युवा हुनुको अर्थ

युवा हुनुको अर्थ

असारको पहिलो साता देशको राजधानी काठमाडौंमा एकाएक युवाहरूको समूह सडक प्रदर्शनमा निस्कियो। सामाजिक सञ्जालमार्फत आह्वान गरिएको जनप्रदर्शनमा खासगरी नयाँ पुस्ताका हजारौं युवाहरू सहभागी बने। ती युवाहरूले कोरोना भाइरस संक्रमणको सन्त्रासका बाबजुद अनेकौं रचनात्मक प्लेकार्डसहित सडकमा निस्किएर नाराबाजी गरे। आक्रोशित युवाहरूको एउटै आवाज थियो, ‘इनफ इज इनफ !’

युवाहरूको त्यो प्रदर्शनमाथि धेरै थरी टीकाटिप्पणी सुनियो। खासगरी सत्ताधारी दल नेकपाका नेता, कार्यकर्ता अनि समर्थकहरूले युवाहरूको प्रदर्शनप्रति अनेक टिप्पणी गरे। कतिपयको टिप्पणीमा कोरोना भाइरसको जोखिम फैलिन सक्ने त्रास थियो त कतिपयको तीव्र उपेक्षा। कतिपय बुज्रुकहरूले त युवाहरूको प्रदर्शनलाई कुनै अमूक शक्तिबाट परिचालित समूह पनि देख्यो। कसैले रमितेहरूको समूह देखे। कसैले आबारा केटाकेटीको तमासा पनि देखे। कसैले कुनै एनजीओ वा आईएनजीओबाट परिचालित मानिसको समूह देखे। कसैले राजनीतिक पार्टीको डिजाइनमा सुरु भएको सरकारविरोधी आन्दोलन पनि देखे। जसले जेजे देखे, सबैले आफ्नो बुझाइ, हैसियत र गच्छेअनुसारको टिप्पणी गरे।

युवाहरूको आन्दोलनलाई जसले जसरी अथ्र्याए पनि र देखे पनि त्यो आन्दोलन सरकारप्रतिको तीव्र असन्तुष्टिको अभिव्यक्ति थियो। राज्य र नागरिकबीच भएको करार कार्यान्वयन नहुँदाको निराशा थियो। गलत कामकारबाहीप्रति नागरिकमा मौलाउँदै गएको आक्रोशको संकेत थियो। त्यो नागरिक आक्रोश थियो– कोभिड १९ रोगको उपचार, क्वारेन्टिनमा बसेको नागरिकहरूको उचित खानपानको व्यवस्थापन, सम्भावित जोखिममा रहेका मानिसहरूको पीसीआर परीक्षणमा सरकारले देखाइरहेको उदासीनता र गैरजिम्मेवारीपनप्रति प्रश्न।

हो, राज्यका निकायहरू महासंकटलाई आयआर्जनको माध्यम बनाउँदै थिए। कोभिडको पर्दा हालेर राज्यकोषमा ब्रह्मलुट मच्चाउने योजना बुनिँदै थियो। त्यसैले ती प्रदर्शनमा उत्रिएका युवाहरूले कोरोनाको आवरणमा भएका भ्रष्टाचार र आर्थिक अनियमितता, सरकारको गलत कार्यशैलीको विरोध गर्दै सरकारलाई राजनीतिक रूपमा उत्तरदायी बन्न आग्रह गरे। तिनले समग्रमा शासनसत्तामा बसेकाहरूको अक्षमताविरुद्ध प्रदर्शन गरे। तिनले भ्रष्टाचारविरुद्ध प्रदर्शन गरे। तिनले सुशासनका पक्षमा आफ्नो अभिमत प्रकट गरे।

काठमाडौंको त्यो प्रदर्शनयता देशका सबैजसो सहरहरूमा ‘इनफ इज इनफ’ को ब्यानरमा युवाहरूको स्वस्फुर्त प्रदर्शन दुई साताभन्दा बढी समय जारी रह्यो। प्रदर्शन र विरोधकै क्रममा सोही प्रदर्शनमा संलग्न दुई युवाले सत्याग्रह सुरु गरे। जसै सत्याग्रहको अवधि लम्बिँदै गयो, तिनको स्वास्थ्यमा पनि समस्या आउँदै गर्दा सरकार र अनसनरत पक्षबीच वार्ता भई कोरोना संक्रमितको उपचार, क्वारेन्टिनमा बसेका नागरिकहरूको उचित व्यवस्थापन, पीसीआर परीक्षण तथा स्वास्थ्यसेवामा पहुँच अभिवृद्धि गर्नेलगायतका केही मागमा समर्थन गर्दै सरकारले सम्झौता गर्‍यो।

