रोगभन्दा भोकको चिन्ता

रोगभन्दा भोकको चिन्ता

काठमाडौं : मनोरञ्जनको क्षेत्र नै त्यस्तो। भीडभाड जम्मा हुनुपर्ने, समूहमा काम गर्नुपर्ने। सकभर मासमा प्रदर्शन गर्नुपर्ने। म्युजिक भिडियो सुटिङ गर्दा होस् या स्टेज कार्यक्रम प्रस्तुत गर्दा; वा डान्स, क्लब, बार र दोहोरी घर सञ्चालन गर्दा— भीडभाड नै चाहिने। पर्दामा दुई चारजना देखिए पनि पर्दापछाडि क्यामराम्यान, टेक्निसियन, मेकअपम्यानलगायत धेरैको काम जोडिएको हुन्छ।

कोरोना भाइरसको महामारीसँगै नेपालमा लकडाउन सुरु भयो। लकडाउन भएको करिब चार महिना पुग्न थालिसक्यो। केही समय कलाकार, निर्माता निर्देशकले घरभित्रै बसेर लकडाउनलाई पूर्णतया पालना गरे। तर लकडाउनको समय लम्बिँदै गएपछि उनीहरूले काम गर्ने शैली बदलेका छन्। फाट्टफुट्ट भिडियोको सुटिङ सुरु हुन थालेको छ।

असारको अन्तिम दिन चल्दै गर्दा तीजको नयाँ गीतको सुटिङ गर्ने मौसम हो हो। दिदीबहिनीको रमाइलो चाड तीजमा नयाँ गीत निकाल्न रहर गर्नेहरू पनि धेरै नै छन्। अहिले विषम परिस्थितिमै पनि तीजका गीतको भिडियो सुटिङ भइरहेका छन्।

निर्देशक प्रकाश भट्टले लकडाउनकै समयमा करिब दुई दर्जन म्युजिक भिडियो निर्देशन गरे। उनका अनुसार ठूलो गुप्र चाहिने गीत बनाउन सकिएको छैन। अभिनय र स्टोरी बेसका गीतको भिडियो बनाइरहेको उनको भनाइ छ। उनका अनुसार पहिले पहिले तीजका गीतको सुटिङमा सयांै मानिस जम्मा पारिन्थ्यो। अहिले यसरी समूहमा काम गर्न सम्भव छैन। केही कलाकार, प्राविधिक मिलेर सानो समूहमा काम गरिरहेका छन्। आउटडोर सुटिङ गर्न झन् गाह्रो छ। पार्टी प्यालेस, होटल, रेस्टुरेन्टमा मात्रै सुट भइरहेको छ। ‘सुुटिङको काममा दूरी कायम गर्न नसकिने भएकाले कोरोनालाई भगवान् भरोसामा छाड्नु परेको छ’, उनी भन्छन्, ‘रोग लागेर भन्दा खान नपाएर मरिने डर भइसक्यो, कोरोनाको डरमा कति दिन घरमा बस्न सकिन्छ र ? सकेसम्म सुरक्षाका उपाय अपनाएर काम थालेका छौं।’

यस्तै मोडल तथा डान्सर एस के दाहाल पनि काममा फर्किसकेका छन्। योबीचमा केही दोहोरी गीत तथा तीजका गीतमा अभिनय गरेका दाहाललाई पनि कोरोनाको डर खासै लाग्दैन। प्रायः नेपालमै बस्ने कलाकार तथा प्राविधिकसँग सुरक्षित ठाउँमै सुटिङ गरेकाले पनि उनलाई सुरक्षित नै छु भन्ने विश्वास भएको हो। भन्छन्, ‘जानेको काम गरेर परिवार पाल्नै प¥यो। आफू बाँच्नै प¥यो। बाहिर काम गर्ने बानी परेकाले घरमा बस्न पनि निकै गाह्रो हुने रहेछ। रोग लागे त उपचार गरेर भए पनि बाँचौंला, तर भोकले सताउन थाल्यो भने के गर्ने ? ’

