गाईजात्रामा घिन्ताङघिसी नाच देखाउन नदिने निर्णय
भक्तपुर : भक्तपुर नगरपालिकाले यस वर्षको गाईजात्रा पर्वमा घिन्ताङघिसी नाच देखाउन नदिने निर्णय गरेको छ । त्यस्तै गाथामुग पर्वमा पनि गाथामुग बनाएर दहन गर्न नदिने निर्णयसमेत गरेको छ ।भक्तपुर नगरपालिका नगर कार्यपालिकाको मंगलबार बसेको बैठकले गाई जात्रालाई औपचारिकतामा मात्रै सीमित गर्दै घिन्ताङघिसी नाच देखाउन नदिने निर्णय भएको प्रमुख सुनिल प्रजापतिले जानकारी दिए ।
काठमाडौं उपत्यकाका तीन जिल्लामै भाद्र शुक्ल प्रतिपदाको दिने मनाइने गाईजात्रामध्ये भक्तपुरको गाईजात्राको मुख्य आकर्षण नै घिन्ताङघिसी नाच हो । वर्षभरिका मृतकहरुको सम्झनामा गाईको प्रतीकस्वरुप डोकसाँ र ताहा साँसँगै लट्ठी जुधाएर मौलिक घिन्ताङघिसी नाच प्रदर्शन गर्न भक्तपुरको गाईजात्राको विशेषता हो ।
काठमाडांै र ललितपुरमा एकदिनमात्रै गाईजात्रा मनाइन्छ तर भक्तपुरमा नौदिनसम्म मनाइन्छ । नौदिनसम्म मनाइने भएकाले यसलाई नेपालभाषामा गुन्हीपुन्हीसमेत भनिन्छ । गाईजात्राको पहिलो दिन वर्षभरिमा दिवंंगतहरूको सम्मान तथा सम्झनामा गाईको प्रतीक बनाई त्यसलाई नगर परिक्रमा गराइन्छ । गाईको प्रतीक प्रदर्शन सँगसँगै विशेष किसिमको संगीतको तालमा लठ्ठी जुधाएर घिन्ताङघिसी नाच नाचिन्छ ।
पहिलो दिन सांस्कृतिक र संस्कारगत गाईजात्रा सकिएको तेस्रो दिनदेखि हास्यव्यंग्य, घोचपेच हुने जात्रासँगै परम्परागत र मौलिक विभिन्न नाचहरु प्रदर्शन गरेर गाईजात्रा मनाइन्छ । यो क्रम एक सातासम्म चल्छ ।
यस बेला विशेष गरेर देवी नाच, भैरव नाच, फाकंदली (कर्कलो नाच), लुसी (ओखल) नाच, माक प्याखं (बाँदर नाच), नागांचा प्याखं, गाइँचा (गाइने), म्हेखा प्याखं (मयूर नाच), ख्या प्याखं (ख्याक नाच), खिचा प्याखं (कुकुर नाच) देखाइन्छ ।
त्यस्तै भालु प्याखं (भालु नाच) सिंहसिंहनी नाच, कचामचा (सितलामाजुको नाच), धागो काट्ने नाच, सिलु वनेगु प्याखं (गोसाईकुण्ड जाने नाच), कलाँली प्याखं (पूजाथाली नाच), महादेव पार्वती नाच, कृष्णलीला, जंगली नाच, घोडा नाच, ह्या प्याखं (हाँस नाच), सिख प्याखं (सिक्री नाच), थाज्या प्याखं (कपडा बुन्ने नाच), किजापूजा प्याखं (भाइटीका नाच), भूत तर्साउने नाच, नटुवाचा नाच, खः नाच (दबुलीमा देखाउने नाच) आदि रहेका छन् । गाईजात्राको पहिलो दिनबाहेक अन्य दिन यी नाचहरू विशेष गरेर रात्रीकालमा मात्रै प्रदर्शन गरिन्छ ।
तर भक्तपुर नगरपालिकाले यी नाचहरुसमेत प्रदर्शन गर्न नदिने निर्णय गरेको प्रमुख प्रजापतिले जानकारी दिए । त्यस्तै साउन कृष्ण चतुर्दशीका दिन हिन्दू परम्पराअनुसार मनाइने गाथामोग एवं घन्टाकर्ण पर्वमा समेत गाथामोग बनाउन नदिने निर्णय भएको उनले बताए ।
नर्कट तथा छ्वालीबाट बनाइएका दर्जनौं गाथामोग भक्तपुरमा रहेका नेवार वस्तीका प्रत्येक दोबाटो, तीनदोबाटो र चौबाटोमा दहन गरिन्छ । सर्वसाधारण बाजागाजासहित गाथामोग दहन गर्न जान्छन् ।
‘दुवै पर्वमा एकै ठाउँमा सयौंको संख्यामा सर्वसाधारण जम्मा हुन्छन्’, प्रमुख प्रजापतिले भने, ‘सर्वसाधारणको भेलामा कोरोना भाइरस संक्रमणको जोखिम बढ्ने खतरा रहेको हुँदा गाथामोग नबनाउन र गाईजात्रामा घिन्ताङघिसी र परम्परागत एवम् आधुनिक सांस्कृतिक प्रदर्शनी नगर्ने निर्णय गरिएको हो ।’
उनले गाईजात्रालाई औपचारिकतामा मात्रै सीमित गर्ने निर्णय गरिएको बताए । उक्त निर्णय गर्नुअघि जात्रापर्वसँग सरोकावाला संस्कृतिकर्मीहरुको नगरस्तरीय भेला गरिएको उनको भनाइ थियो । उक्त भेलाबाट प्राप्त राय सुझावको आधारमा नपाको नगर कार्यपालिकाले उक्त बैठक गरिएको प्रमुख प्रजापतिले सुनाए ।
यस वर्ष साउन ४ गते गाथामोग र साउन २० गते गाईजात्रा पर्व परेको छ ।