युवा हुनुको अर्थ हो– उत्पीडन र अन्यायविरुद्ध हस्तक्षेप गर्नु। सबै प्रकारका विभेदजन्य व्यवहार नगर्नु र त्यस्तो व्यवहारविरुद्ध संघर्ष गर्नु हो।

हाललाई युवाहरूको सत्याग्रह र इनफ इज इनफको आन्दोलन स्थगित भएको छ। तर, त्यो सम्झौता गरेको साता बितिसक्दा पनि कार्यान्वयन भएको छैन। बरु सरकार आफैं हराएको छ। विगतमा जस्तै सम्झौता गर्ने तर त्यसको पालना र कार्यान्वयन नगर्ने गलत संस्कारबाट ग्रसित सरकारी मानसिकता यसपटक पनि परिवर्तन हुन सकेन। अब फेरि सम्झौतापश्चात् हराएको सरकारलाई खोज्न अर्को संघर्ष आवश्यक भइसकेको छ।

यसपटकको युवा प्रदर्शनले दिएको स्पष्ट सन्देश के हो भने अति भइसकेपछि नयाँ पुस्ता चुप भएर बस्ने छैन। नयाँ युवा पुस्ता जसलाई सामाजिक, राजनीतिक अभियानहरूबाट विमुख भएको ठानिँदै थियो, जसमा राजनीतिक चेतना छैन भनिँदै थियो, अनि जो उपभोक्तावादको चंगुलमा फसेर केवल वस्तु र सेवाको उपभोगमै सीमित भएको भनेर विश्लेषण गरिन्थ्यो। त्यो वर्ग अब आफ्नो अधिकार र यो देशको आर्थिक, सामाजिक अनि राजनीतिक परिवर्तनका लागि सडकमा उत्रिन तयार छ भन्ने स्पष्ट संकेत गरेको छ। यो प्रदर्शनले शासकहरूको नालायकीपनका विरुद्ध, अन्याय र अत्याचार अनि भ्रष्टाचार र कुशासनका विरुद्ध युवाहरू प्रतिरोध गर्दै सडकमा उत्रिन तयार छन् भन्ने सन्देश दिएको छ।

अहिले कोभिड– १९ को महाव्याधीका कारण विश्वका सबैजसो देशहरूको अर्थतन्त्र संकुचित भएको छ। धेरैले रोजगार गुमाएका छन् र करोडौंको संख्यामा गरिबी बढ्ने अड्कलबाजी सुरु भएको छ। त्यसैले अब कोरोनाकालपछिको विश्वको अर्थराजनीति कसरी अघि बढ्छ ? त्यो अहिलेसम्म अनुमानमै सीमित छ। तर यत्ति प्रस्टै छ कि अब सबैले आआफ्नो क्षमता, स्रोतसाधन र सीप प्रयोग गरी आत्मनिर्भर÷अन्तरनिर्भर प्रकृतिको दिगो विकास, समृद्धि र प्रगतिको अर्थराजनीतिक मार्ग अवलम्बन गर्नेछन्। त्यसैले हामीले पनि यो अवस्थामा अलि फरक तरिकाले सोच्नुपर्ने भएको छ।

त्यो फरकपनका लागि युवा जागरुक हुन जरुरी छ। पछिल्लो समय देखा परेको युवा जागरणले पनि केही सकारात्मक सन्देश दिएको छ। अबको पुस्ता साँच्चिकै विकल्प बनेर आउन जरुरी छ। यो देशको अर्थतन्त्र, सामाजिक सम्बन्ध, सांस्कृतिक परम्परा राजनीतिक बागडोर सञ्चालनके लागि नयाँ सोच, अवधारणा र विचारसँगै नयाँ पुस्ताका नयाँ अनुहारको आवश्यकता टड्कारो हुँदै गएको छ।