मोडल तथा कोरियोग्राफर कजिस श्रेष्ठलाई पनि काम नै ठूलो लाग्छ। उनी पनि सुटिङमा फर्किसकेका छन्। सुरक्षाका उपाय अपनाएर काम गरिरहेका छन्। कजिस आफू पनि राम्रो अभिनय गर्छन्। निर्देशनमा पनि पोख्त नै छन्। लामो समय घर बसेर मात्रै कोरोना नियन्त्रणमा नआउने भएकाले काममा निस्किएको उनले बताए। ‘सकेसम्म सावधानी अपनाएका छौं’, उनले भने।

सार्वजनिक सवारी नचल्दा निकै गाह्रो भएको कलाकारको अनुभव छ। कोरस नाच्नेहरू प्रायः काठमाडांैबाहिर गएकाले डान्सरको खडेरी परेको निर्देशकहरू बताउँछन्। काठमाडौंमै रहेकाहरू पनि सवारी साधनको अभावमा सुटिङ स्पट पुग्न सकेका छैनन्। प्रकाशका अनुसार कामको अभावमा छट्पटिएका केही डान्सरहरू दुई तीन घण्टा हिँडेरै भए पनि सुटिङ स्पट पुग्ने गरेका छन्। कामको अभाव अहिले सबैतिर चर्किएको छ।

लकडाउनको समयमा मनोरञ्जन क्षेत्रमा काम गर्ने श्रमिकले चर्को समस्या झेल्न प¥यो। केही संघसंस्थाले सहयोग पनि गरे। तर सबैको समस्या समाधान भएन। निश्चित मापदण्ड अपनाएर यो क्षेत्र खुला गर्नुपर्ने प्रकाशको दाबी छ। गीतकार वसन्त थापा पनि काममा फर्किसकेका छन्। सर्जक स्वतन्त्र डुब्न चाहने, प्रकृतिको खुला वातावरणमा रम्दै गीतका शब्द लेख्ने भएकाले यो लकडाउनमा घरमा थुनिन पर्दा नयाँ काम गर्न नसकेको उनले बताए। उनी थप्छन्, ‘विपद्का समाचार, त्रास, सन्त्रासमा मनोवैज्ञानिक असर देखिने रहेछ।’ करिब एक महिनादेखि स्टुडियो जाने, पुराना काम सकाउने ध्याउन्नमा छन् उनी। भन्छन्, ‘सधैंभरि घरमा बसेर चल्नै सकिन्न। अन्य देशको तुलनामा यहाँको कोरोना मृत्युदर कम भएकाले पनि आत्मबल बढिरहेको छ। लागिहाले पनि जित्न सकिन्छ कि भन्ने विश्वास छ। बाहिरका साथी कसैलाई पनि भेटेको छैन। काममा मात्रै लागिरहेको छु।’

यस्तै हरेक वर्षजस्तो तीजका नयाँ गीतमा छमछमी नाच्दै देखा परेकी छन्, मोडल करिश्मा ढकाल। उनी भन्छिन्, ‘बिरामी हुँदा पनि नाच्नुपर्ने म। लकडाउनमा केही समय त निकै आत्तिएँ। कति दिन घरमा बस्नु। लोक गीत, तीजका गीत बन्न थाले, काम गर्ने टिमसँग सल्लाह गरेर निस्कियौं सुटिङमा। टाढा टाढा जान भने अहिले निकै समस्या छ। सकेसम्म सावधानी पनि अपनाइएकै छ।’

प्रकाशका अनुसार नाम चलेका मोडल, कलाकार भने अझै पनि घरबाहिर निस्किएका छैनन्। एक त सवारी साधनको समस्या, आफ्नै साधन भएकालाई पनि पासको समस्या, मनोवैज्ञानिक त्रासका कारण पनि धेरैजसो कलाकार घरभित्रै छन्।

लकडाउन गरेर मात्रै समस्या समाधान नहुने बताउँदै अहिले प्रायः कलाकार सरकारले फिल्म हल, डान्स क्लब, होटल, रेस्टुरेन्ट खुलाउनु पर्ने मत राख्छन्। सुटिङ स्पट र सार्वजनिक पार्क पनि निश्चित सुरक्षा अपनाएर खोल्न पाउनुपर्ने उनीहरूको माग छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.