प्रदेशमा पहिलो : गण्डकीमा संक्रामक रोग नियन्त्रण अस्पताल
पोखरा : कुकुरले टोक्यो भने जाने अस्पताल पनि उही, ज्वरो आउँदा जाने पनि उही। मलेरिया लागोस् या डेंगु अथवा झाडा पखाला सबै रोगको उपचार गर्ने एउटै अस्पताल। काठमाडौं बाहेक देशका सबैभागको अवस्था हो यो। काठमाडौंमा भने संक्रामक र रेबिज लगायत सरुवा रोगको उपचारका लागि टेकुमा शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल छ।
गण्डकी प्रदेशले पनि काठमाडौंको टेकुको जस्तै संक्रामक र सरुवा रोग उपचार गर्ने छुट्टै अस्पताल सुरु गरेको छ। यसका लागि गण्डकी प्रदेश सरकारले एकैपटक जुरेका २ वटा संयोगलाई सदुपयोग गरेको हो।
यही बेला संक्रामक रोग कोभिड–१९ को महामारी फैलिएपछि मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले संक्रामक तथा सरुवा रोग नियन्त्रण गर्ने छुट्टै अस्पताल चाहिँदो रहेछ भन्ने महसुस गरे। पोखराकै लेखनाथ क्षेत्रको एउटा सामुदायिक अस्पताल प्रदेशले लिइदियोस् भन्ने आग्रह पनि यत्तिबेला नै आयो।
लेखनाथ सामुदायिक लायन्स अस्पतालको स्वामित्व ग्रहण गर्दै प्रदेशले त्यसैलाई संक्रामक र सरुवा रोग नियन्त्रण अस्पताल बनाएको हो। स्वामित्व ग्रहण गर्दै मुख्यमन्त्री गुरुङले बिहीबार उक्त अस्पताल सुरुआत गरे। अस्पताल समितिको २०७७ वैशाख ७ गतेको निर्णय र असार ६ गतेको आकस्मिक साधारण सभाले अस्पताल प्रदेशलाई हस्तान्तरण गर्ने निर्णय गरेको थियो। अस्पतालको चल अचल सबै सम्पति प्रदेशलाई सुम्पने सभाको निर्णय थियो।
पोखरा–३० मोहोरियामा लायन्स क्लब अफ लेखनाथ र स्थानीयको पहलबाट उक्त अस्पताल स्थापना भएको थियो। महायज्ञ गरी उठेको २ करोड रुपैयाँ खर्चेर पर्ती सार्वजनिक जमिनमा बनेको अस्पताल २०६२ सालदेखि सञ्चालनमा आएको हो।
अत्याधुनिक उपकरणसमेत अस्पताललाई लायन्स क्लब इन्टरनेसनले उपलब्ध गराएको छ। तर सञ्चालन लगायत काम समुदायले धान्न सकेको थिएन। ४ चिकित्सकसहित २५ कर्मचारी रहेको अस्पतालमा मासिक १० लाख हाराहारीको खर्च छ। तर सरकारी अस्पतालकै शुल्कमात्रै बिरामीबाट लिनुपर्ने बाध्यताका कारण सञ्चालक खर्च पुर्याउनसमेत कठिन थियो।
अस्पतालको क्षमता र सुविधा विस्तार होस् भनेरै प्रदेश सरकारलाई हस्तान्तरण गरिएको अध्यक्ष रमानाथ पौडेलले बताए। प्रदेशलाई अस्पताल सुम्पने सम्झौतामा उनले र सामाजिक विकास मन्त्रालयका निमित्त सचिव तेजप्रसाद काफ्ले हस्ताक्षर गरेका छन्। सम्झौतापत्र मुख्यमन्त्री गुरुङ र अस्पतालका अध्यक्ष पौडेलले बिहीबार आदानप्रदान गरे।
मुख्यमन्त्री गुरुङले तत्काललाई अहिलेकै अस्पताल समिति र कर्मचारीबाट अघि बढ्ने बताए। उनले भने, ‘मूलभूत भरथेग सरकारले गर्छ, व्यवस्थापन समिति पनि गठन हुन्छ, तर अहिलेलाई यही व्यवस्थापन समिति र कर्मचारीबाट काम हुनुपर्छ कुनै काम रोकिनुहुन्न।’ लोकसेवा आयोगबाट कर्मचारीहरुको पदपूर्ति गरिने जानकारी पनि उनले दिए। संक्रामक रोगका लागि छुट्टै अस्पताल चाहिएका बेला समुदायको आग्रह स्वीकार गरिएको पनि उनले सुनाए।
अस्पतालमा चिकित्सक, स्वास्थ्यकर्मी र प्राविधिकसहित २५ कर्मचारी छन्। ती करारमा नियुक्त भएका हुन्। ‘मूलभूत कुरा सरकारले भरथेग गरेर व्यवस्थापन राम्रो भयो भने अस्पताल राम्रो चल्छ,’ उनले भने, ‘व्यवस्थापन त्यही क्षेत्रका बुद्धिजीवीलाई दिनुपर्छ। सरकारी हस्तक्षेप हुनुहुँदैन।’
संक्रामक तथा सरुवा रोग नियन्त्रण अस्पताल सबै प्रदेशमा बनाउने संघीय सरकारको नीति भए पनि गण्डकी प्रदेशले पहिलोपटक खोलेको उनले सुनाए।