हाम्रो पुस्ताले समाज र देशका लागि के गर्‍यो अथवा हामी के गर्दैछौं ? हामी युवा भएकै कारण के गरिरहेका छौं ? इतिहासमा हाम्रै उमेर समूहको हुँदा अहिले राजनीतिको शीर्षतहमा बसेका नेतृत्वले पार्टी बनाए र विभिन्न राजनीतिक आन्दोलन चलाए। देशमा क्रान्ति गरे र संघर्ष गरे। अनेक गतिविधि गरे र आज हाम्रै उमेर बराबर शासनसत्ता पनि चलाइसकेका छन्। अझै पनि निर्विकल्प झैं ठानेर त्यही जीर्ण शरीरले हामीलाई शासन गरिरहेको छ।

निसन्देहः युवा हुनुको अर्थ कसैको नीति र विचारमा सन्देह गर्नु हो। चलिआएको परम्परा, रीतिथिति र संस्कृतिमाथि पनि प्रश्न गर्नु हो। ती सबै परम्परा र चालचलन आजको युगअनुसार सुहाउँदो छ कि छैन ? जाँचपड्ताल गर्नु हो। छैन भने त्यसलाई सच्याउनु हो। जेजस्तो चलिआएको छ, त्यसलाई यथास्थितिमा स्वीकार नगर्नु हो। यी राजनीतिक, सामाजिक, आर्थिक एवं सांस्कृतिक सम्बन्धहरूको अन्तर्य बुझ्ने प्रयत्न गर्नु हो र आफ्नै विवेकको कसीमा सही र गलत छुट्याउनु हो।

युवा हुनुको अर्थ हो– समाज रूपान्तरणमा योगदान दिनु। समाज कहिल्यै पनि यथास्थितिमा बस्दैन। तर, समाजमा आफैं परिवर्तनको लहर पनि चल्दैन। खासखास समयमा परिवर्तनको लहर चलाउन केही धक्का आवश्यक पर्छ। हो, त्यो धक्का दिने काम युवाको हो। त्यसैले युवा हुनुको अर्थ– समाजको अर्थराजनीतिक रूपान्तरणमा भूमिका निर्वाह गर्नु हो। अझ भनौं सामाजिक एवं अर्थराजनीतिक परिवर्तनको संवाहक बन्नु हो।

युवा हुनुको अर्थ हो– प्रतिरोध गर्नु। भ्रष्टाचार, व्यभिचार, विसंगति र कुशासनकाविरुद्ध लड्नु हो। खराबविरुद्ध संघर्ष गर्नु हो। असल कुराका पक्षमा उभिनु हो। सुशासन र सदाचारका पक्षमा अविचलित भएर संघर्ष गर्नु हो। समाज रूपान्तरण अनि आम नागरिकको अवस्थामा बदलाब ल्याउन संकल्प गर्नु हो। अनि त्यो संकल्प पूरा गर्न सत्मार्ग पहिचान गरी अविचलित भएर संघर्षशील हुनु हो।

युवा हुनुको अर्थ हो– सिर्जनशील हुनु। आफ्नै बुतामा बाँच्ने प्रण गर्दै स्वावलम्बी हुनु हो। उद्यमशील र पौरखी हुनु हो। क्षमता र दक्षता अजमाएर आफ्नै खुट्टामा मजबुद हुनु हो। आफ्नै लय, कला र क्षमतामा बाँच्नु हो। आफ्नै कर्म र पौरखमा रमाउनु हो। आफ्नै पाखुरीका भरमा बाँच्नु र अरूलाई पनि बचाउनु हो। युवा हुनुको अर्थ हो– उत्पीडन र अन्यायविरुद्ध हस्तक्षेप गर्नु। सबै प्रकारका विभेदजन्य व्यवहार नगर्नु र त्यस्तो व्यवहारविरुद्ध संघर्ष गर्नु हो। समाजमा न्याय र समानता स्थापित गर्नु हो। यस्तो समाज बनाउने प्रण गर्दै त्यो प्राप्तिका लागि लड्नु हो। मानवता र भाइचारको प्रवद्र्धन गर्नु हो।

अनि युवा हुनुको अर्थ हो– प्रश्न गर्नु। के हामी युवाहरूले युवा हुनुको अर्थलाई आत्मसात गर्न सकेका छौं ? हामीले यसको अर्थ आत्मसात गरी व्यवहारमा लागू गर्‍यौं भने पक्कै पनि समाज बदलिने छ, राष्ट्र बदलिने छ अनि यो राष्ट्रका नागरिकको अवस्था पनि बदलिने छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.