कोरोना कोषमा सूर्य नेपालको एक करोड सहयोग
बुटवल : प्रदेश ५ सरकारले स्थापना गरेको कोरोना कोषमा सूर्य नेपाल प्रा.लि.ले १ करोड रुपैयाँ सहयोग गरेको छ। प्रदेश सरकारको कोषमा यति धेरै रकम सहयोग भएको पहिलो हो। प्रदेशले कोरोना उपचार, रोकथामका लागि १० करोडको कोष बनाएको छ।
मुख्यमन्त्री शंकर पोखरेललाई सूर्य नेपाल प्रा.लिका उपाध्यक्ष रवि के.सीले एक करोडको चेक हस्तान्तरण गरेका हुन्। चेक बुझ्दै मुख्यमन्त्री शंकर पोखरेलले कोभिड कोषमा जम्मा गरेको रकम स्वास्थ्य क्षेत्रमै खर्च गरिने बताए। कोरोना संक्रमण निर्मुल नहुन्जेलसम्म कोषमा भएको रकम स्वास्थ्य क्षेत्रमै खर्च गर्ने यद्यपि रकम अपुग भएमा थप रकमको जोहो गर्ने गरी प्रदेश सरकार लागेको उनले बताए।
उनले प्रदेश नं. ५ औद्योगिक, पर्यटनका क्षेत्रमा अब्बल रहेको भन्दै प्रदेशमा लगानी ल्याउन केसीलाई आग्रह गरे। औद्योगिक वातावरण बनाउन प्रदेश सरकारले विद्युत, सडक निर्माण गर्ने निर्णय गरेको भन्दै उद्योगको लगानीलाई प्रदेशमा ल्याउन आग्रह गरे। उद्योगी के.सी.ले कोरोना कोषमा उपलब्ध गराएको रकम स्वास्थ्य क्षेत्रमा आवश्यकताका आधारमा खर्च गर्न आग्रह गरे। उनले निजी क्षेत्र लकडाउनका कारण शिथिल भइरहेको अवस्थामा पनि सूर्य नेपालले देश र राष्ट्रका लागि योगदान स्वरुप कोषमा रकम राखेको बताए।
उनले बजार र सम्भावनाका आधारमा प्रदेश नं. ५ मा पनि आफ्ना व्यवसायलाई विस्तार गर्ने बताए। त्यसका लागि प्रदेश सरकारले जग्गा र विद्युत विस्तारमा सहयोग गर्न सके उद्योगी बढीभन्दा बढी आर्कर्षित हुने बताए। कोरोना महामारीलाई नियन्त्रण गर्न निजी क्षेत्रको पनि सहयोग आवश्यक हुने महसुस गरी रकम हस्तान्तरण गरिएको अर्का व्यवसायी नवराज बजगाइले बताए।