पहिरोमा परी मृत्यु भएका पूर्वगाविस अध्यक्षसहित तीनजनाको सामूहिक अन्त्येष्टि
स्याङ्जा : स्याङ्जाको कालीगण्डकी गाउँपालिका ४ बिर्घास्थित खहरेमा गएको पहिरोमा परी ज्यान गुमाएका ३ जनाको सामूहिक अन्त्येष्टि गरिएको छ। पहिरोमा पुरिएर पूर्व गाविस अध्यक्ष ७० वर्षीय इमान सिंह रानासहित ६० वर्षीय जिमानसिंह राना र ५० वर्षीय टिका थापाको ज्यान गएको थियो।
उनीहरु तीनैजनाको कालीगण्डकी किनार गौरीघाटमा हिन्दु परम्पराअनुसार सामूहिक अन्येष्टि गरिएको हो। भावबिह्वल बनेका स्थानीय समाजसेवी, जनप्रतिनिधि एवं राजनीतिकर्मीको शव यात्रामा उल्लेख्य सहभागीता थियो।
इमानसिंह राना २०५४ को स्थानीय निर्वाचनमा बिर्घा गाविसबाट अध्यक्ष पदमा निर्वाचित भएका थिए। उनी नेपाली कांग्रेसतर्फका निर्वाचित सदस्य हुन्। यसैगरी, जिमानसिंह राना पूर्व क्याप्टेन र टिका थापा स्थानीय समाजसेवी हुन्।
मगर जातीय परम्परा अनुसार परिवार आफ्नो संस्कारका अन्तिमकार्य सकेपछि नेपाली कांग्रेस परिवारले चारतारे अंकित झण्डा ओढाएको थियो। पूर्वसांसद शंकरप्रसाद पाण्डले बिर्घाले समाजसेवामा अग्रणी, क्रियाशिल एवं अनुभवी हस्तीहरु गुमाउनु परेको पीडा व्यक्त गर्दै उनीहरुले देखाएको सत्मार्गमा हिँड्न आग्रह गरे। पूर्वसांसद पाण्डेलगायतले तीनैजनालाई कांग्रेसको झण्डा ओढाएर गौरीघाटमा अन्तिम श्रद्धान्जली दिएका थिए।
कांग्रेसका कार्यवाहक सभापति कुमार राना, गाउँपालिकाका अध्यक्ष खिमबहादुर थापा, उपाध्यक्ष सावित्रा कोइराला, महिला नेतृ माया राना लगायतले अन्तिम श्रद्धान्जली दिएका थिए। वडा सदस्य ६० वर्षीय हुमनाथ पाण्डे (किसान) र ५५ का विरबहादुर थापालाई पहिरोवाट उद्धार गरी उपचारका लागि पाल्पा रिफर गरिएको छ।
पाण्डे सोही वडा सदस्य हुन्। उनीहरुको पाल्पामा उपचार भइरहेको छ भने बेपत्ता प्रेमचन्द्र पाण्डेको खोजीकार्य जारी रहेको प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्रीले जानकारी दिए। गाउँमाथि पहिरो आएर खानेपानी नआएपछि पानी मर्मतका गएका बेला माथिबाट झरेको पहिरोमा परेका थिए। पानी मर्मत र पहिरो अनुगमनका लागि भन्दै उनीहरु ६ जना गएको वडा अध्यक्ष चक्रपाणी पाण्डेले बताए। उनले भने ‘पहिराका कारण धनजनको अपुरणीय क्षति पुगेको छ भने थप २ घरगरी ६ वटा घर परिवार बिस्थापित भएका छन।’