपहिरोबाट सबैभन्दा बढी मध्यनेपाल नगरपालिका प्रताडित भएको छ ।
मध्यनेपाल नगरपालिकाभित्र मात्र एक सय ९ घर परिवार विस्थापित भएका छन् । उनीहरुलाई मध्यनेपाल-६ भोर्लेटारको इशानेश्वर माध्यामिक विद्यालयमा राखिएको छ । मध्यनेपाल नगरपालिका ६ लामासोतीका २७, रानीपानीका ३१, भदौरेका ११ र गुम्वाबेसी ९ घरपरिवारलाई सुरक्षित स्थान्तरण गरिएको नगरप्रमुख रमेशकुमार पाण्डेले जानकारी दिए ।
यसैगरी मध्यनेपाल नगरपालिकाकै ९ रातामाटेका २१, ३ सुर्यपालका ६, २ पराजुलीबेसीका ३ घर र १ जिताका एक घरपरिवारलाई पनि सुरक्षित स्थानमा स्थान्तरण गरिएको छ ।
स्थानीय प्रकाश खनालका अनुसार मध्यनेपाल ६ लामासोतीमा ४० रोपनी खेत बाढीले बगाएको छ । यस्तै वडा नम्बर ३ मा रामकुमार श्रेष्ठको ७ सय कुखुरासहित खोर बाढीले पुरेको छ । वडा नं. ३ र ४ जोड्ने चर्दीखोला पुल बगाएको छ ।
वडा नं. २ र ३ मा पर्ने गलौदी खोलाले ४ वटा घर, ३ वटा ग्रील उद्योग, १/१ वटा हार्डवयर, मोटरसाइकल वर्कसव, ग्यारेज, ब्लकउद्योग पुरेको छ । बाढीले मध्यनेपाल वडा नं. १ मा शिव गिरीको बंगुरको खोर बगाएको छ । वडा नं. ३ मा काभ्रेली भैंसी फारममा बाढी पस्दा ४ वटा पाडापाडीसहित भैंसी बगाएको छ ।
बाढीपहिरो जोखिममा परेका बेसीसहर नगरपालिका, मस्र्याङदी, दोर्दी र क्होलासोँथार गाउँपालिकाका ३७ घरका १ सय ७५ जनालाई पनि सुरक्षित स्थानमा राखिएको प्रमुख जिल्ला अधिकारी कृष्णराज शर्माले बताए । शर्माका अनुसार दोर्दी गाउँपालिकाका १८ घर, मस्र्याङदी गाउँपालिकाका पाँच घर, क्ब्होलासोँथर गाउँपालिकामा ६ घर र बेसीशहर नगरपालिकाको चार घर स्थानान्तरण भएका हुन् ।
क्व्होलासोंथर गाउँपालिका-७ भोंजेको १० घरपरिवार पहिरोको उच्च जोखिममा परेपछि विस्थापित भएका छन् । वडा सचिव तक्मा विकका अनुसार पहिरोले घरआँगन भत्काउन लागेपछि उनीहरु विस्थापित भएर आफन्तकोमा र सामुदायिक घरमा बस्न थालेका छन् ।
डीएसपी गंगाबहादुर थापाका अनुसार बाढी पहिरोका कारण जोखिममा परेका र विस्थापित भएकाहरुको विवरण संकलन भैरहेको छ । सबैको विवरण आइनसकेको उनले बताए । यसैगरी दोर्दी-६ काल्चे कुनाको 9 घरपरिवार विस्थापित भएका छन् । दोर्दी-६, ढोडेनी गाउँका ६ घर, दोर्दी-८ नयाँ दुवारका तीन घर स्थानान्तरण गरिएको छ ।
बिहीबार राति बेंसीसहर नगरपालिका-७ सातबिसेमा पहिरो जाँदा एकै परिवारका ३ जनालाई पुरेको थियो । बेंसीसहर नगरपालिका-१०, खाँचे घर भइ हाल बेंसीसहर नगरपालिका-७ सातबिसेको तल्लो क्षेत्रमा बस्दै आएका ३३ वर्षीय दीपक तामाङ, उनकी श्रीमती २७ वर्षीय भीममाया तामाङ र १० वर्षीय छोरा छेवाङ तामाङको घटनास्थलमै मृत्यु भएको थियो ।